coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपालमा क्रिकेट एकेडेमी: त्यसै त धौधौ त्यसमाथि कोरोना

ट्वान्टी–२० विश्वकप २०१४ बंगलादेशमा आयोजना हुँदा नेपाली क्रिकेटले इतिहास रच्यो।  विभिन्न डिभिजन लिगका खुड्किला पार गर्दै विश्वकपसम्मको यात्रालाई तय गर्दा क्रिकेटले गर्विलो इतिहास बनायो। नेपाल विश्वमा चर्चित बन्यो। त्यसपछि नेपाली क्रिकेटको चर्चा विश्वभर नै फैलियो। युवामा क्रिकेट मोह बढ्यो। विभिन्न क्षेत्रमा विरलै मात्र रहेका क्रिकेट एकेडेमीमा क्रिकेट सिक्ने युवा जमातको भीडभाड नै हुन थाल्यो।

सञ्चालनमा आइसकेका एकेडेमीलाई सिकाउन भ्याइनभ्याइ भयो भने केहीले नयाँ लगानीका साथ एकेडेमी सञ्चालनमा ल्याए । बढ्दो क्रेज र भविष्य देखेर लगानी गरेका सञ्चालकलाई अहिले एकेडेमी गलाको पासो भएको छ। निर्वाध रूपमा सञ्चालन गर्न निकै कठिन भएको छ। विगत सात वर्षदेखि गे्रट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) सञ्चालन गर्दै आएका अध्यक्ष सुदीप शर्माले त्यसै त सञ्चालन गर्न गाह्रो परिरहेकामा कोरोनाले एकेडेमी नै संकटमा परेको बताए।  

‘क्रिकेटको क्रेजले उचाइ लिइरहेको छ। युवा पुस्तामा निकै लोकप्रिय भएको छ, क्रिकेट। शैक्षिक सत्र सकिनै लागेको थियो, एकेडेमी भरिभराउ हुने अवस्था थियो। ठिक्क कोरोना संक्रमण तीव्र गतिमा फैलियो,’ जिएचसिएका अध्यक्ष शर्माले भने, ‘नयाँ खेलाडी आउने सम्भावना अन्त्य भएसँगै भएकालाई पनि उचित वातावरण दिन असम्भवजस्तै भयो। अहिले भाडा तिर्न र प्रशासन चलाउन पनि कठिन भएको छ।’

विश्वभर फैलिएको कोरानाका कारण क्रिकेटलाई करियर बनाउन होमिएका नयाँ र युवा पुस्तामा निराशा मात्र थपिएको छ। कतिपय युवालाई पेसा नै परिवर्तन गर्नका लागि दबाब पर्न पनि थालेको छ।

एक समय नेपाली समाजमा आफ्नो सन्तान खेलमा लाग्दा बिग्रिन्छ भन्ने थियो। तर २०१४ मा नेपालले ट्वान्टी–२० विश्वकप खेल्दा खेलाडीले पाएको चर्चासँगै सबै हिसाबले सबल बन्दा पुरानो मान्यता केही हदसम्म गलत साबित हुँदै थियो। केही अभिभावकले खेलमा रुचि देखाउने सन्तानका इच्छालाई स्विकार्न थालेका थिए। तर ठूलो जमातको सोच अझै परिवर्तन हुन सकेको छैन।  यद्यपि अभिभावकबाट क्रिकेट सिक्ने अनुमति धेरै सन्तानले पाए।  राजधानी काठमाडांै र काठमाडौंबाहिर विरलै मात्र रहेका क्रिकेट एकेडेमीमा क्रिकेट सिक्नेको संख्या बढ्यो। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाली क्रिकेटसँग जोडिने ती क्रिकेट एकेडेमी अहिले कोरोनासँग जुधिरहेका छन्। ललितपुरस्थित हात्तीबनमा नयाँ संरचना र करोड लगानीमा एकेडेमी सञ्चालनमा ल्याएका जिएचसिएका अध्यक्ष शर्माले एकेडेमी चल्न गाह्रो भएको सुनाउने स्थान पनि नभएको भन्दै गुनासो पोखे।  

