coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नब्बेको दशकमा जन्मेकालाई अवसर

आइतबार केही मिनेटको अन्तरमै यस वर्षको युएस ओपन पुरुषतर्फको खेलतालिकामा हलचल देखियो। दाबेदारका रूपमा हेरिएका खेलाडी बाहिरिएपछि पुरुषतर्फको विजेता दौड खुला बनेको थियो।  

नोभाक जोकोभिचले पाबलो कारेनो बुस्टाविरुद्ध पहिलो सेटमा ५–६ ले पछि परेको स्थितिमा गरेको गल्तीले सन् २०१४ मा मारिन सिलिचपछि युएस ओपनले नयाँ विजेता पाउने सुनिश्चित गरेको थियो। साथै सय पटकको विजेता १९९० को दशकमा जन्मिएका पहिलो खेलाडीसमेत हुनेछन्।  

ब्राड स्टाइनले अफ्नो प्रशिक्षण कालको ३० वर्षमा युएस ओपनमा अहिलेसम्म पुरुषतर्फको विजेता दौड खुला भएको देखेका थिएनन्।  

आवेगमा गरेको प्रहार लाइन जजलाई लागेपछि जोकोभिच अयोग्य घोषित हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए। सन् २०२० को सुरुआतबाट अपराजित रहँदै आएका विश्व नम्बर एक जोकोभिचलाई प्रतियोगिताको दाबेदारका रूपमा हेरिएको थियो। राफाइल नाडाल र रोजर फेडेररले प्रतियोगितामा भाग नै लिएनन्। त्यसैले पनि जोकोभिचलाई सम्भावित विजेताका रूपमा हेरिएको थियो,जुन सम्भावना आइतबारको घटनाले पूर्णविराम लागिसकेको छ। यस पटक तीन पटकका ग्रान्ड स्लाम विजेता स्टान वावरिन्काले पनि प्रतियोगितामा भाग लिएका थिएनन्। फेडेरर घुँडाको शल्यक्रियाका कारण प्रतियोगितामा सहभागी भएनन् भने नाडाल र वावरिन्काले भने कोरोना भाइरस महामारीको त्रासका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। दुवै खेलाडी यसै महिना आयोजना हुने फ्रेन्च ओपनको तयारीमा छन्।  

यस पटक जो विजेता आए पनि विश्व टेनिसले नयाँ स्टार पाउनेछ, नाडाल, फेडेरर र जोकोभिचबाहेक।

‘मैले प्रतियोगिता यस्तो मोडमा आउँछ भन्ने कल्पनासमेत गरेको थिइनँ,’ स्टाइनले भने , ‘फेडेरर र नाडालको अनुपस्थितिमा पक्कै पनि जोकोभिचलाई प्रमुख दाबेदारका रूपमा लिइएको थियो। मलाई त्यस्तो इभेन्टको सम्झना छैन,जहाँ शीर्ष खेलाडी  खेल तालिकामा नभएका हुन्। कारण जेसुकै होस्, तर यस पटक अब बाँकी तालिकामा एक पटकका पनि ग्रान्ड स्लाम विजेता छैनन्। सम्भवतः सन् २००३ को विम्बल्डनमा पनि क्वार्टरफाइनल प्रवेश गरेकामध्ये कोही पनि खेलाडीले कुनै मुख्य प्रतियोगिता जितेका थिएनन्।’

‘थाहा छैन,२०२० को युएस ओपन पुरुषतर्फको स्पर्धा धेरैसम्म यादगार रहन्छ वा रहँदैन,’ उनले थपे, ‘किनभने यस पटक नयाँ विजेता आउने पक्का भइसकेको छ। ती विजेताका लागि यो पहिलो ग्रान्ड स्लाम  हुनेछ। तर दुर्भाग्य,केहीले भन्नेछन्,यस पटक फेडेरर थिएनन्,नाडाल पनि थिएनन् र जोकोभिच पनि अयोग्य भएका थिए। साथै थुप्रै शीर्ष खेलाडीहरूले पनि सहभागिता जनाएका थिएनन्। तर यस पटक जो विजेता आए पनि विश्व टेनिसले नयाँ स्टार पाउनेछ, नाडाल, फेडेरर र जोकोभिचबाहेक पनि।’

प्रकाशित: २६ भाद्र २०७७ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App