८ वैशाख २०८१ शनिबार
खेल

सम्भावना साहसिक खेलको

जलस्रोत र भौगोलिक विविधतामा धनी नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छ। साहसिक खेलको ‘हब’ स्थापित गर्न स्पष्ट नीति र योजनासँगै लगानी गर्न सके नेपालमा हरियो डलर कमाउन सहज छ। फरक खेलमध्येको साहसिक खेलमा नेपालले थोरै लगानी गर्न सके खेल पर्यटनबाट धेरै फाइदा लिन सकिन्छ।  साहसिक खेल स्थापित गर्न नेपाललाई आवश्यक पर्ने ८० प्रतिशत पूर्वाधार प्राकृतिक रूपमै बनेको विभिन्न निकायले दाबी गर्छन्। मूलतः नेपालमा अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, -याफ्टिङ,  बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङजस्ता साहसिक खेल सम्भावना रहेको छ। अहिले केही खेल सञ्चालन आएका छन् भने केहीले शुभसाइत कुरिरहेका छन्।  

म्याराथन  
विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेसनल जोग्राफीको ‘एड्भन्चर अफ दी इयर–२०१७’ मा अल्ट्रा म्याराथन धाविका मीरा राई विजयी भएसँगै उनको चर्चा विश्वभर चुलियो। विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरूको सूचीमा उनी अनलाइन भोटिङमार्फत पहिलो भएकी थिइन्। मीराले प्राप्त गरेको सफलता उनीमा मात्र सीमित छैन। नेपालको नाम पनि जोडिएको छ। साहसिक खेलको गतिलो गन्तव्य हुन सक्छ भन्ने सन्देश उनीमार्फत विश्वभर फैलिएको छ। माओवादी लडाकूमा अयोग्य घोषित भएपछि नयाँ बाटोलाई अँगालेकी मीराले विश्वका चर्चित म्याराथन जितेर विश्वमा नाम कमाइसकेकी छिन्। बन्दुक बोकेर गणतन्त्र ल्याउन लडेकी मीरा अयोग्य लडाकूमध्येकी एक हुन् । अयोग्यको उपमाले उनलाई निराश बनाएन। नयाँ बाटो सोच्न सिकायो। सुरुआतमा अयोग्य घोषित भएकी मीराले अहिले नयाँ बाटो रोजिसकेकी छिन्। अल्ट्रा धाविकाको परिचय बनेको छ। उनै मीराले नेपाल साहसिक खेलको उद्गम स्थल बन्न सक्ने बताइन्।  

‘भौगोलिक रूपमा हाम्रो दैनिकी उकालो ओरालो हुन्छ। यसले गर्दा हामीलाई अभ्यस्त बनाएको छ। नेपालमा जन्मिएर उकालो ओरालो गरेकाले राम्रो परामर्श पायो भने अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउन सक्छ,’ अल्ट्रा धाविका मीराले भनिन्, ‘भौगोलिक बनोटमा हाम्रो देश धनी छ। प्रतियोगिता गर्न हामीले प्रकृतिको वरदान पाएका छौं। यदि यसलाई स्पष्ट नीति र कार्ययोजनासहित आगाडि बढाउन सके नेपाल अल्ट्रा म्याराथनको उद्गम स्थल बन्न सक्छ।’  

नेपालमा एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन, जुम्ला–रारा म्याराथन, काठमाडौं म्याराथन, आदि  प्रतियोगिता हुने गर्छन्। विदेशबाट पनि धावकहरू यी प्रतियोगितामा सहभागिताका लागि नेपाल आउने गरेका छन्। उनीहरूको सहभागिताले नेपालको सन्देश विश्वभर फैलिएको छ।  

-याफ्टिङ

अल्ट्रा म्यारथनजस्तै नेपालमा प्रचुर सम्भावना बोकेको अर्को साहसिक खेल -याफ्टिङ हो। अमेरिकी साहसिक खेलाडी माइक एगरले त्रिशूली नदीमा ¥याफ्टिङ व्यवसाय भित्र्याएसँगै कर्णाली र भोटेकोसीमा पनि व्यावसायिक -याफ्टिङ सुरु भएको छ। नेपाल दोस्रो जलस्रोतमा धनी देश हो। नदी नाला धेरै संख्यामा रहेकाले -याफ्टिङ सम्भावना निकै धेरै भएको -याफ्टिङका राष्ट्रिय खेलाडी सुरज गुरुङले बताए।  

