म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले आफ्ना मिडफिल्डर पाउल पोग्बाले यस सिजन प्रिमियर लिगको पहिलो खेल खेल्ने सम्भावना कमै रहेको बताएका छन्।
कोरोना संक्रमणबाट मुक्त भएपछि प्रशिक्षणमा फर्किएका फ्रान्सेली स्टार पोग्बाले क्रिस्टल प्यालेसविरुद्ध हुने यस सिजनको पहिलो खेल खेल्ने सम्भावना कम रहेको प्रशिक्षक सोल्सजायरले बताएका हुन्। कोरोनाको संक्रमणका कारण पोग्बा यसै महिना फ्रान्सको नेसन्स लिगको टोलीमा पनि समावेश थिएनन्। २७ वर्षे पोग्बाले फिटनेस सुधार गर्न निकै मिहिनेत गरिरहेका छन्, तर प्रशिक्षक सोल्सजायरले भने उनलाई फिट हुन अझैं केही समय लाग्न सक्ने बताएका छन्।
‘पोग्बाले केही दिन प्रशिक्षण सुरु गरिसकेका छन्। उनले कोरोना भाइरसका कारण केही खेल पनि गुमाएका छन्,’ सोल्सजायरले भने, ‘तर उनी चाडैं फिट हुनेछन्। पछिल्लो पटकको लकडाउनमा पुनः मैदान फर्किनका लागि पनि उनले निकै मिहिनेत गरे र त्यसपछि उनले खेलमा महत्वपूर्ण भूमिका निभाए।’ प्रशिक्षक सोल्सजायरले अर्को हप्तादेखि पोग्बाले खेल्ने सम्भावना रहे पनि आफूले शतप्रतिशत विश्वास दिलाउन नसक्ने बताए। गत सिजन पनि एन्कलमा चोटका कारण पोग्बाले निकै संघर्ष गर्नुपरेको थियो।
तर, जुनमा पुनः सिजन सुरु हुँदा मैदान फर्किएका पोग्बाले युनाइटेडलाई तेस्रो स्थानसम्म पु¥याउन महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए। युनाइटेडले यस सिजन सुरु हुँदाको हप्ता खेल्ने कार्यतालिका थिएन र उसले पहिलो खेल आगामी सेप्टेम्बर १९ मा प्यालेससँग खेल्नेछ।
प्रकाशित: २९ भाद्र २०७७ ०२:१२ सोमबार