८ वैशाख २०८१ शनिबार
खेल

दुबो जोगाउन कठिन

बुधबार एसियाली फुटबल महासंघ (एएफसी) ले अक्टोबरका लागि तय कतार विश्वकप २०२२ तथा एसिया कप छनोट खेल स्थगित भएको घोषणा ग-यो।

नेपालले चैतमा तय भएको कतार विश्वकप सन् २०२२ तथा एसियन कप छनोट खेल्ने तालिका थियो। तर विश्वभर कोरोना भाइरसले महामारीको रूप लिँदा एसियाली फुटबल महासंघ (एएफसी) ले छनोट खेल तत्कालका लागि स्थगित गरेको थियो। एएफसीले त्यसको केही महिनापछि नै सो खेल अक्टोबरमा आयोजना हुने नयाँ तालिका सार्वजनिक ग-योे। एएफसीले सो छनोट खेल पुनः स्थगित गर्दै प्रतियोगिता  सन् २०२१ सम्मका लागि सारिसकेको छ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट चरणका खेलका लागि भन्दै भदौ १ बाट राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु हुने भनेको थियो। त्यसका लागि खेलाडीलाई साउन १७ बाट क्वारेन्टिनमा राख्दै पिसिआर परीक्षणसमेत गराएको थियो। बुधबार प्रतियोगिता सरेको घोषणा भएसँगै एन्फाले सबै खेलाडीलाई फुकुवा गरिसकेको छ। त्यसका लागि दशरथ रंगशालामा मैदानको काम निरन्तर भइरहेको थियो। मैदान मर्मतको जिम्मवारी पाएका फिफाका पूर्वरेफ्री दिलीप रजकको टोलीको मुख्य चुनौती वर्षायाममा मैदानमा रहेको दुबो जोगाउनु थियो। यससँगै मैदान लेबलिङको काम पनि भइरहेको थियो। रजकको योजना थियो, ‘मैदान तयार भएपछि राष्ट्रिय फुटबल टोलीलाई रंगशालामा साताको दुई दिन एक घण्टाका दरले प्रशिक्षण व्यवस्था मिलाउने।’

‘असारदेखि भदौसम्म वर्षे झारले मैदानमा रहेको दुबो जोगाउन कठिन हुन्छ। प्रतियोगिता जाडो महिनामा भए दुबो जोगाउन थप कठिन छ। हामी प्रतियोगिता नहुँदासम्म मैदान मर्मतको कार्यलाई निरन्तरता दिन्छाैं।’

तर विश्वकप छनोट चरणका खेल दोस्रो पटक स्थगित भएपछि तत्कालका लागि उनको योजना पछि सरेको छ। प्रतियोगिता हालका लागि स्थगित भए पनि मैदान मर्मतको कार्य भने नरोकिने उनको भनाइ छ। उनले अहिले दैनिक रूपमा त्यो झार उखेल्ने, दुबो नभएको स्थानमा दुबो रोप्ने काम भइरहेको बताए। बर्खायाममा मैदान मर्मत अझ कठिन हुने उनको भनाइ थियो।  

‘हामीले चैत २६ गतेबाट नै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल सरकारले दिएको सामाजिक दूरीको निर्देशनसहित दैनिक ४ जना कामदारलाई मास्क र ग्लोब्ससहित झार उखेल्ने, मिसिन लगाएर घाँस काट्ने, माटो हाल्ने काम गरिरहेका छौं। हामी मैदानलाई योभन्दा राम्रो बनाउन लागिपरेका छांै,’ रजकले भने, ‘विश्वकप छनोटका लागि मैदान पूर्ण रूपमा तयार थियो, तर प्रतियोगिता पुनः सरेको छ। हामी हाम्रो कामलाई निरन्तरता दिन्छांै।’

‘यो प्राकृतिक मैदान भएकाले मैदान मर्मतको कार्य निरन्तर हुन्छ,’ रजकले थपे, ‘आर्टिफिसियल मैदान भएको भए हामी अहिले काम स्थगन गर्न सक्थ्यांै। वर्षाको मौसम भए पनि मैदानमा ड्रेनेजको व्यवस्था छ, त्यसले मैदानमा पानी जम्ने र हिलाम्मे हुने अवस्था आउँदैन। हामीले सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि नै मैदान मर्मतको काम अघि बढाएका थियौं, जुन अहिले पनि जारी छ। अहिले प्रतियोगिता स्थगित भयो भन्दैमा मैदानमा जारी कार्य रोक्दैनांै। असारदेखि भदौसम्म वर्षे झारले मैदानमा रहेको दुबो जोगाउन कठिन हुन्छ। अहिले मैदानको काम रोक्दा त्यसले पछि निकै असर गर्छ। त्यसैले हामी प्रतियोगिता नहुँदासम्म पनि मैदान मर्मतको कार्यलाई निरन्तरता दिन्छांै।’

प्रतियोगिता जाडो महिनामा भए पनि मैदानमा रहेको दुबो जोगाउन थप कठिन हुने रजकको बुझाइ छ।  

‘पुुस–माघमा पनि मैदानमा उमारिएको दुबो जोगाउन कठिन हुन्छ,’ रजकले भने, ‘त्यसैले हामीले एन्फासमक्ष मैदान छोप्न प्रयोग हुने पालको माग गरेका छौं र एन्फाले छिट्टै पाल उपलब्ध हुने जनाएको छ।’

यो अवस्था कहिलेसम्म रहन्छ भन्ने निश्चित नभएकाले मैदान व्यवस्थापनको काम पनि लम्बिएको र यसले मर्मतको खर्च पनि बढ्ने रजकले बताए। उनले मैदान मर्मतमा कर्मचारीहरू बिहान १० देखि बेलुका ५ बजेसम्म खटिने गरेको र उनीहरू सबैलाई एन्फाले पिक एन्ड ड्रपको व्यवस्था गरेको समेत बताए।  

नेपालले विश्वकप छनोट चरणमा हालसम्म ५ खेल खेल्दै एक खेलमा मात्र जित हात पारेको छ। नेपालले चाइनिज ताइपेईमाथि मात्र जित हात पारेको छ  भने अस्ट्रेलिया, जोर्डन र कुबेत (होम एन्ड अवे) सँगको खेल गुमाइसकेको छ।  

प्रकाशित: ३० श्रावण २०७७ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App