७ वैशाख २०८१ शुक्रबार
खेल

सिपिएल खेल्न टोबागो गएका सन्दीप १४ दिनका लागि क्वारेन्टिनमा

क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनका लागि क्वारेन्टिनमा राखिएको छ ।  

सिपिएल खेल्ने सन्दीपलगायत सबै खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । सिपिएल आगामी भदौ २ गते सुरु हुँदै छ ।

‘प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नु.परेको हो,’ उनका व्यवस्थापक रमन शिवाकोटीले भने । यसबीचमा सन्दीपले आफ्नो पिसिआर परीक्षणसमेत गराउनुपर्ने उनले बताए ।  

‘पिसिआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सिपिएल खेल्न पाइनेछ,’ उनले भने ।  

सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो पुगेका हुन् । सरकार र अन्य विभिन्न निकायको सहयोगमा उनी टोबागो जान सफल भएका हुन् ।  

टोबागो उड्नुअघि सन्दीपले गत मंगलबार पिसिआर परीक्षण गराएका थिए । सानेपास्थित स्टार हस्पिटलमा गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए ।  

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेका कारण सन्दीपले सिपिएल खेल्ने किन नखेल्ने भन्ने अन्योल भएको थियो । सन्दीप, सिपिएलका लागि यसपटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका हुन् ।  

उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले सिपिएल खेल्न लागेको यो तेस्रोपटक हो । यसअघि उनले सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सिपिएल खेलेका थिए ।  

प्रकाशित: १९ श्रावण २०७७ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App