८ वैशाख २०८१ शनिबार
खेल

२१ सय मिटरको उचाईमा ‘टेनिस क्ले कोर्ट’ निर्माण गरिदैं

कास्कीको छोमरोङमा निर्माण शुरु गरिएको टेनिस कोर्ट। तस्बिर : नागरिक

कास्कीको पर्यटकीय गाँउ छोमरोङबासीलाई अब टेनिस कोर्टले लोभ्याउने छ। खेलकुदको पूर्वाधारको रुपमा बास्केटबल कोर्टमात्रै रहेको छोमरोङमा टेनिसको क्ले कोर्ट निर्माण शुरु गरिएको छ। क्ले कोर्टको निर्माणसँगै छोमरोङबासी टेनिस तर्फ आकर्षित हुने विश्वास गरिएको छ।  

युवा तथा खेलकुद मन्त्रालय मार्फत राष्ट्रिय खेलकुद परिषदले असारे खेलकुद बजेट निकासा गरेको थियो। दुईसाताभित्रमा सक्ने गरी परिषदले सवा करोडको बजेट कास्कीको विभिन्न ठाँउमा खेलकुद पूर्वाधार निर्माणको लागि छुट्टाइएको थियो। जसमध्ये अन्नपूर्ण गाँउपालिका अन्तर्गतको छोमरोङमा १५ लाख रुपैयाँ छुट्टाइएको थियो। छुट्टाइएको १५ लाख रुपैयाँले टेनिस कोर्ट निर्माण गरिएको हो। 

‘यो वर्ष छुट्टिएको बजेट १५ लाखले काम गर्यौं। अपुग रकम प्रदेश सरकारसँग माग गर्दै छौं।’ स्थानीय छोमरोङ टेनिस निर्माण समितिका अध्यक्ष मिकास गुरुङले बताए। उनका अनुसार भिरालो जमिनमा साढे १० फिट पर्खाल उठाएर जमिन सम्याउने काम गरिएको छ। जग्गा ३० मिटर लम्बाई र १८ मिटर चौडाई(१०० फिट लम्बाई र ६० फिट चौडाई)को रहेको उनले बताए। कोर्टसँगै एकतर्फ प्यारापिट समेत निर्माण गर्ने योजना निर्माण समितिको छ।  

छोमरोङमा निर्माण गरिने क्ले कोर्ट समुद्री सतहदेखि २१ सय मिटरको उचाईमा पर्छ। निर्माणपछि  यो नेपालकै सर्वाधिक उचाईको टेनिस कोर्ट बन्ने विश्वास छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियरि प्रनिस ताम्राकारका अनुसार क्ले कोर्ट ३६ मिटर लम्बाई र १९ मिटर चौडाईको हुन्छ। कोर्टको बेसलाईनबाट दायाँ बायाँ र पछाडि करीब ५ मिटरको छोड्नुपर्छ। उनका अनुसार अन्तराष्ट्रिय मापदण्ड अनुसारको कोर्ट बनाउन जग्गा उपयोग गर्न सकिने छ। ‘कोर्ट बनाउन स्थानीय गुन्जबहादुर गुरुङले जग्गा दिनुभएको हो।’ उनको भनाई थियो।  

पोखराका ३५ वर्षको माथिको उमेर समूहका टेनिस च्याम्पियन विकास गुरुङ छोमरोङ निवासी हुन्। उनैको प्रेरणाले छोमरोङमा टेनिस कोर्ट निर्माण शुरु गरिएको निर्माण समितिले जनाएको छ। टेनिस कोर्ट निर्माण पुरा गर्न ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ‘विदेशमा बस्ने गाँउले दाजुभाइ तथा इष्टमित्रहरुलाई पनि कोर्ट निर्माणको लागि सहयोगको अपिल गरिएको छ’ निर्माण समिति अध्यक्ष गुरुङले भने–‘हङकङमा रहेको टेनिस खेलाडी एवं टेनिस प्रेमीबाट टेनिसको सामानहरु सहयोग गर्न अनुरोध गरेका छौं।’  

छोमरोङ विशेष गरी अन्नपूर्ण पदयात्रा मार्गमा पर्छ। पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकले टेनिसको मज्जा समेत लिन सक्ने छन्। छोमरोङसम्मको हाइकिङ गरेर फर्किने आन्तरिक तथा बाह्य पर्यटकलाई टेनिसले लोभ्याउने विश्वा गरिएको छ। टेनिस कोर्ट निर्माणसँगै संरक्षण र सम्बद्र्धन गर्न छुट्टै कमिटि गठन गरिने समेत निर्माण समितिले जनाएको छ।  

प्रकाशित: १९ श्रावण २०७७ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App