नक्कली पासपोर्ट घटनामा मुछिएका ब्राजिलका पूर्वफुटबलर रोनाल्डिन्हो सोमबार पाराग्वे अदालतबाट पाँच महिनापछि रिहा भएका छन् ।
पाँच महिनाअघि रोनाल्डिन्होसँगै मुछिएका उनका भाइ रोबर्टो डी एसिस मोरेइरा पनि रिहा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । नक्कली पासपोर्ट प्रयोग गरेर ब्राजिलबाट पाराग्वे पुगेका रोनाल्डिन्होलाई गत मार्च महिनामा प्रहरीले उनी बस्ने होटलबाटै पक्राउ गरेको थियो । पक्राउ परेपछि रोनाल्डिन्होले प्रायोजकले जस्तो पासपोर्ट दिएको सोही पासपोर्ट आफूले बोकेको र यस विषयमा आफूलाई केही थाहा नभएको अदालतमा बयान दिएका थिए ।
विश्वकपविजेता ४० वर्षीय रोनाल्डिन्हो सोमबार रिहा भएपछि विश्वभर स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने भएका छन् । तर उनले स्थायी बसोबास परिवर्तन गरे जानकारी गराउनुपर्ने सर्त रहेको उनका वकिल गुस्ताभो अमरिल्लाले बताए ।
विश्वकपविजेता ४० वर्षीय रोनाल्डिन्हो सोमबार रिहा भएपछि विश्वभर स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने भएका छन् । तर उनले स्थायी बसोबास परिवर्तन गरे जानकारी गराउनुपर्नेछ ।
‘रोनाल्डिन्होलाई विश्व भ्रमणका लागि अब कुनै बन्देज लाग्ने छैन । सामाजिक रूपमा उनले गरेका काममा निरन्तरता दिन पाउनेछन्,’ उनका वकिल गुस्ताभोले भने ।
जिन्स पाइन्ट र कालो सर्टमा उपस्थित रोनाल्डो अदालतले तोकेको प्रावधानलाई अनुसरण गर्दै रिहा भएका हुन् । उनी रिहा हुँदा ९० हजार अमेरिकी डलर धरौटी भने तिर्नुपर्नेछ । रोनाल्डिन्होको व्यापारका व्यवस्थापक रहेका उनका भाइले १ लाख १० हजार अमेरिकी डलर भुक्तानी गर्नुपर्नेछ । यद्यपि उनका भाइलाई भने दुई वर्षको प्रतिबन्ध लागेको छ ।
नक्कली पासपोर्ट अभियोग खेपेका रोनाल्डिन्होलाई नक्कलीबारे थाहा नभए पनि उनका व्यवस्थापक भाइलाई नक्कलीबारे जानकारी हुनुपर्ने कतिपय शुभचिन्तकले प्रतिक्रिया दिँदै आएका छन् ।
‘कुनै पनि सार्वजनिक व्यक्तिको कागजात सबै हिसाबले मजबुत हुनुपथ्र्यो । नक्कली हुनु दुर्भाग्य हो,’ रोनाल्डिन्होका एक शुभचिन्तक मार्सेलो पेकीले भने, ‘यो विषय निकै नै गम्भीर हो ।’
दुई वर्ष विश्व भ्रमणका लागि प्रतिबन्ध लगाइएका भाइ डी एसिस मोरेइराको नाम दुई वर्षसम्म अपराधीको सूचीमा रहिरहनेछ । प्रत्येक चार÷चार महिनामा डी एसिस अदालतमा बयानका लागि उपस्थित हुनुपर्ने उनका वकिलले जानकारी दिए ।
‘रोनाल्डिन्होको जस्तो अवस्था भाइमा छैन । उनलाई ब्राजिलको अदालतले सफाइ नदिएसम्म उनी फुकुवा हुने छैनन् । रोनाल्डोको स्थायी ठेगाना परिवर्तन भए अदालतसमक्ष जानकारी गरानुपर्छ,’ वकिल गुस्ताभोले भने ।
रोनाल्डिन्हो र उनका भाइ गत मार्च ४ मा पाराग्वे भ्रमणमा गएका थिए । उक्त भ्रमणमा शंका लागेपछि प्रहरीले उनी बसेको होटलमा नजरबन्द गर्दै केही दिनपछि पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो ।
२००५ मा बालोन डी’अरको उपाधि उचालेका रोनाल्डिन्हो पाराग्वेको बालबालिकासम्बन्धी कार्यक्रममा पुगेका थिए । रोनाल्डिन्होले आफ्नो समयमा सर्वोत्कृष्ट खेलाडीको परिचय कमाएका थिए । उनले युरोपका बार्सिलोना, एसी मिलान, पेरिस सेन्ट जर्मनजस्ता क्लबमा एक दशक बिताएका थिए । रोनाल्डिन्होले एक पटक च्याम्पियन्स लिगको उपाधि र दुई पटक स्पेनिस ला लिगा तथा एसी मिलानबाट एक पटक इटालियन सिरी ‘ए’ उपाधि जितेका छन् । रोनाल्डिन्होले २०१८ मा भाइमार्फत नै फुटबलबाट संन्यासको घोषणा गरेका थिए ।
प्रकाशित: १० भाद्र २०७७ ०५:०४ बुधबार