८ वैशाख २०८१ शनिबार
खेल

अवे गोलले लियोन भाग्यमानी

रियल मड्रिडविरुद्ध गोल गरेपछि सहकर्मीसँग म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ (बीच)। तस्बिारः एपी

अवे गोलका आधारमा लिग वान क्लब लियोनले इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सलाई निराश बनाउँदै शुक्रबार च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गर्दा १३ पटकको च्याम्पियन स्पेनिस क्लब रियाल मड्रिडको यात्रा टुङ्गिएको छ।  

यसअघि पहिलो लेगमा लियोनले युभेन्ट्समाथि १–० को जित निकालेको थियो। तर शुक्रबार भएको खेलमा लियोन युभेन्ट्सविरुद्ध २–१ ले पराजित भए पनि समग्रमा २–२ को नतिजा आउँदा लियोन अवे गोलको आधारमा भाग्यमानी ठहरिएको हो। जित हात पारेको लियोनले अब प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबारै भएको खेलमा म्यानचेस्टर सिटीले यसै सिजनको ला लिगा च्याम्पियन रियालको चुनौती समाप्त गर्दै अन्तिम आठमा स्थान बनाउँदा लियोनसँगको भेट पक्का गरेको हो।  सिटीले पहिलो लेगमा रियालविरुद्ध २–१ को जित निकालेको थियो। शुक्रबार पनि २–१ को जित निकाल्दा सिटी समग्रमा ४–२ ले विजयी भएको हो।  

इटालियन क्लब युभेन्ट्सको चुनौती समाप्त गर्न लियोनलाई पेनाल्टी अवसर धेरै मूल्यवान् बन्यो। १२औं मिनेटमा मेम्पेस डिफेले पेनाल्टीबाट गोल गर्दै युभेन्ट्सको घरेलु मैदानमा  सुरुआती अग्रता निकालेका थिए। तर लियोनको अग्रता अन्तिम मिनेटसम्म कायम रहेन। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट बराबरी र ६०औं मिनेटमा विजयी गोल गरे पनि युभेन्ट्स निराश बन्न पुग्यो। फराकिलो जितका लागि बाँकी समय प्रयास गरेको युभेन्ट्सले गोल गर्न सकेन र समग्रमा अवे गोलमा स्तब्ध हुन पुग्यो।  

यससँगै रोनाल्डोको इटालियन सिरी ‘ए’ बाट च्याम्पियन्स लिगको विजेता बन्ने लक्ष्य दोस्रो पटक पनि असफल भएको छ। शुक्रबार राति दुई गोल गरेका रोनाल्डोले युभेन्ट्सबाट एकै सिजनमा सर्वाधिक ३७ गोल गर्ने कीर्तिमान भने कायम गरेका छन्। युभेन्ट्सले सन् १९९६ पछि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। सिरी ‘ए’ च्याम्पियन  युभेन्ट्सले आगामी सिजनको उपाधिका लागि थप प्रतीक्षा गर्नुपर्ने भएको छ।  

युरोपियन क्लबहरूको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगबाट बाहिरिएको टोली युभेन्ट्सका प्रशिक्षक माउरिसियो सारीले जितका बावजुद पनि तीतो अनुभवका साथ बाहिरिन परेकोमा दुख व्यक्त गरे।

‘निकै तीतो अनुभव भइरहेको छ। निकै प्रतिस्पर्धात्मक प्रतियोगिता हो। र यसको इज्जत निकै छ,’ युभेन्ट्स प्रशिक्षक सारीले भने, ‘पहिलो हाफमा पाएका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनौं, जुन हाम्रा लागि निकै मूल्यवान् रह्यो। लियोनले रणनीतिक हिसाबमा खेल्यो र सफल भयो।’  

उता १३ पटकको च्याम्पियन्स लिग विजेता जिनेदिन जिदानको टोली  रियाल पनि शुक्रबार म्यानचेस्टर सिटीसँग स्तब्ध भयो। शुक्रबार सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र ग्याब्रियल जिससले एक÷एक गोल गर्दा रियालका लागि करिम बेन्जेमाले २८औं मिनेटमा गोल गरेका थिए। स्टर्लिङले सुरुआती गोल गर्दा जिससले विजयी गोल गरेका थिए।  

ला लिगाको डिफेन्डिङ च्याम्पियन बार्सिलोनामाथि रोमाञ्चक अंक समीकरण हात पार्दै च्याम्पियन बनेको रियालका प्रशिक्षक जिनेदिन जिदानले हारका बावजुद पनि टोलीको प्रदर्शनमा सन्तुष्ट रहेको प्रतिक्रिया दिए।  

‘आजको नतिजामा खुसी त छैन किनकि हामीले खेल गुमाएका छौं तर हामीले सिजनभर प्राप्त गरेको सफलता भने निकै उपलब्धिमूलक रहेको छ,’ रियालका प्रशिक्षक जिदानले भने, ‘सिटीविरुद्ध केही राम्रा अवसर पाएका थियौं सदुपयोग गर्न चुक्यौं। यो वर्ष जे ग¥यौं ९५ प्रतिशत उत्कृष्ट गरेका छौं। टोलीको प्रदर्शनमा म सन्तुष्ट छु।’

च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाइसकेका पेरिस सेन्ट जर्मन र  एट्लान्टा तथा आरबी लिपजिग र एट्लेटिको मड्रिडले सेमिफाइनल प्रवेशका लागि आगामी बिहीबार र शुक्रबार पहिलो लेग खेल्दै छन्। लियोन र म्यानचेस्टर सिटी भने १६ तारिखमा पहिलो लेगका लागि आमनेसामने हुनेछन्।  

शुक्रबार राति दुई गोल गरेका रोनाल्डोले युभेन्ट्सबाट एकै सिजनमा सर्वाधिक ३७ गोल गर्ने कीर्तिमान कायम गरेका छन्। युभेन्ट्सले सन् १९९६ पछि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन।

प्रकाशित: २५ श्रावण २०७७ ०५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App