coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

फिटनेस योजना बनाएर प्रशिक्षण

कोरोना भाइरसको महामारीपछि लगाइएको लकडाउन हटेसँगै नेपाली खेलकुद पनि क्रमिक रूपमा सञ्चालनमा आउने तयारीमा छ। ब्याडमिन्टन र करातेले जेठ अन्तिम साताबाट नै स्वास्थ्य सुरक्षाविधि अपनाएर अभ्यास सुरु गरिसकेका छन्।  

सरकारले भदौ १ बाट स्वास्थ्य निर्देशिका पालना गर्दै समूहमा अभ्यास गर्न सक्ने बताइसकेको छ। कतार विश्वकप २०२२ को छनोट चरणअन्तर्गत घरेलु लेगका खेल खेल्ने तयारीमा रहेको राष्ट्रिय पुरुष फुटबल टोलीका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले भदौ १ बाट नियमित अभ्यास सुरु गर्ने घोषणा गरिसकेका छन्। तर लामो समयपछि खेलाडीहरू अभ्यासमा फर्कंदा चोटको जोखिम पनि ज्यादै हुन्छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल टोली साउन १७ बाट क्वारेन्टिनमा बसिसकेको छ। नेपालले विश्वकप छनोटअन्तर्गत अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध खेल्नेछ। एन्फाले सो खेल बन्द रंगशालामा हुन सक्ने जनाइसकेको छ।

‘हामीले लकडाउनपछि सुचारु भएका युरोपेली लिगका खेलाडीमा धेरैको घुँडामा चोट लागेको देख्यौं। नेपाली खेलाडीमा पनि त्यो नहोला भन्न सकिन्न।  त्यसैले त्यो जोखिम नहोस् भनेर पनि हामी फिटनेस योजना बनाएर क्रमिक रूपमा त्यसलाई लागू गर्छाै।’

‘खेलाडीहरू करिब तीन महिना घरमै बसे पनि उनीहरूले घरमै सामान्य भए पनि नियमित अभ्यास गरिरहेका छन््। साउन १७ बाट ३४ खेलाडीलाई क्वारेन्टिनमा राख्रिएको छ। काठमाडौंमै घर तथा कोठा भएका खेलाडीलाई होम क्वारेन्टिनमा बस्न भनिएको छ भने बाँकी  करिब १४ खेलाडी होटल क्वारेन्टिनमा छन्,’ राष्ट्रिय फुटबल टोलीका फिजियो आविष्कार पुडासैनीले भने, ‘एन्फाको मेडिकल टोलीले लकडाउन अवधिभर पनि खेलाडीको मनिटरिङ गरेको थियो। त्यस क्रममा हामीले कुनै पनि खेलाडीमा चोटको समस्या देखेका छैनांै। अहिले क्वारेन्टिनमा रहेका खेलाडीको तत्काल फिटनेस टेस्ट गर्ने सम्भावना छैन। हामी उनीहरूको पिसिआर रिपोर्ट आएपछि फिटनेस टेस्ट गर्छोैं। खेलाडीहरू लामो समयपछि अभ्यासमा फर्कंदै छन्। त्यसैले खेलाडीमा चोट लाग्ने सम्भावना पनि ज्यादा हुन्छ। हामीले लकडाउनपछि सुचारु भएका युरोपेली लिगका खेलाडीमा धेरैको घुँडामा चोट लागेको देख्यौं। नेपाली खेलाडीमा पनि त्यो नहोला भन्न सकिन्न।  त्यसैले त्यो जोखिम नहोस् भनेर पनि हामी फिटनेस योजना बनाएर क्रमिक रूपमा त्यसलाई लागू गर्छांै।’

यता नेपाल क्रिकेट संघ (क्यान) ले पनि भदौ १ बाट क्रिकेट टोलीका २२ सदस्यलाई क्वारेन्टिनमा राख्दै अभ्यासमा फर्काउने तयारी गरेको छ।  

‘हामी अभ्यासलाई कसरी अघि बढाउने भन्ने छलफलमा छाैं,’ राष्ट्रिय क्रिकेट टोलीका फिजियो विक्रम न्यौपानेले भने, ‘लकडाउन अवधिमा खेलाडीहरूले घरमै बसे पनि आफूलाई फिट राख्न अभ्यासहरू गरेका थिए। तर घरमा गर्ने र मैदानमा गरिने अभ्यासमा धेरै अन्तर छ।’

‘केही साता क्वारेन्टिनमा बसेपछि मात्र टोलीको नर्मल ट्रेनिङ सुरु हुन्छ,’ न्यौपानेले थपे, ‘सुरुआती दिनमा खेलाडीलाई मोबिलिटी र स्ट्रेचिङको अभ्यास गराइनेछ। यसैबिच फिटनेस टेस्ट पनि हुनेछ। हामी सामाजिक दूरी कायम राख्दै अभ्यास गर्नेछाैं। लामो समयपछि मैदानमा फर्कने भएकाले खेलाडीहरूलाई त्यसमा अभ्यस्त हुन केही समय लाग्न सक्छ किनभने लकडाउनपछि खेलाडीहरूले व्यक्तिगत अभ्यास गरे पनि समूहमा अभ्यास गरेका छैनन्। हामी फिटनेस प्लानका साथै खेलाडीहरूको उचित खानपानको समेत योजना बनाइरहेका छाैं। अहिले नेपालले खेल्ने कुनै पनि प्रतियोगिता निश्चित नभए पनि हामीले खेलाडीलाई फिट राखिराख्नका लागि पनि अभ्यास सुरु गर्न लागेका हाैं।’

प्रकाशित: १९ श्रावण २०७७ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App