१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

थिम र भेरेभबीच उपाधि भिडन्त

(एएफपी)– अस्ट्रियाका डोमिनिक थिम जर्मनीका एलेक्जान्डर भेरेभविरुद्ध युएस ओपनको फाइनल भिडन्त तय गर्दै करियरको पहिलो ग्रान्ड स्लाम उचाल्ने लक्ष्यमा छन्।

विश्व नम्बर दुई थिमले शुक्रबारको सेमिफाइनलमा गत वर्षको उपविजेता ड्यानिल मेदभेदेभलाई तीन सेटको संघर्षपूर्ण नतिजाले हराउँदै पहिलो ग्रान्ड स्लामको उपाधि उचाल्ने लक्ष्य बनाएका हुन्। आर्थर एस स्टेडियममा २७ वर्षे थिमले विश्व नम्बर तीन रसियन प्रतिद्वन्द्वी मेदभेदेभलाई दुई घण्टा ५६ मिनेटको संघर्षपश्चात् पाखा लगाउँदै चौथो पटक ग्रान्ड स्लामको फाइनलमा स्थान बनाए। उनले मेदभेदेभमाथि ६–२,७–६ (९–७) र ७–६ (७–५) को जित निकालेका थिए। यता, भेरेभ भने स्पेनिस प्रतिद्वन्द्वी पाब्लो कारिनो बस्टासँग दुई सेटले पछि परिसकेको स्थितिबाट यादगार पुनरागमन गर्दै पहिलो पटक ग्रान्ड स्लामको फाइनलमा स्थान बनाउन सफल भए।  

२०औं वरीयताका पाब्लोले पहिलो दई सेटमा २३ वर्षे भेरेभलाई ६–३ र ६–२ ले हराउँदा उनी फाइनलनजिक पुगेका थिए। यद्यपि, भेरेभले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट ६–३, ६–४ र ६–३ ले आफ्नो बनाउँदै एस कोर्टमा रोमाञ्चक सेमिफाइनल प्रस्तुत गरे। उनी करियरमा पहिलो पटक दुई सेटले पछि परेको स्थितिलाई उल्टाउँदै जित दर्ता गर्न सफल भए। ‘जब, दुई सेटले पछि परेको थिएँ, त्यस बेला स्कोर बोर्ड हेरेँ,’ भेरेभले भने, ‘मलाई लाग्यो, साँच्चै मैले सेमिफाइनल खेल नै खेलिरहेको छु त ? मैले जसरी हुन्छ उत्कृष्ट खेल देखाउनुपर्दथ्यो र मैले आफ्नो खेल देखाउने प्रयास गरें।’ पहिलो दुई सेटमा भेरेभले लगातार गल्ती दोहो¥याउँदा त्यसको फाइदा बुस्टाले लिएका थिए।

जर्मनीका एलेक्जान्डर भेरेभ स्पेनिस प्रतिद्वन्द्वी पाब्लो कारिनो बस्टासँग दुई सेटले पछि परिसकेको स्थितिबाट यादगार पुनरागमन गर्दै पहिलो पटक ग्रान्ड स्लामको फाइनलमा स्थान बनाउन सफल भए।  

तर, तेस्रो सेटदेखि भने भेरेभले गल्ती सुधार गर्दै लगे। सर्भिससँगै निकै सशक्त सट प्रहार गर्दै भेरेभले त्यसपछिका सेट आफ्नो नियन्त्रण ल्याए। ‘मैले त्यसपछि केही आक्रामक खेल खेलें र उनलाई कुनै अवसर नै दिइनँ। तब मैले पहिलो ग्रान्ड स्लाम फाइनल खेल्ने अवसर पाएँ,’ भेरेभले जोड दिए। बुस्टाले भने पहिलो पटक ग्रान्ड स्लाम फाइनल खेल्ने अवसर गुमाएको प्रतिक्रिया दिए। ‘मैले सेमिफाइनलसम्मको यात्रा तय गरेको थिएँ, त्यो पनि राम्रो नतिजा र प्रदर्शन थियो। तर, त्यसलाई सदुपयोग गर्न सकिनँ,’ बुस्टाले भने। सन् २००३ को अस्ट्रेलियन ओपनपश्चात् कुनै पनि ग्रान्ड स्लामको फाइनलमा पुग्ने भेरेभ पहिलो जर्मन खेलाडी बने।

यस वर्ष युएस ओपनमा रोजर फेडेरर र राफाइल नाडालजस्ता अनुभवी खेलाडीको अनुपस्थितिमा युवा खेलाडीले त्यसको सदुपयोग गर्न सफल भए। त्यसपछि विश्व नम्बर एक एवम् प्रतियोगिताको मुख्य दाबेदार नोभाक जोकोभिच पनि अन्तिम १६ को प्रतिस्पर्धामा लाइन जजलाई बलले हानेपछि डिसक्वालिफाइड हुँदा उपाधि होड निकै खुला भएको थियो। आइतबार सन् २०१४ पछि ग्रान्ड स्लामले नयाँ च्याम्पियन पाउने पक्का भएको छ। पछिल्लो पटक सन् २०१४ मा क्रोएसियाका मरिन सिलिच फ्लसिङ मिडोजमा ग्रान्ड स्लामको नयाँ च्याम्पियन भएका थिए। 

प्रकाशित: २८ भाद्र २०७७ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App