८ वैशाख २०८१ शनिबार
खेल

पुनरागमनको प्रतीक्षामा सोमपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी पछिल्लो समय चोटबाट फर्केर राष्ट्रिय टोलीमा पुनरागमन गर्न संघर्षरत छन्।  

सोमपाल पछिल्लो पटक मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको खेलपछि मैदानबाहिर रहँदै आएका छन्। नोभेम्बर ६ देखि ८ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको सो खेलको पहिलो इनिङमा २६ रन जोडेका सोमपालले दोस्रो इनिङमा अर्धशतकसमेत पूरा गरेका थिए। सो खेलपछि भने सोमपाल ढाडको दुखाइ बढेपछि राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका छन्।

‘म चोटका कारण भन्दा पनि कमजोरीका कारण मैदानबाहिर थिएँ। मैले टाइफाइडबाट पूर्ण रूपमा निको नभई खेल्न थालें, किनभने राष्ट्रिय टोलीबाट खेलिने हरेक खेल महत्वपूर्ण हुन्छ,’ सोमपालले भने, ‘समग्रमा भन्दा वर्क लोड धेरै भयो। अहिले रिकभरीको फेजमा छु। कोरोना महामारीका कारण अहिले कतै निस्कने अवस्था छैन। त्यसैले घरमै राष्ट्रिय टोलीका फिजियो विक्रम न्यौपानेले दिएको फिटनेस टिप्सअनुसार सामान्य व्यायाम  गरिरहेको छु। प्रशस्त आराम गरिरहेको छु। राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्यसहति मित्रपार्कमा रहेको राजेश पुलामीको क्रिकेट एकेडेमीमा एक–दुई जना साथीसँग नियमित अभ्यास गरिरहेको छु। कीर्तिपुर गएर अभ्यास गर्न अहिलेको अवस्थामा सम्भव छैन।’

‘मलाई पहिलेदेखि नै हल्का ढाडको दुखाइ हुन्थ्यो। एमसिसीविरुद्धको शृंखला पनि खेलें। दुखाइ बढ्दै गएपछि टोली चिकित्सकको सल्लाहमै केही समय मैदानबाहिर बस्ने निर्णय लिएको थिएँ। एउटा खेलाडीलाई कहिलेकाहीं आराम चाहिन्छ, शारीरिक र मानसिक पनि,’ सोपपालले थपे, ‘राष्ट्रिय टोलीबाट पछिलो ५ वर्षदेखि लगातार खेलिरहेको थिएँ। एउटा खेलाडीको जीवनमा कहिलेकाहीं यस्तो अवस्था आउँछ, यसलाई आश्चर्यको रूपमा भने लिनु हुँदैन।’

‘ब्याटिङमा साझेदारी गर्न सकेको भए सायद ओमानविरुद्ध जित हात पार्न सकिन्थ्यो जस्तो लाग्छ।  मैले खेलेको भए मेरो प्रदर्शन कस्तो हुन्थ्यो थाहा छैन, तर पनि टोली पराजित हुँदा मन खिन्न भयो। शारीरिक पीडाभन्दा पनि टोलीको हारले बढी पीडा दिँदो रहेछ।’

मैदानबाहिर बसेकेै कारण सोमपालले नेपालमै आयोजना भएको अमेरिका र ओमान सम्मिलित एकदिवसीय शृंखला गुमाएका थिए।

‘म टोलीमा थिइनँ, मैदानबाहिर बस्दा मानसिक रूपमा दबाब हुन्छ। जब टोलीले खेल हार्छ पीडा पनि हुन्छ,’ सोमपालले भने, ‘ब्याटिङमा साझेदारी गर्न सकेको भए सायद ओमानविरुद्ध जित हात पार्न सकिन्थ्यो जस्तो लाग्छ।  मैले खेलेको भए मेरो प्रदर्शन कस्तो हुन्थ्यो थाहा छैन, तर पनि टोली पराजित हुँदा मन खिन्न भयो। शारीरिक पीडाभन्दा पनि टोलीको हारले बढी पीडा दिँदो रहेछ।’

लकडाउनले आफ्नो राष्ट्रिय टोलीमा पुनरागमन लक्ष्य पछि धकेलिएको सोमपालले बताए।  

‘लकडाउन र निशेधाज्ञाका कारण जिम जान पाएको छैन। घरमै सामान्य व्यायाम गरिरहेको छु। टिम फिजोयोसँग नियमित भेटेरै उपचार गराउन सम्भव नभए पनि फोनमा उहासँग सम्पर्कमा छु। घरमा एउटै कुरामा फोकस गर्न कठिन हुन्छ। छिटो राष्ट्रिय टोलीमा पुनरागमन गर्नेमा आशावादी छु।’

सोमपाल ओभरसिज फ्रेन्चाइज ट्वान्टी–२० लिग जित्ने पहिलो नेपाली खेलाडी हुन्। गत अगस्टमा उनको टोली विनिपेग हल्कसले भाल्कोभर नाइटलाई हराउँदै क्यानडामा भएको ग्लोबल ट्वान्टी–२० लिगको उपाधि जितेको थियो।

‘ग्लोबल ट्वान्टी–२० लिगमा मैले धेरै कुरा सिक्ने अवसर पाएँ। मेैले ड्यारेन ब्राभो र जेपी डुमिनी सम्मिलित टोलीबाट खेल्न पाएँ। नेट सेसनपछि ब्राभोसँग करिब आधा घण्टा उनको अनुभव सुन्ने अवसर मिल्यो। उनले मेराबारे यसअघि नै सुनेको बताए। उनले आफ्ना अनुभव सुनाए, जुन मेरा लागि निकै महत्वपूर्ण थिए।’

