१६ चैत्र २०८० शुक्रबार
खेल

आर्सनलमा रहने निर्णय आफूमै निहित: ओजिल

आर्सनलका मेसुट ओजिलले क्लबमा आफ्नो भविष्य कहिलेसम्म रहने भन्ने निर्णय आफैंमा निहित हुने बताएका छन्।  

प्रशिक्षक मिकेल अर्टेटाले लामो समयसम्म टोलीमा समावेश नगरेसँगै ओजिलको आर्सनल भविष्यका बारेमा विभिन्न खबर सार्वजनिक भएका थिए। कोरोना भाइरसको महामारी सुरु भएदेखि नै ओजिलले टोलीमा स्थान पाएका छैनन्। ओजिलको पारिश्रमिकमा भारी कटौती हुने पनि बताइएको थियो। ३१वर्षे ओजिलले साताको ४ लाख ५८ हजार डलर पारिश्रमिक पाउने गर्दथे। उनी सन् २०१३ मा स्पेनिस ला लिगा क्लब रियाल मड्रिडबाट इमिरेट्स भित्रिएका थिए।

अगस्ट १ मा चेल्सीसँग एफए कपमा नतिजा सुम्पिएको खेलमा पनि ओजिल बेन्चमा थिए। तर ओजिलले भने आफू क्लबले चाहँदैमा सम्झौता अन्त्य गर्ने पक्षमा नरहेको बताइसकेका छन्। आर्सनलमा उनको सम्झौता सन् २०२१ जुनसम्म छ।

‘परिस्थिति बदलिएको छ तर म आर्सनललाई माया गर्छु। यहाँबाट म कहिले बाहिरिन्छु भन्ने निर्णय मैले स्वयम् गर्ने हो अरू व्यक्तिले होइन,’ नयाँ सिजनसँगै टोलीमा स्थान बनाउन आशाबादी रहेको भन्दै ओजिलले भने, ‘म क्लबका लागि शतप्रतिशत दिन तयार छु। यस्तो परिस्थितिले मलाई कहिले विचलित बनाउँदैन। यसले त मलाई अझ बलियो बनाउँछ। मैले विगतमा पनि टोलीमा धेरै पटक पुनरागमन गरेको छु र फेरि पनि त्यही परिस्थिति दोहो¥याउन तयार छु।’

युनेई इमिरे बाहिरिएपछि टोली सम्हालेका अर्टेटाको प्रशिक्षणमा ओजिलले विरलै अवसर पाउने गरेका छन्। उनले गत सिजन डिसेम्बरपछि इङ्लिस प्रिमियर लिगमा मात्र १० खेल खेल्ने मौका पाएका थिए।

यद्यपि उनले आर्सनलले सबैखाले प्रतियोगिता गरी खेलेका पछिल्ला १३ खेलमा टोलीमा स्थान बनाउन सकेका छैनन्। अर्टेटाले भने पटकपटक ओजिलको खेलस्तर खस्किएकाले टोलीमा अवसर नदिएको बताउँदै आएका छन्।  

‘कुनै पनि खेलाडी फिट छैन भने त्यो खेलाडीले लगातार १० खेल खेल्दैन। खेलाडीको मनोबल गिराउने काम नगरियोस्,’ नयाँ चुनौतीका लागि तयार रहेको भन्दै ओजिलले भने।  

कोरोना भाइरस महामारीका कारण आर्थिक मन्दी लागेको भन्दै अर्टेटासहित आर्सनलका केही खेलाडीले आफ्नो पारिश्रममा १२.५ प्रतिशतको कटौतीमा सहमति जनाएका थिए।

तर ओजिलले भने तलब कटौती गर्ने क्लबको प्रस्ताव अस्वीकृत गरेका थिए।

‘एक खेलाडीको रूपमा हामी सबै योगदान गर्न चाहान्छांै तर हामीलाई धेरै जानकारी दिइएको छैन। हामीसँग धेरै कुरा लुकाउने प्रयास भइरहेको छ,’ ओजिलले थपे।

साथै ओजिलले आर्सनलमा आफ्नो बसाइ असहज पार्नका लागि क्लबकै केही स्वार्थसमूह लागिपरेको आरोप समेत लगाए।

‘मलाई यस्तो शंका लाग्छ, किनभने मानिसहरू विगत दुई वर्षबाटै मेरो खेलजीवन ध्वस्त पार्न नियोजित रूपमा लागि परेका छन्,’ ओजिलले भने।

प्रकाशित: ३० श्रावण २०७७ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App