१६ चैत्र २०८० शुक्रबार
खेल

युनाइटेड र इन्टर क्वार्टरफाइनलमा

युरोपा लिग

म्यानचेस्टर युनाइटेड र इन्टर मिलान बुधबार युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।  

कोरोना भाइरस महामारीका कारण तीन महिना रोकिएको प्रतियोगिता बुधबारबाट सुचारु भएको हो। अन्तिम ८ को यात्रा पक्का गर्ने क्रममा युनाइटेडले दोस्रो लेगमा एलएएसकेलाई २–१ ले हराएको हो। पहिलो लेगमा ५–० को जित हात पारेको युनाइटेड समग्रमा ७–१ को नतिजाका साथ क्वार्टरफाइनल प्रवेश गरेको हो। क्वार्टरफाइनलमा युनाइटेडले एफसी कोबेनहेबको सामना गर्नेछ। कोबेनहेबले इस्तानबुल बसाकसेरलाई ३–० ले हरायो। पहिलो लेगमा १–० ले निराश कोबेनहेबले समग्रमा ३–१ को जितका साथ अघिल्लो चरणमा स्थान पक्का गरेको हो।

५५आंै मिनेटमा फिलिप वेसिंगरको गोलमा एलएएसकेले अग्रता लिएको थियो। तर त्यसको दुई मिनेटपछि नै युनाइटेड खेलमा फर्किएको थियो। जेसे लिंगार्डले युनाइटेडलाई खेलमा फर्काएका थिए। खेल सकिन २ मिनेट बाँकी हुँदा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडको जित पक्का गरेका थिए।  

‘यो राम्रो अभ्यास भयो, हामीले आफ्नो जिम्मेवारी पूरा ग-यौं,’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले भने, ‘टोलीले नियमित खेलिरहेको छैन। हामीले पछिल्लो पटक नर्विच सिटीविरुद्ध एक महिनाअघि घरेलु मैदानमा खेलेका थियौं। नियमित नखेल्दा टोलीमा केही अभाव खड्किएको छ।’

यता इन्टर मिलानले गेटाफेलाई २–० ले हराउँदै अन्तिम ८ को यात्रा पक्का ग-यो। ३३औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोलमा इन्टर खेलमा अघि बढेको थियो। ७६औं मिनेटमा जर्ज मोलिनाले पेनाल्टीमा गोल गर्दै गेटाफेलाई खेलमा फर्काउने सुनौलो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनन्। उनको प्रहार बाहिरिएको थियो। खेल सकिन ७ मिनेट बाँकी हुँदा क्रिस्टियन इरिक्सनले इन्टरको अग्रता दोब्बर पारेका थिए।  

यसअघि भएको खेलमा साख्तर डोनेस्कले पनि क्वार्टरफाइनलमा स्थान बनायो। अन्तिम ८ मा स्थान बनाउने क्रममा साख्तरले बुन्डेसलिगा क्लब उल्फसबर्गमाथि ३–० को जित हात पारेको हो। पहिलो लेगमा २–१ को जित हात पारेको साख्तरले समग्रमा ५–१ को जितका साथ अघिल्लो चरणमा स्थान बनाएको हो। सहज जित हात पार्ने क्रममा साख्तरले अन्तिम तीन मिनेटमा ३ गोल गरेको थियो। जहाँ जुनियर मोरेजले २ तथा मानोर सोलेमनले एक गोल गरेका थिए।

प्रकाशित: २३ श्रावण २०७७ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App