८ वैशाख २०८१ शनिबार
खेल

फिटनेस चलाउँदा ६ जनामा संक्रमण

धरान ८, बोनस मलमा रहेको बन्द अवस्थाको क्रन्च फिटनेस। तस्बिर सौजन्य: विकास चाम्लिङ राई

सरकारले साउन ५ गते लकडाउन अन्त्यको घोषणा गर्दा पनि धेरै जमघट हुने थलो जिम हल, सिनेमा हललगायत थुप्रै ठाउँ सञ्चालन गर्न भने रोक लगाएको थियो।

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको यो निर्णयविपरीत गुपचुप रूपमा चलेको धरानको एक फिटनेस सेन्टरमा धाउनेमा अहिले धमाधम संक्रमण देखिन थालेको छ। धरान ८ भोटेपुलस्थित बोनस मलमा रहेको क्रन्च फिटनेस जाने ६ जनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये ३ जना युवा छन् भने ३ जना महिला छन्। सबैभन्दा पहिला साउन १४ गते धरान १३ का एक युवालाई संक्रमण देखिएको थियो। उनी बिहानको समयमा फिटनेस जाने गरेका थिए।

उनलाई संक्रमण पुष्टि भएपछि क्रन्च बन्द भयो, तर तत्काल फिटनेस जाने सबैको कन्ट्याक्ट ट्रेसिङ गरेर पिसिआर परीक्षण नगरिँदा संक्रमण समुदाय स्तरमा नै पुगेको छ। उपमहानगरपालिकाले साउन २० गतेदेखि रेन्डम मास टेस्टिङ गर्ने क्रममा मात्र यो फिटनेस जाने अन्य ५ जनाको स्वाब परीक्षण गरिएका थियो। उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ। सोमबार मात्र यो फिटनेस जाने धरान १९ मा होटल चलाउने ४० वर्षीय पुरुष, धरान १० की १६ वर्षीया र २० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भयो। यसअघि धरान ११ की ४० वर्षीया महिला र धरान १० का एक पुरुषमा  संक्रमण देखिएको थियो। उनीहरू पनि सोही फिटनेस जाने गरेका थिए।

स्रोतका अनुसार क्रन्च फिटनेस जानेको संख्या २ सय हाराहरी थियो। उनीहरूमध्ये धेरैको  स्वाब परीक्षण गर्न बाँकी नै छ। धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता यसअघि पनि कन्ट्याक्ट ट्रेसिङको क्रममा केहीको स्वाब परीक्षण गरिएको बताउँछन्। ‘यो फिटनेस जाने पोजेटिभ देखिन थालेपछि हामी चिन्तित भएका छौं, आज पनि १५ जनाको स्वाब लिएका छौं, र अरूलाई भोलि पनि बोलाउँछौं,’ मेहताले भने। धरानका मेयर तिलक राईले फिटनेस जाने सबैको नामावली संकलन गर्न लगाएर कन्ट्याक्ट ट्रेसिङ गर्न पनि निर्देशन दिइसकेको बताए। ‘फिटनेसमा कोको जान्थे, सबैको नामावली टिप्न लगाएको छु, र तत्काल सबैको स्वाब लिन पनि भनिसकेको छु’ उनले भने।

यो फिटनेसमा संक्रमणको स्रोत यसअघि धरानमा हटस्पट झैं बनेको औद्योगिक क्षेत्रस्थित प्रीति भल्भ एन्ड फिटिङ्स प्रालि रहेको मानिएको छ। त्यहाँको कार्यालयमा कार्यरत धरान १३ का युवामा संक्रमण देखिएको थियो। उनी क्रन्च फिटनेस जाने गरेका थिए। सम्भवतः उनीबाट नै फिटनेसमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ। ट्राभल हिस्ट्री नभएका ती युवामा पनि प्रीति भल्भका अन्य कर्मचारीबाट संक्रमण भएको अनुमान छ। उक्त उद्योगका २ जना कामदार जनकपुरलगायत कोरोना संक्रमित क्षेत्रमा आउजाउ गरिरहने गर्थे भने उद्योगमा आएपछि क्वारेन्टिनमा नबस्ने र उद्योगले पनि सुरक्षा मापदण्ड नअपनाउँदा अन्यमा संक्रमण फैलिएको हो।

प्रकाशित: २७ श्रावण २०७७ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App