हावामा अनुभव लिन सक्ने प्याराग्लाइडिङ पछिल्लो समय पोखरामा निकै चर्चित छ। त्यसो त नेपालका अन्य ठाउँमा पनि यसको सम्भावना खोजी भइरहेको छ। तर आधिकारिक र व्यावसायिक रूपमा पोखरा बढी रुचाइने क्षेत्र हो।

‘विश्वमा नेपालको -याफ्टिङ पहिलो नम्बरमा नै पर्छ। यहाँ ¥याफ्टिङ गर्न धेरैको चासो देखाउँछन्,’ रिभर गाइडसमेत रहेका गुरुङले भने, ‘यसलाई साहसिक खेलको रूपमा प्रवद्र्धन गर्न सके पर्यटन व्यवसायमा टेवा मिल्छ। त्यसका लागि उचित किसिमको प्रचारप्रसार आवश्यक छ।’

अहिले -याफ्टिङ मनोरञ्जनदेखि प्रतियोगिताका रूपमा स्थापित भइसकेको छ। विभिन्नखाले प्रतियोगिता पनि भइरहेका छन्। नेपालले पनि त्यस्ता खाले प्रतियोगितामा सहभागिता जनाइरहेको छ। त्यस्तै नेपालमा पनि फाट्टफुट्ट प्रतियोगिता भइरहेका छन्। गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ट्रायथलन समावेश हुँदा =याफ्टिङ एक पाटो थियो।

प्याराग्लाइडिङ
सन् १९९६ मा वीरु बमजन र बेलायती एडम हिलले पोखरामा प्याराग्लाइडिङ भित्र्याएपछि नेपालमा यसको आकर्षण बढ्दो रहेको छ। भुइँ छोडेर आकाशमा चराजस्तै उड्ने र चराको आँखाबाट जमिन नियाल्न पाउने अवसर यसमा मिल्छ। हावामा अनुभव लिन सक्ने प्याराग्लाइडिङ पछिल्लो समय पोखरामा निकै चर्चित छ। त्यसो त नेपालका अन्य ठाउँमा पनि यसको सम्भावना खोजी भइरहेको छ। तर आधिकारिक र व्यावसायिक रूपमा पोखरा बढी रुचाइने क्षेत्र हो। पर्यटकको आकर्षण रहेको पाराग्लाडिङ पर्यटन प्रवद्र्धन गर्ने गतिलो माध्यम भएको प्याराग्लाडिङ व्यवसायी चीनबहादुर बानियाँले बताए।  

‘पछिल्लो १० वर्षयता प्याराग्लाइडिङ नेपाल आउने पर्यटकको पहिलो रोजाइ हुन्छ। जति पनि पर्यटक काठमाडौं विमानस्थलमा ओर्लिन्छन् ८५ प्रतिशतको गन्तव्य पोखरा हुन्छ,’ प्याराग्लाडिङ व्यवसायी बानियाँले भने, ‘प्याराग्लाडिङ गतिलो आम्दामीको स्रोत बन्न सक्छ। तर कोरोनाका कारण अहिले चैतदेखि हाम्रो व्यवसाय थलिएको छ।’  

पछिल्लो समय प्याराग्लाडिङ खेलका रूपमा नेपालमा नै विश्वकप आयोजना भइसकेको छ। यस्तै १३औं दक्षिण एसियाली खेलकुद सागमा पनि पदक दिलाउन सफल भएको थियो। खेलसँगै पर्यटक आकर्षण गर्न सक्ने गतिलो माध्यम प्याराग्लाडिङ हो।  

बन्जी जम्प
न्युजिल्यान्डका डेबिड एलडाइस र विष्णु न्यौपानेले भोटेकोसीमा बन्जी सुरु गरेको पनि दुई दशक भइसकेको छ। बन्जीले ‘एड्भेन्चर क्रेज’ फैलाएको छ। भोटेकोसीपछि अहिले पर्वत र बागलुङ सीमा भएर बग्ने कालीगण्डकी नदीमाथिको बन्जी चर्चामा छ। पर्वतको कुस्मा र बागलुङको बलेवाबीचको गहिरो खोचमा बन्जी गर्न पाइने भएको छ। तर कोरोना भाइरस (कोभिड–१९) का कारण अझै सञ्चालनमा आएको छैन। वैशाखबाट सञ्चालनमा ल्याउने भनिए पनि सुचारु भएको छैन। यस्तै पोखरामा अर्को बन्जीको नयाँ प्रस्ताव आएको छ। बन्दै गरेको पोखराको बन्जी  विश्वकै दोस्रो अग्लो हुनेछ। ७ सय ४८ फिट रहेको पोखरा बन्जीमा परीक्षणसमेत भइसकेको छ। हाल विश्वकै अग्लो बन्जी मकाउमा छ। यसको उचाइ ७ सय ६४ फिट  छ।  

