१६ चैत्र २०८० शुक्रबार
खेल

पुलिसिक ६ हप्ता मैदानबाहिर

चेल्सीका विंगर क्रिस्टियन पुलिसिक ह्याम्सट्रिङका कारण छ हप्तासम्म मैदानबाहिर रहने भएकाले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनका केही खेल पनि गुमाउन सक्नेछन्।

आर्सनलविरुद्धको एफए कप फाइनलमा घाइते भएका अमेरिकन स्टार पुलिसिकले ह्याम्सट्रिङका कारण यस सिजनका बाँकी खेलसँगै नयाँ सिजनका केही खेल गुमाउने भएका हुन्। वेम्बली स्टेडियममा सम्पन्न एफए कप फाइनलमा आर्सनलसँग २–१ ले स्तब्ध हुँदा चेल्सीका पुलिसिकसँगै पेड्रो र सेजर एज्पिलिक्विटाले चोट बोकेका थिए। ‘क्रिस्टियनका लागि यो समय निकै कठिन छ। आगामी सिजनको सुरुआतका खेल उनका लागि गाह्रो छ,’ लाम्पार्डले भने, ‘करिब छ हप्ताको इन्जुरी समय उनले लिनेछन्। यो समय छिटै बित्नेछ र नयाँ सिजन पनि सुरु हुनेछ।’ नयाँ सिजन आगामी सेप्टेम्बर १२ देखि सुरु हुँदै छ।  

यसैबीच लाम्पार्डले पुलिसिकको उपचार पनि सही तवरबाट हुने विश्वास लिएका छन्। बोरुसिया डर्टमन्डबाट आएको पहिलो सिजन नै पुलिसिकले ११ गोल र आठ एसिस्ट गरेका छन्। ‘पुलिसिकसँगै धेरै नयाँ पक्षहरू आउनेछन्। पहिलो सिजन नै उनले धेरै पक्ष सुधार गरिसकेका छन्। यस सिजनको गोल र एसिस्टले पनि उनको करियर उत्कृष्ट तवरबाट अगाडि बढिरहेको स्पष्ट छ,’ लाम्पार्डले भने, ‘उनी छिट्टै फिट र तयार हुने आशा छ। सुरुआतका एक/दुई खेल गुमाए पनि उनी थप भोकाएको शैलीमा फर्किने विश्वास छ।’ 

प्रकाशित: २५ श्रावण २०७७ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App