coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पिएसजीको नाटकीय जित

हारको संघारमा पुगेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले एट्लान्टामाथि २–१ को नाटकीय जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ।  

निर्धारित समय सकिन एक मिनेट बाँकी रहेको अवस्थासम्म अग्रता कायम गरेको एट्लान्टाले बाँकी सयममा अग्रता जोगाउन नसक्दा अन्तिम चारको यात्रामा पूर्णविराम लागेको हो। एट्लान्टाका लागि खेलको २७औं मिनेटमा मारियो पसालिचले गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाएका थिए। पिएसजीलाई नाटकीय जित दिलाउन वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका एरिक चोपो मोटिङले इन्जुरी समयमा विजयी गोल गरेका थिए। यसअघि खेलको अन्तिम मिनेटमा नेइमारको पासमा मार्किन्होसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।  

दर्शकबिना सञ्चालन गरिएको खेलको पहिलो हाफमा फ्रान्सेली लिग विजेता पिएसजी दबाबमा परेको थियो। दोस्रो हाफमा किलियन एम्बाप्पेलाई मैदान प्रवेश गराएसँगै बल पोजिसन बटुलेको पिएसजीका लागि एम्बाप्पे र नेइमारको उत्कृष्ट प्रदर्शनले एट्लान्टाविरुद्धको खेलमा नाटकीय जित हात परेको हो। संघर्षपूण जित निकालेको पिएसजी १९९५ पछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गर्न सकेको हो। पिएसजीले फाइनल प्रवेशका लागि एट्लेटिको मड्रिड र आरबी लिपजिगबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

पिएसजीको नाटकीय जितमा वैकल्पिक खेलाडी एरिक चोपो मोटिङले इन्जुरी समयमा विजयी गोल गरेका थिए। त्यससँगै च्याम्पियन्स लिगमा डेब्यु गरेको एट्लान्टा अनपेक्षित नतिजा सुम्पिन बाध्य बन्यो।

 कतारी मालिकले लगानी गरेको १० वर्षपछि पिएसजी पहिलो पटक अन्तिम आठको यात्रा पार गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो। च्याम्पियन्स लिगमा डेब्यु गरेको एट्लान्टा अनपेक्षित नतिजा सुम्पिन बाध्य बनेको हो। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण ठूलो संख्यामा मानिसको ज्यान गुमाएको इटालियन शहर बर्गामोलाई खुसी दिलाउने एट्लान्टाको लक्ष्य पूरा हुन सकेन। बर्गामो इटालीमा सबैभन्दा कोरोना कहर भएको क्षेत्र हो र त्यहाँ स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो।  

यद्यपि अन्तिम आठसम्मको यात्रा तय गर्दा प्रशिक्षक जियान पियरो ग्यास्पेरिनीको सफलतालाई सबैले प्रशंसा गरेका छन्। उनको प्रशिक्षणमा एट्लान्टाले च्याम्पियन्स लिगको पहिलो सिजनमा नै ८ गोल गर्दा भ्यालेन्सियाजस्तो अनुभवी टोलीलाई पन्छाउँदै अन्तिम आठको यात्रा लम्ब्याएको थियो। एट्लान्टाले इटालीको शीर्ष डिभिजन लिग सिरी ‘ए’ मा तेस्रो स्थान हात पारेको थियो।  

पिएसजीका मोटिङले हारबाट जोगाउँछु भन्ने प्रणका साथ मैदान प्रवेश गर्दा सफलता मिलेको प्रतिक्रिया दिए।  

‘जित निकाल्नुपर्छ भन्ने संकल्पका साथ मैदान भित्रिएको थिएँ। जित मूल्यवान् भएको अनुभव थियो,’ जुन महिनामा पिएसजीमा अनुबन्ध सकिएपछि दुई महिनाका लागि थप सम्झौता गरेका मोटिङले भने, ‘मनोबल घटेको थिएन। गर या मरको अवस्थामा सफल भएँ।’

यस्तै ब्राजिलियन स्ट्राइकर नेइमारले आफू हारबाट नफर्कनेमा ढुक्क भएको बताए। ‘हारबाट फर्कनेमा मेरो सोच नै थिएन,’ स्ट्राइकर नेइमारले भने, ‘च्याम्पियन्स लिग यात्राबाट नै हामीले संघर्ष गर्नुपरेको थियो। लक्ष्य फाइनलसम्म पुग्ने छ। लक्ष्यलाई कसैले रोक्न सक्दैन।’

जित हात परिसकेको अवस्थामा फुत्किएको नतिजाबाट अनुभव बटुलेको एट्लान्टाका प्रशिक्षका ग्यास्पेरिनीले बताए।  

‘धेरै पछुतो लागेको छ। केही मिनेटमात्र खेल रोक्न सकेनौं,’ उनले भने, ‘अनुभवबाट सन्तुष्टि लिन सकियो तर मुखैको आहारा गुमाउँदा दुख लागेको छ। च्याम्पियन्स लिग यात्रामा पाएको सफलता टोलीको प्रगतिको रूपमा हेरेका छौं।’  

प्रकाशित: ३० श्रावण २०७७ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App