८ वैशाख २०८१ शनिबार
खेल

चेन्जिङ रुम निर्माणमा प्राविधिक त्रुटि

खेलक्षेत्रकै प्राविधिकले नहेर्दा कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन माछापुच्छ्रे खेलमैदानको लागत बढ्ने भएको छ। चेन्जिङ रुम निर्माणमा प्राविधिक त्रुटि देखिएको छ। निर्माण गरिएको चेन्जिङ रुमले मैदानको दुवै कर्नरका केही भाग देखिँदैन। प्यारापिटको बीचमा मैदान नै छेकिने गरी चेन्जिङ रुम निर्माण गरिएको छ। चेन्जिङ रुमकै कारण मैदान छेकिएपछि अन्नपूर्ण गाउँपालिकाले यसको पुनः डिजाइन गर्ने तयारी गरेको छ। यसले खर्च बढाएको छ।

ढिकुरपोखरी मैदान नियमित फुटबल प्रतियोगिता आयोजना गरिने स्थल हो। स्थानीय एपेक्स युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। मैदान केही सानो थियो। संघीय सरकारको एक पालिका एक खेलमैदान नीतिअनुसार गत आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो। विनियोजित रकमबाट खेलमैदानको स्तरोन्नति गरियो। मैदानसँगै बाटोतर्फ प्यारापिट निर्माण कार्य सुरु गरिएको थियो।

राष्ट्रिय खेलकुद परिषद्ले पनि मैदानका लागि विभिन्न चरणमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। तीन वर्षअघि तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको समयमा मैदानका लागि परिषद्बाट १० लाख रुपैयाँ छुट्टिएको थियो। त्यस बजेटले खेलमैदान चक्ल्याउँदै चारैतिर बर्खेपानीको निकासका लागि नाली बनाइयो। त्यसपछि पनि परिषद्ले मैदानका लागि थप ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ।

मैदानको लम्बाइ एक सय मिटर र चौडाइ ६० मिटर छ। निर्माणाधीन प्यारापिटको लम्बाई ७८ मिटर रहेको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए। ‘सामान्य प्राविधिक त्रुटि देखियो। त्यसलाई हामी मोडिफाइ गर्छांै,’ उनले भने, ‘९ फिटको उचाइमा बनाउनुपर्ने थियो तर ११ फिट अग्लो बनाइँदा त्रुटि हुन पुग्यो। अग्लो बनाइएकै कारण मैदानको दुवै कर्नर छेउको केही भाग छेकिने उनले प्रस्ट्याए। ‘गुनासो बढेपछि हामीले पनि हे¥यौं। गल्ती भयो। यसलाई हामीले पाठ सिकेर बनाउँछांै,’ उनले थपे, ‘त्यसको व्ययभार गाउँपालिकाले नै व्यहोर्नेछ।’ प्यारापिट दुई हजार दर्शक क्षमताको हुने उनले बताए। मोडिफाइ गरेर चेन्जिङ रुम बनाउन झन्डै ५ लाख रुपैयाँ अतिरिक्त खर्च थपिने गाउँपालिका अध्यक्ष कुँवरले सुनाए। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनियर प्रनिश ताम्राकारसहितको टोलीले निर्माणाधीन खेलमैदानको अवलोकनपछि चेन्जिङ रुमको उचाइ घटाउने निर्णय  गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाको यो नै एक मात्र व्यवस्थित खेलमैदान हो। माछापुच्छ«े माविकै खेलमैदानमा वर्षदिनअघि मात्रै गाउँपालिकास्तरीय  राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिएको थियो। गाउँपालिका, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा मैदानलाई स्तरोन्नति गरेसँगै राष्ट्रियस्तरको प्रतियोगितासमेत आयोजना गर्न सकिने विश्वास गाउँपालिकाले लिएको छ।  

चेन्जिङ रुमकै कारण मैदान छेकिएपछि अन्नपूर्ण गाउँपालिकाले यसको पुनः डिजाइन गर्ने तयारी गरेको छ। यसले खर्च बढाएको छ।

प्रकाशित: १६ भाद्र २०७७ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App