७ वैशाख २०८१ शुक्रबार
खेल

सेप्टेम्बर १२ नयाँ सिजनलाई हतार: लाम्पार्ड

चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आगामी सिजनको इङ्लिस प्रिमियर लिग सेप्टेम्बर १२ मै सुरु गर्नु धेरै चाँडै हुने बताएका छन्।

लाम्पार्डले तय सेप्टेम्बर १२ मै प्रिमियर लिग सुरु गर्नु हतारको निर्णय भएको उल्लेख गर्दै चोट बोकेका खेलाडी फिट हुन समय लाग्ने र धेरै खेलाडीहरू घाइते पनि हुने सम्भावना रहेको औंल्याएका हुन्। आगामी आइतबार चेल्सीले बायर्न म्युनिखसँग च्याम्पियन्स लिग १६ को दोस्रो लेगको खेल खेल्दै छ। पहिलो लेगमा ३–० ले पछि परिसकेको चेल्सीले दोस्रो लेग पनि गुमाएको खण्डमा लाम्पार्डको टोलीसँग एक महिनाको आराम गर्ने समय हुनेछ।  

सेप्टेम्बरमा नयाँ सिजन सुरु हुने भएकाले चेल्सीको च्याम्पियन्स लिग यात्रा अगाडि बढेमा भने रिकभर समय पर्याप्त हुनेछैन। ‘मैले तय भइसकेको मितिबारे भन्न खोजेको छु। हामीले बायर्नसँग कस्तो खेल खेल्छांै या नतिजाले पनि तय भएको मितिअनुसार फरक पर्दछ,’ लाम्पार्डले भने, ‘बायर्नविरुद्ध राम्रो नतिजा ल्याउन सफल हुन्छौं भने नयाँ सिजनको त्यो मिति उत्तम हुनेछैन। खेलाडीहरूलाई पनि पर्याप्तमा मात्रामा आराम मिल्नुपर्छ। यदि प्रिमियर लिगको स्तरमा खेल्ने हो भने निर्धारित मिति ठीक छैन।’  

यसै पनि कोरोना महामारीका कारण यस सिजन धेरै लामो भइसकेको छ। यसबीच गत एफए कपको फाइनलमा मात्र चेल्सीले चार खेलाडीमा चोट बेहोरेको थियो। लगातार खेलका कारण खेलाडीले चोट बोकेका हुन्। ‘यदि हामीले बायर्नसँग खराब नतिजा बेहोरेको खण्डमा पनि सेप्टेम्बर १२ को समय पर्याप्त छैन। मेरो विचारमा खेलाडीहरूका लागि त्यो समय उत्तम हुँदैन,’लाम्पार्डले जोड दिए।  

गत शनिबार एफए कप फाइनलमा आर्सनलसँग २–१ ले स्तब्ध हुँदा चेल्सीका कप्तान एज्पिलिक्वेटा, क्रिस्टियन पुलिसिक र पेड्राले चोट बोकेका थिए र अन्य खेलाडीले पनि सोही किसिमका चोट बेहोर्छन् कि भन्ने भय लाम्पार्डमा देखिएको छ। ‘सबै खेलाडीलाई आराम आवश्यक हुन्छ। पछिल्ला समय आराम मिलेन, त्यही भएर नै दुई खेलाडीमा ह्याम्सट्रिङ समस्या देखिएको हो। त्यसैले एक पटक फेरि गम्भीरतापूर्वक तय मितिबारे विचार गर्न आग्रह गर्दछु,’ उनले भने।

प्रकाशित: २० श्रावण २०७७ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App