coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रशिक्षणका लागि पर्खंदै भलिबल

सरकारले भदौ १ बाट स्वास्थ्य निर्देशिका पालना गर्दै अभ्यास सुचारु गर्न सकिने बताइसकेको छ। यससँगै राष्ट्रिय फुटबल टोली र राष्ट्रिय क्रिकेट टोलीले पिसिआर परीक्षणपछि भदौ १ बाटै अभ्यास थाल्ने तयारी गरिससकेका छन्। नेपाल ब्याडमिन्टन संघले जेठ अन्तिम साताबाटै अभ्यास सुरु गरिसकेको छ भने कराते टोलीले पनि प्रशिक्षण सुरु गरिसकेको छ।  

नेपाली पुरुष भलिबल टोली फागुन पहिलो साताबाटै बंगलादेशमा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप २०२० को तयारीमा थियो। तर कोरोना भाइरस महामारीका कारण प्रतियोगिता रद्द भएपछि नेपाली टोलीको पनि प्रशिक्षण बन्द भयो।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट राष्ट्रिय पुरुष तथा महिला भलिबल टोलीको प्रशिक्षण सुचारु गर्न कुनै पत्र प्राप्त नभएको र विश्व भलिबलको प्रशासकीय निकाय फेडरेसन अफ इन्टरनेसनल भलिबल (एफआइबिभी) तथा एसियन भलिबल कन्फेडरेसन (एभिसी) ले कोरोना भाइरस महामारीका कारण प्रतियोगिता स्थगन गरेकाले तत्काल प्रशिक्षण सुरु नहुने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए।  

नेपाल भलिबल संघले लकडाउन खुले पनि तत्काल राष्ट्रिय टोलीलाई प्रशिक्षणमा नबोलाउने भएको छ।  

‘महामारीको अवस्था अहिले टरिसकेको छैन,’ चन्दले भने, ‘त्यसैले अहिले हामीले कुनै पनि टोलीलाई प्रशिक्षणमा बोलाएका छैनांै। साथै तत्कालका लागि तय भएका एभिसीका प्रतियोगिता पनि हालका लागि रद्द भएकाले  कुनै पनि टोलीलाई अहिले प्रशिक्षणमा बोलाउने छैनौं।  नेपाली भलिबलको पुरुष टोलीका अधिकांश खेलाडी तीन विभागीय टोली (त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ) का छन्। राष्ट्रिय महिला भलिबल टोलीमा पनि करिब ८० प्रतिशत खेलाडी विभागीय टोलीमा छन्। हामीलाई प्राप्त जानकारीअनुसार विभागीय टोलीले भदौ १ बाट अभ्यास थाल्नेछ। क्लबहरूले चाहेको खण्डमा सरकारले दिएको स्वास्थ्य निर्देशिकाको पालना गर्दै अभ्यास सुरु गर्न सक्छन्।’

कोरोना भाइरस महामारीकै कारण नेपाल भलिबल संघले जेठका लागि तय राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासमेत रद्द गरेको थियो । चन्दले अवस्था सामान्य भएपछि भने नेपाल भलिबल संघको क्यालेन्डरअनुसार स्थगित भएका घरेलु प्रतियोगिता सुचारु गर्ने बताए। साथै चन्दले हाल राखेपको कभर्डहलमा ब्याडमिन्टन प्रशिक्षण जारी रहे पनि भलिबल प्रशिक्षण सुरु भएमा ब्याडमिन्टन संघसँगको समन्वयमा अभ्यास तालिका मिलाउने समेत बताए।

‘राष्ट्रिय महिला तथा पुरुष टोलीका अधिकांश खेलाडी विभागीय टोलीमा भएकाले उहाँहरूलाई खासै प्रशिक्षणको अभाव नपरेको हुन सक्छ,’ चन्दले भने, ‘महिला टोलीमा भने ३–४ जना खेलाडी कुनेै विभागीय टोली र अन्य क्लबमा पनि छैनन्। हामी सधंै सबै खेलाडीलाई सहयोग गर्न तयार छौं। त्यसका लागि नेपाल भलिबल संघले अहिले सहयोग रकम जुटाउँदै छ। खेलाडी राष्ट्रका गहना हुन्। हामीले राष्ट्रिय टोलीका सबेै खेलाडीलाई परिस्थिति सामान्य बनेसँगै नगदसहित सम्मान गर्ने योजना बनाएका छौं। त्यसका लागि विभिन्न प्रायोजक कम्पनीसँग निरन्तर छलफल जारी छ।’

‘अहिले हामीले कुनै पनि टोलीलाई प्रशिक्षणमा बोलाएका छैनांै। तत्कालका लागि तय भएका एभिसीका प्रतियोगिता पनि हालका लागि रद्द भएकाले कुनै पनि टोलीलाई अहिले प्रशिक्षणमा बोलाउने छैनौं।’

प्रकाशित: १८ श्रावण २०७७ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App