७ वैशाख २०८१ शुक्रबार
खेल

सेभिया र साख्तर सेमिफाइनलमा

बलका लागि प्रतिस्पर्धा गर्दै सेभियाका फ्रान्को भाक्वेज(बायाँ) र वुल्भरह्याम्पटनका रुबेन भिनाग्री। तस्बिर: एपी

स्पेनिस ला लिगा क्लब सेभिया र युक्रेनी क्लब साख्तर डोनेस्क मंगलबार युरोपा लिगको सेमिफाइनल प्रवेश गरेका छन्।  

यसअघि सोमबार इलालियन सिरी ‘ए’ क्लब इन्टर मिलान र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि सेमिफाइनल प्रवेश गरिसकेका छन्। युनाइटेडले एफसी कोपेनहेगेनलाई १–० ले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गर्दा  इन्टरले बायर लेभरकुसनको चुनौती २–१ ले पन्छाएको थियो। यससँगै युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ।

सेभियाले प्रिमियर लिग क्लब उल्भरह्याम्पटनलाई १–० ले हराएको हो । पाँच पटकको युरोपा लिग विजेता सेभियाले आइतबार सेमिफाइनलमा ओले गनर सोल्सजायरको टोली युनाइटेडको सामना गर्नेछ। सेभिया सबैखाले प्रतियोगिता गरी पछिल्लो १९ खेलमा अपराजित रहँदै आएको छ। खेल सकिन २ मिनेट बाँकी हुँदा लुकास ओकाम्पसले गरेको गोल सेभियाका लागि अन्तिम ४ मा स्थान पक्का गर्न पर्याप्त बन्यो। ओकाम्पसले इभर बनेगाको पासलाई पोस्टको दिशा दिएका थिए। यसअघि खेलको १३आंै मिनेटमा राउल जिमिनेजले पेनाल्टी प्रहार खेर फाल्दा उल्भरह्याम्पटन अग्रता लिन चुकेको थियो। उनको प्रहार सेभियाका गोलकिपर यासिर बोनोउले विफल पारेका थिए। सेभियाका डिएगो कार्लोसले उल्भरह्याम्पटनका एड्मा ट्राउरेमाथि खराब फाउल गर्दा उल्भरह्याम्पटनले पेनाल्टीको अवसर पाएको थियो।

सेभिया सबैखाले प्रतियोगिता गरी पछिल्लो १९ खेलमा अपराजित रहँदै आएको छ।

त्यस्तै स्विस क्लब एफसी बासेललाई ४–१ ले निराश पार्दै साख्तरले पनि अन्तिम ४ मा स्थान पक्का गरेको हो। खेलको दोस्रो मिनेटमै जुनियर मोसायरले गरेको गोलमा साख्तरले अग्रता लिएको थियो। २२औं मिनेटमा टाइसोनले साख्तरको अग्रता दोब्बर पारे। खेल सकिन अन्तिम १५ मिनेट बाँकी रहँदा साख्तरले थप दुई गोल गरेको थियो। ७५औंं मिनेटमा एलन प्याट्रिकले पेनाल्टीको सदुपयोग गर्दै साख्तरको अग्रता थप बढाएका थिए। खेल सकिन ८ मिनेट बाँकी हुँदा डोडोले बललाई जाली चुमाउँदै साख्तरलाई ४–० को अग्रता दिलाए। ९०आंै मिनेटमा रिक्की भान उल्फसविंकेलले बासेलका लागि गोल गरे पनि त्यो उनको टोलीलाई खेलमा फर्काउन पर्याप्त बनेन।

साख्तरले सोमबार सेमिफाइनलमा इन्टर मिलानको सामना गर्नेछ। फाइनल खेल भने अगस्ट २२ मा हुनेछ। 

प्रकाशित: २९ श्रावण २०७७ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App