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय शृंखलाका लागि तयारी अवस्थामा राख्ने उद्देश्यले सबै खेलाडीलाई त्रिवि मैदानमा आवास सुविधासहित राख्ने तयारी गरे पनि तत्काल कुनै पनि शृंखला नभएको भन्दै सो योजना अहिलेका लागि थाती राखेको छ।  

‘सकारात्मक बनौं, केही न केही पक्कै हुन्छ। अहिले नेपाली खेलाडी मात्र मैदानबाहिर रहेका छैनन्, सबैतिर खराब समय चलिरहेको छ। खराब समय जान्छ र राम्रो समय आउँछ। सबेै खेलाडी घरमा बस्दाबस्दा दिक्क भएको हुनुपर्छ। हाम्रा लागि  क्रिकेट नै जीवन हो। त्यसै कारण उपत्यकाबाहिर रहेका खेलाडी पनि लकडाउन खुलेको अवधिमा अभ्यासका लागि भन्दै काठमाडाैं आइसकेका छन्।’

कहिल्यै नछुट्ने ग्राफ
१३ वर्षको उमेरबाटै पन्जाबमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका सोमपाललाई राम्रो प्रदर्शन गरेको भन्दै हिन्द पब्लिक स्कुलका प्रशिक्षक प्रेमकुमार घोषले स्कुल फी छुट गरिदिने र क्रिकेट जर्सी किनिदिने भन्दै  प्रशिक्षणका लागि बोलाए । घोष आफैं ब्याट्म्यान थिए,त्यसैले उनले सोमपाललाई पनि ब्याटिङमा केन्द्रित गराए। सोमपाल पटियालाको यु–१४ टोलीमा छनोट भए। तर प्रतियोगिता दौरान उनले खेल्ने क्रममा देखाएको एउटा बानीमा भने घोष आक्रोशितसमेत बनेका थिए।  

‘गधे आदमी आज से तुम स्टार बन गया,’ थाइप्याड बाहिर लगाएको भन्दै प्रशिक्षकले दिएको गाली अझै सम्झन्छन्,‘त्यसबाट मैले सानो सानो पक्षको पनि कति महत्व हुन्छ भन्ने थाहा पाएँ। अहिले पनि उहाँको धेरै याद आउँछ। मैले केही नकमाए पनि मैदानलाई पनि सम्मान गर्नुपर्छ भन्ने कुरा सिकें।’

साथी अर्जुन अधिकारीले एनसिएफसीमार्फत क्यानसँग सम्पर्क गराइदिएपछि सोमपालले राष्ट्रिय टोलीमा ट्रायलको अवसर पाए। ट्रायल म्याचमा पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएसँगै उनी तत्कालीन प्रशिक्षक पुबुदु दसानायकेको रोजाइमा पर्न सफल भए।  

‘मैले पहिलो पटक कुनै अन्तर्राष्ट्रिय खेलाडी भेटेको थिएँ,’ कप्तान पारस खड्कासँगको भेट सम्झँदै सोमपाल भन्छन्, ‘कप्तान र प्रशिक्षकका साथै जितेन्द्र मुखिया दाइले धेरै सहयोग गर्नुभयो। नेपाली राष्ट्रिय टोली बंगलादेशमा आयोजना हुने ट्वान्टी–२० विश्वकप २०१४ को छनोटका लागि क्वालिफायर खेल्न न्युजिल्यान्ड जाँदा मैले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएको थिएँ। युएईविरुद्धको खेलमा डेब्यु गरे पनि मेरो प्रदर्शन राम्रो हुन सकेन। सायद मसँग अनुभवको कमी थियो र निश्चित बलिङ प्लान पनि थिएन।’

‘मलाई पुुबुदु सरले एउटा ग्राफ दिनुभएको थियो, जुन म कुनै पनि खेल खेल्न जाँदा आजसम्म पनि छुटाउदिनँ । त्यो सधैं मेरो ब्यागमा हुन्छ,’ सोमपाल भन्छन्, ‘मेरा लागि त्यो ग्राफ निकै सहयोगी भयो। सो प्लान पुरानो भए पनि अहिले पनि काम गर्छ। अहिले अनुभव पनि भयो। विकेट कसरी निकाल्नुपर्छ भन्ने थाहा हुन्छ। सीमित ओभरको खेलमा एक–दुई विकेटले पनि खेलको नक्सा नै परिवर्तन गर्छ। त्यसैले एक ओपनर बलरको रूपमा अहिले पनि म सो ग्राफ हेर्छु र बलिङ प्लान बनाउँछु । सफलता पनि हात पारिरहेको छु। टोलीले पनि राम्रै प्रदर्शन गरिरहेको छ।’

सोमपाल अहिले नेपालमा क्रिकेट क्रेज धेरै माथि गइसकेको बताउँछन्।  

‘हामीले ओडिआई स्ट्याटस पाएका छाैं, त्यसलाई कायम राख्दै अझ धेरैभन्दा धेरै खेल खेल्नुपर्छ,’ सोमपालले भने, ‘अहिले अभिभावक पनि आफ्ना छोराछोरी विद्यालयस्तरबाटै क्रिकेट खेलमा लागून् भन्ने चाहन्छन्। यो देख्दा धेरै खुसी लाग्छ।’

प्रकाशित: १२ भाद्र २०७७ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App