coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एकदिवसीय शृंखला, अस्ट्रेलियाको अग्रता

(एएफपी) लेग स्पिनर एडम जाम्पा र जोस हेजलउडको उत्कृष्ट बलिङको मद्दतमा शुक्रबार अस्ट्रेलियाले घरेलु टोली इङ्ल्यान्डविरुद्ध १९ रनको जित निकाल्दै तीन खेलको एकदिवसीय शृंखलामा अग्रता लिएको छ।  

यसअघि अस्ट्रेलियाले ट्वान्टी–२० शृंखला भने २–१ ले गुमाएको थियो। म्यानचेस्टरमा सम्पन्न पहिलो खेलमा अस्ट्रेलियाले दिएको २ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर मात्र २ सय ७५ रन जोड्न सक्यो।  

निकै रोमाञ्चक बनेको खेलमा इङ्ल्यान्डको सुरुआत भने फितलो देखिएको थियो। सुरुबाट नै अस्ट्रेलियाका बलर हाबी भएको खेलमा इङ्ल्यान्डका लागि छैटौं नम्बरका ब्याट्सम्यान साम बिलिङ्सले करियरकै पहिलो शतक बनाए पनि जितका लागि पर्याप्त भएन। उनले १ सय १० बलमा १४ चौका र २ छक्काको मद्दतले १ सय १८ रन बटुल्न सफल भएका थिए। ओपनर जोनी बेयस्र्टाेले १ सय ७ बलमा ४ चौका र ४ छक्का मद्दतले ८४ रन बनाए। कप्तान इयोन मोर्गानले २३ र क्रिस ओक्सले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।  

बलिङतर्फ अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पाले सर्वाधिक ४ विकेट आफ्नो नाममा लेखाउँदा हेजलउडले ३ तथा प्याट कमिन्स र मिचेल मार्सले समान १/१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो। अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रनको योगदान गर्दा मिचेल मार्सले ७३ रनको पारी खेले। ५९ बलको सामना गरेका म्याक्सवेलले ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै मिचेल मार्सले १ सय १० बलमा ६ चौकाको मद्दतले ७३ रनको व्यक्तिगत स्कोर बनाए। मार्कुस स्टोइनिसले ४३ रन बनाउँदा मार्नस लाबोसेनले २१, एरोन फिन्चले १६, एलेक्स क्यारेले १० तथा डेभिड वार्नरले ६ रनको पारी खेले। अविजित रहेका मिचेल स्टार्कले १९ रन जोडे।  

बलिङतर्फ इङ्ल्यान्डका जोफ्रा आर्चर र मार्क उडले समान ३÷३ विकेट लिए। यस्तै अदिल रसिदले २ तथा  क्रिस ओक्सले १ विकेट हात पारे।  

खेलमा म्यान अफ दी म्याच बनेका हेजलउडले बलियो प्रतिद्वन्द्वीविरुद्ध निकालेको जितले आगामी खेलमा आत्मबल मिलेको बताए।  

‘पछिल्लो चार वर्ष इङ्ल्यान्ड निकै सशक्त टोली रहेको छ। उनीहरूको खिलाफ जानु र नतिजा निकाल्नु सहज छैन,’ इङ्ल्यान्डविरुद्ध पहिलो खेलमा जित निकालेपछि हेजलउडले भने, ‘उनीहरूलाई  रोक्नु नै हाम्रो सफलता रह्यो।’

उता शतकीय इनिङ खेलका बिलिङ्सको खेललाई इङ्ल्यान्डका कप्तान इयोन मोर्गानले प्रशंसा गरे। ‘कठिन ब्याटिङ प्रदर्शन भइरहेको अवस्थामा बिलिङ्सले उत्कृष्ट र परिपक्व खेल देखाए,’ इङ्ल्यान्ड कप्तान मोर्गान भने।  

अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथबिना अस्ट्रेलिया मैदान उत्रिएको थियो। बिहीबार अभ्यासका क्रममा टाउकोमा चोट लागेपछि उनी आराम गररहेका छन्। स्मिथले दोस्रो खेल खेल्ने या नखेल्ने अनिश्चित छ।  सिरिजअन्तर्गत दोस्रो खेल सेप्टेम्बर १३ शुक्रबार तथा तेस्रो खेल सेप्टेम्बर १६ बुधबार हुनेछ। 

प्रकाशित: २८ भाद्र २०७७ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App