‘एकेडेमी सञ्चलान गरे पनि कठिन भयो भनेर सुनाउने ठाउँ पनि छैन,’ अध्यक्ष शर्माले थपे, ‘हामीले गुनासो गर्ने क्रिकेटको निकाय नेपाल क्रिकेट संघ (क्यान) भए पनि खासै समन्वय गर्न सकिएको छैन। अहिलेको अवस्थामा एकेडेमी सञ्चलन धौधौ भएको छ।’

ग्रेट हिमालयबाट अहिलेसम्म उमेरसमूह र क्लब गरी ५० भन्दा बढी खेलाडीले देशबाट खेल्दै एकेडेमीको क्रिकेट अध्ययनलाई सिद्ध गरेका छन्। ईशान पाण्डेले राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन् भने सागर ढकाल, विवेक यादव, अभिषेक बस्नेत, प्रकाश विष्ट, प्रशान्त सिंह, विशाल पटेल, आरियो पौडेल, कमल खत्री, चन्द्रकान्त पौडेलजस्ता खेलाडीले उमेरसमूह र नेपालका फ्रेन्चाइज लिगमा स्थान बनाएका छन्।  

सफल खेलाडीका पछाडि धेरै प्रश्न जोडिएका हुन्छन्। एकेडेमीबाट सिकेका विषय प्रतिस्पर्धात्मक खेलमा देखाउन खेलाडी आतुर छन्। तर  कोरोनाले गर्दा युवा र नयाँ खेलाडी सिकेको अनुभव साट्न सामान्य अवस्थाको पर्खाइमा रहेको काठमाडांै क्रिकेट ट्रेनिङ सेन्टर (केसिटीसी) का प्रशिक्षक मन्जुर खानले बताए।

‘खेलाडी अहिले घरकै वातावरणमा सीमित छन्। क्रिकेटमा लाग्ने प्रण गरेका खेलाडीलाई कोरोनाले नराम्रोसँग असर पारेको छ,’ केसिटिसीका प्रशिक्षक खानले भने, ‘क्रेजले खेलाडीमा उत्साह धेरै छ। तर नेपालमा हुने विरलै प्रतियोगितामा सहभागिताका लागि खेलाडीले धेरै मिहिनेत गर्नुपर्छ। यसैमा कोरोना महामारी बन्दा थप चुनौती भएको छ।’  

दुई दर्जनभन्दा बढी एकेडेमी काठमाडौं र काठमाडौंबाहिर सञ्चालनमा छन्। ती एकेडेमी अहिले कोरोनासँग सिँगौरी खेल्दै सामान्य अवस्थाको पर्खाइमा छन्। लकडाउनपछि सहज भएको छोटो अवधिमा एकेडेमी सञ्चालनमा आए पनि सरकारले केही दिनअगाडिबाट लगाएको निशेधाज्ञाले पुनः बन्द भए। पछिल्लो समय क्रिकेटमा देखिएको क्रेजले एकेडेमीलाई व्यवसायको रूपमा सञ्चालन गरेका एन्जल स्पोटर््स क्रिकेट एकेडेमीका अध्यक्ष खिम थापा पनि सहज अवस्थाको पर्खाइमा छन्। घरेलु अभ्यासमा आबद्ध आफ्ना विद्यार्थीलाई अनलाइनबाट नै टिप्स प्रदान गरिरहेको थापाले नागरिकलाई जानकारी दिए।  

नेपालले एकदिवसीय मान्यता पाएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसि) बाट तय भएका केही प्रतियोगिताबाहेक नेपालमा  आंैलामा गन्न सकिने प्रतियोगिता आयोजना हुन्छन्। तिनै प्रतियोगिताका लागि नयाँ पुस्ताका खेलाडीले निकै ठूलो पापड बेल्ने गरेका छन्। विश्वभर फैलिएको कोरानाका कारण क्रिकेटलाई करियर बनाउन होमिएका नयाँ र युवा पुस्तामा निराशा मात्र थपिएको छ। कतिपय युवालाई पेसा नै परिवर्तन गर्नका लागि दबाब पर्न थालेको छ। उमेर समूहका खेलाडी उत्पादन गर्ने एकेडेमीलाई कोरोनाले पछिल्ला महिना थला पारेको छ।  ठूलो लगानी गरेर एकेडेमी खोलेका सञ्चालकले  नेपाल क्रिकेट संघ (क्यान) र नेपाल सरकारबाट सहयोगको अपेक्षा राखेका छन्।

प्रकाशित: १५ भाद्र २०७७ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App