क्यानोइङ
छङछङ झरेको झरनामा डोरीको सहायताले झुन्डिएर फोहोरासँग खेल्दै झर्ने खेल हो, क्यानोइङ। साहसिक खेलअन्तर्गत अहिले क्यानोइङ पनि थपिएको छ। यसमा पनि मानिसको आकर्षण बढेको छ। अहिले चितवनको जलबिरे, कास्कीको ल्वाङ घलेल, सिन्धुपाल्चोकको पाङलाङ खोला र काठमाडाैं आसपासका केही झरनामा व्यावसायिक रूपमा क्यानोइङ गराइन्छ। यस्तै देशका विभिन्न ठाउँमा पनि यसको सम्भावन उत्तिकै छ। हाल अहिले बझाङ, तनहुँलगायतका पहाडी जिल्लामा क्यानोइङ सुरु गर्न सम्भाव्यता अध्ययन भइरहेको छ।

यस्तै नेपालमा डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङजस्ता साहसिक खेलको  पनि सम्भावना बढी छ। खर्चालु पर्यटकको रोजाइ र इच्छा पछिल्लो समय साहसिक खेलकुद गतिविधिमा हुने गरेको छ। यसको अर्थ पर्यटन व्यवसायका लागि साहसिक खेल गतिलो आम्दानीको स्रोत पनि बन्न सक्छ।  

अहिले नेपालमा साहसिक खेललाई सम्बन्धित निकायबाट थोरै मात्रामा प्रचारप्रसार गरिएको छ। विश्वका धेरै देशले साहसिक खेललाई आयको स्रोत बनाएका छन्। नेपालमा पनि यसलाई बढी मात्रामा प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकिने पर्वतीय खेलकुद महासंघ नेपालका पूर्वअध्यक्ष तथा मानार्थ अध्यक्ष युवराज लामा बताउँछन्।  

‘हिमाल, डा“डाकाँडा, जंगल, नदीमा खेलिने साहसिक खेलमार्फत पर्यटक तान्न सक्छौं। यस्ता खालका खेलमा पयर्टकले १० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन्,’  पर्वतीय खेलकुद महासंघका पूर्वअध्यक्ष लामाले भने, ‘साहसिक खेलमा प्रचुर सम्भावना भए पनि सरकारको नीति कमजोर छ। बल्ल राष्ट्रिय खेलकुद परिषद्को ध्यान यतातर्फ  गएको छ । पर्यटन व्यवसायी, खेलकुद परिषद् र पयर्टन बोर्ड मिलेर ठोस कार्ययोजना बनाई अघि बढ्न सके नेपालले फाइदा लिन सक्छ।’

साहसिक खेलकुदलाई सही तरिकाले प्रर्वद्धन गर्न सके रोजगारी, उद्योग र पर्यटनस“ग जोड्न सहज छ।  पर्वतीय खेलकुद महासंघका पूर्वअध्यक्ष युवराज लामाले  पूर्वाधारमा २० प्रतिशत काम गरे नेपालले धेरै फाइदा लिन सक्ने बताए।  

‘नेपालमा प्याराग्लाइडिङ, बन्जी जम्प, अल्ट्रा म्याराथन, गल्फ, रक क्लाइम्बिङ, क्यानोइङ, -याफ्टिङलगायतका खेलका लागि उपयुक्त मौसम र स्थान पर्याप्त छन्,’ लामाले थपे, ‘नेपालको वातावरण विश्वमै उत्कृष्ट छ। नेपाल विदेशी पर्यटकलाई सस्तो गन्तव्य हुन्छ। यसको प्रचारप्रसार अब इन्टेरनेटबाट गरिनुपर्छ।’

दक्षिण कोरिया, चीन, स्विट्जरल्यान्डलगायत पहाड भएका देशले साहसिक खेलकै माध्यमबाट पर्यटक भित्र्याएर करोडौं नगद जम्मा पारेका छन्।

प्रकाशित: २८ श्रावण २०७७ ०४:४४ बुधबार

खेल