coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

गण्डकी प्रदेशस्तरीय क्रिकेट मैदानको डिपिआर तयार

पोखरा–३३ पशुपतिघाटमा निर्माण गरिने प्रदेशस्तरीय क्रिकेट मैदानको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । तयार भएको प्रतिवेदन सम्बन्धी केही दिनअघि मात्रै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा छलफल गरिएको थियो ।

क्रिकेट मैदान बनाउने जग्गा सेती नदीले कटान गरेको छ । केही क्षेत्रफल कटान गरेपछि तयार पारिएको प्रतिवेदनलाई फेरी सुधार गर्नुपर्ने खाँचो सामाजिक विकास मन्त्रालयले औंल्याएको छ । प्रतिवेदनमा २० हजार दर्शक क्षमताको पवेलियन बनाउन सकिने उल्लेख छ । तर जग्गाको क्षेत्रफल भने पर्याप्त नभएकोले दर्शक क्षमता घटाउने गरी सुधार गर्नुपर्ने खाँचो सामाजिक विकास मन्त्रालयले गरेको छ ।

‘डिपिआर तयार भएर आयो । प्रारम्भिक छलफल समेत गरियो । छलफलमा केही सुधार गर्नुपर्ने देखिएकोले फेरी फाईनल रिपोर्ट पेश हुन्छ’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका प्रमुख तेजप्रसाद काफ्लेले भने–‘भदौदेखि नै काम सुरु गर्ने योजनासहित मन्त्रालय अघि बढेको छ ।’ वर्षाको कारण सेती नदीमा आएको बाढीले जग्गाको एकातिरको भाग कटान गरेपछि पर्याप्त नहुने जिकिर प्राविधिकरुले सुझाएका छन् ।

उनका अनुसार कटान रोकथाम र जग्गा संरक्षणको लागि तत्कालै काम सुरु गर्नुपर्ने देखिएको छ । ‘२० हजार दर्शक क्षमताको पवेलियन बनाउने निर्णय गरिएको थियो’ उनले भने–‘जग्गा नदीको कटानले समस्या बनाएको छ । दर्शक क्षमता केही घटाएर संरचना बनाउने गरी नयाँ रिपोर्ट बनाउन सुझाव आएको छ ।’ जग्गाको स्वरुप नमिलेको कारणले पनि दर्शक क्षमता घटाउनुपर्ने बाध्यता रहेको मन्त्रालयले जनायो । क्रिकेट मैदान बनाउन १७४ रोपनी क्षेत्रफल रहेको छ । क्रिकेट मैदान बनाउन प्रदेशको योजना अनुसार उक्त जग्गाको भोगाधिकार गण्डकी प्रदेश सरकारको नाममा आएको छ ।

जग्गा कटान रोक्न तत्कालै टेण्डर आह्वान गरेर रोकथामको काम गर्नुपर्ने छ । त्यो सँगै मैदान संरक्षण गर्न तारबार लगाउने एवं क्रिकेट पीच बनाउने योजना समेत मन्त्रालयको छ । ‘पहिलो वर्षमा के–के काम गर्ने भन्ने बारे परामर्श गर्नुपर्ने छ’ प्रवक्ता काफ्लेले भने–‘पहिलो वर्षको लागि दुई करोड रुपैयाँ छुट्टाइएको छ । त्यसबाटै काम गर्ने हो ।’ क्रिकेट मैदान निर्माण गर्नु अघि नै मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन समेत गर्नुपर्ने खाँचो औल्याइएको छ । जग्गा नदीले ३० मिटर जति कटान गरेको स्थानीयले मन्त्रालयलाई जानकारी दिएका छन् ।

डिपिआरमा पवेलियनसहित पार्किङ, होस्टेल, चेन्जिङ रुम, भिआईपी विल्डिङ लगायतका पूर्वाधार छन् । पीच र चेन्जिङ रुम मैदानकै छेउमा बनाउनुपर्ने छ । होस्टेल तथा पार्किङ भने मैदान भन्दा केही पर भएपनि बनाउन सकिने सुझाव क्रिकेट संघ कास्कीले दिएको छ । डिपिआर अनुसार क्रिकेट मैदानको लागि १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘पहिलो वर्षमा गर्न सकिने कामको मात्रै टेण्डर गर्छौ । मैदान सम्याउने र पीच बनाई खेल्ने योग्य बनाउने योजना छ ।’ उनको भनाई थियो ।

क्रिकेट मैदानसम्म बाटो पुगिसकेको छैन । नजिकै रहेको बंगुरफार्मसम्म बाटो पुगेको छ । बाटो लैजाने जिम्मेवारी पोखरा–३३ वडाले लिएको छ । वडाले बाटो निर्माण गरेपछि मैदान निर्माण गर्न अझै सहज हुने विश्वास गरिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जनाए । सामाजिक विकास मन्त्रालयले पनि बजेट भदौमा आईपुग्ने भएकै कारण भदौबाट मात्रै काम अघि बढ्ने जनाएको छ । 

पोखरामा क्रिकेट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न दुईवटा मैदानकै अभावले आयोजना गर्न सकिएको छैन । उनका अनुसार पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्नुपर्ने खाँचो छ । पोखरा–३ नदीपुरस्थित नगरप्रशिक्षण केन्द्र(गण्डकी प्रदेश सभा)को जग्गा समेत क्रिकेटले उपयोग गर्दै आएको छ ।

प्रकाशित: २१ श्रावण २०७७ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App