७ वैशाख २०८१ शुक्रबार
खेल

क्लोपको मितव्ययी रणनीति

इङ्लिस प्रिमियर लिगको साबिक विजेता लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्ना प्रतिद्वन्द्वीहरूले खेलाडी सरुवामा मनलागी खर्च गरे पनि आफूहरूको अवस्था त्यो भन्दा भिन्न रहेको बताएका छन्।  

लिभरपुलले यस सिजन कोस्टास टेसिम्कासलाई मात्र अनुबन्धित गरेको छ र त्यसका लागि मात्र ११.७ मिलियन पाउन्ड खर्चिएको छ। यता चेल्सीले सात खेलाडी अनुबन्धित गर्दै २ सय मिलियन पाउन्ड खर्चिसकेको छ। क्लोपले भने कोभिड १९ का कारण अनिश्चितता देखिए पनि अन्य क्लबका लागि त्यसले अर्थ नराखेको बताए।

‘हामी जुन रणनीतिका साथ अघि बढेका थियाैं, त्यसले नै हामीलाई विजेता बनाएको हो। हामी रातारात त्यो रणनीति परिवर्तन गर्न सक्दैनांै। हामी सरुवा बजारमा चेल्सीजस्तो बन्न सक्दैनाैं,’ क्लोपले भने, ‘सबै क्लब भिन्नभिन्न स्थितिमा छन्। अहिले सारा विश्व नै अन्योलको स्थितिमा बाँचिरहेको छ। केही क्लबले कोभिड १९ ले सिर्जना गरेको परिस्थितिलाई निकै कम महत्वका साथ लिएका छन्। उनीहरूले अहिले अन्योललाई ध्यान दिएका छैनन्, किनभने ती क्लबका मालिक र लगानीकर्ता अन्य राष्ट्रका छन्। त्यो नै सत्य हो।’

‘हाम्रो अवस्था फरक छ। हामी दुई वर्षअघि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेका थियाैं, त्यसको एक वर्षपछि हामी च्याम्पियन्स लिग विजेता बन्यौं। प्रिमियर लिगमा अघिल्लो सिजन एक अंकले पछि पर्दै उपविजेतामा सीमित हामी यस पटक च्याम्पियन बन्याैं,’ क्लोपले थपे, ‘यी सबै नतिजा क्लबले अँगालेको रणनीतिले सम्भव भएको हो। हामी जे छाैं,त्यसमै सन्तुष्ट छाैं।’

यता चेल्सीले सात खेलाडी अनुबन्धन गर्दै २ सय मिलियन पाउन्ड खर्चिसकेको छ। क्लोपले भने कोभिड १९ का कारण अनिश्चितता देखिए पनि अन्य क्लबका लागि त्यसले अर्थ नराखेको बताए।

गत समर लिभरपुलले डचका युवा रक्षक सेप भान डी बर्गलाई पिइसी जोैलेबाट १.३ मिलियन पाउन्डमा अनुबन्धित गरेको थियो भने गोलकिपर एड्रियान र एन्डे लोनेर्गानलाई फ्री ट्रान्सफरमा अनुबन्धन गरेको थियो। क्लोपको टोलीले जनवरीमा लिभरपुलले जापानी स्ट्राइकर ताकुमी मिनामिनोलाई ७.२५ मिलियन पाउन्डमा भित्र्याएका थियो।

३० वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जित्ने क्रममा दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १८ अंकले पछि पारेको थियो।चौथो स्थानको चेल्सीलाई भने लिभरपुलले ३३ अंकले पछि छोडेको थियो।  

चेल्सीले गत समरमा फिफा ट्रान्सफरमा लागेको प्रतिबन्धका कारण नयाँ खेलाडी अनुबन्धित गर्न सकेको थिएन। यस जनवरीबाट भने चेल्सीले खेलाडी अनुबन्धनमा स्वीकृति पाएको थियो।

फ्रांक लाम्पार्डको टोलीले नयाँ सिजनका लागि आयाक्सका विंगर हाकिम जेइजलाई ३३.३ मिलियन पाउन्ड, आरबी लिपजिगका स्ट्राइकर टिमो वेर्नेरलाई ४८ मिलियन पाउन्ड, बायर लेभरकुसेनका अट्याकिङ मिडफिल्डर काई हाभर्टेजलाई ७१ मिलियन पाउन्ड, लेस्टर सिटीका रक्षक बेन चिलवेललाई ४५ मिलियन पाउन्ड र पेरिस सेन्ट जर्मेन(पिएसजी)का रक्षक थियागो सिल्भालाई फ्री ट्रान्सफरमा भित्र्याएको थियो।

गत सिजनको उपविजेता सिटीले यस सिजन बर्नमाउथका रक्षक नाथन एकेलाई ४० मिलियन र भ्यालेन्सियाका विंगर फेरान टोरेसलाई २१ मिलियन पाउन्डमा अनुबन्धित गरेको छ भन जर्मन विंगर लोरी सानेलाई ४५ मिलियन पाउन्डमा बायर्न म्युनिखलाई बेचेको छ।  

‘हामी सधैं टोली बलियो होस् भन्ने चाहन्छन्, त्यसका लागि दुई विकल्प छन्, राम्रा राम्रो खेलाडी अनुबन्धन गर्ने वा भएका खेलाडीबाट नै उत्कृष्ट टोली बनाउने,’ क्लोपले भने, ‘यो फुटबल हो। कोही पनि टोली अभ्यासका बारेमा बताउन चाहँदैनन्, सबै क्लबले कस्तो खेलाडी भित्र्याएको छ, त्यसको मात्र प्रचार गर्छन्।’

प्रकाशित: २६ भाद्र २०७७ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App