८ वैशाख २०८१ शनिबार
खेल

क्रिकेट मैदानको डिपिआर तयार

पशुपतिघाटमा निर्माण गरिने प्रदेशस्तरीय क्रिकेट मैदानको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ। तयार भएको प्रतिवेदनसम्बन्धी केही दिनअघि मात्रै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा छलफल गरिएको थियो।  

क्रिकेट मैदान बनाउने जग्गा सेती नदीले कटान गरेको छ। केही क्षेत्रफल कटान गरेपछि तयार पारिएको प्रतिवेदनलाई फेरि सुधार गर्नुपर्ने खाँचो सामाजिक विकास मन्त्रालयले औंल्याएको छ। प्रतिवेदनमा २० हजार दर्शक क्षमताको पवेलियन बनाउन सकिने उल्लेख छ। तर जग्गाको क्षेत्रफल भने पर्याप्त नभएकाले दर्शक क्षमता घटाउने गरी सुधार गर्नुपर्ने खाँचो रहेको सामाजिक विकास मन्त्रालयले औंल्याएको छ।  

‘डिपिआर तयार भएर आयो। प्रारम्भिक छलफलसमेत गरियो। छलफलमा केही सुधार गर्नुपर्ने देखिएकाले फेरि फाइनल रिपोर्ट पेस हुन्छ,’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका प्रमुख तेजप्रसाद काफ्लेले भने, ‘भदौदेखि नै काम सुरु गर्ने योजनासहित मन्त्रालय अघि बढेको छ।’ वर्षाको कारण सेती नदीमा आएको बाढीले जग्गाको एकातिरको भाग कटान गरेपछि पर्याप्त नहुने जिकिर प्राविधिकले  गरेका छन्।  

काफ्लेका अनुसार कटान, रोकथाम र जग्गा संरक्षणका लागि तत्कालै काम सुरु गर्नुपर्ने देखिएको छ। ‘२० हजार दर्शक क्षमताको पवेलियन बनाउने निर्णय गरिएको थियो,’ उनले भने, ‘जग्गा नदीको कटानले समस्या बनाएको छ। दर्शक क्षमता केही घटाएर संरचना बनाउने गरी नयाँ रिपोर्ट बनाउन सुझाव आएको छ।’ जग्गाको स्वरूप नमिलेका कारणले पनि दर्शक क्षमता घटाउनुपर्ने बाध्यता रहेको मन्त्रालयले जनायो। क्रिकेट मैदानको क्षेत्रफल १ सय ७४ रोपनी छ। क्रिकेट मैदान बनाउन प्रदेशको योजनाअनुसार उक्त जग्गाको भोगाधिकार गण्डकी प्रदेश सरकारको नाममा आएको छ।  

जग्गा कटान रोक्न तत्कालै टेन्डर आह्वान गरेर रोकथामको काम गर्नुपर्नेछ। त्यससँगै मैदान संरक्षण गर्न तारबार लगाउने एवं क्रिकेट पिच बनाउने योजनासमेत मन्त्रालयको छ। ‘पहिलो वर्षमा केके काम गर्ने भन्नेबारे परामर्श गर्नुपर्नेछ’ प्रवक्ता काफ्लेले भने, ‘पहिलो वर्षका लागि दुई करोड रुपैयाँ छुट्ट्याइएको छ। त्यसबाटै काम गर्ने हो।’ क्रिकेट मैदान निर्माण गर्नुअघि नै मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकनसमेत गर्नुपर्ने खाँचो आंैल्याइएको छ। जग्गा नदीले ३० मिटर जति कटान गरेको स्थानीयले मन्त्रालयलाई जानकारी दिएका छन्।  

प्रकाशित: २३ श्रावण २०७७ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App