७ वैशाख २०८१ शुक्रबार
खेल

फिटनेस सेन्टर: अझै छैन ग्रिन सिग्नल

एक समय फिटनेस सेन्टर, फुटसल मैदान र विभिन्न खेलकुदका अभ्यास गर्ने स्थानमा बाक्लो उपस्थिति देखिने गरे पनि ती ठाउँमा मानिसहरू पातलिएका छन्। कोरोना भाइरस संक्रमण त्रासका कारण विश्वका अन्य राष्ट्रजस्तै नेपालमा पनि लकडाउनका कारण खेलकुद गतिविधि शून्य छ। लकडाउनका कारण तीन महिना ठप्प खेलकुद बिस्तारै तंग्रने क्रममा छ।  

तीन महिनाको लकडाउन दौरान स्वास्थ्यप्रति जागरूक मानिसका साथै खेलाडीहरूले घरमै सामान्य अभ्यास गरे। गत साता बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न र प्रारम्भिक प्रशिक्षण सुरु गर्न दिने निर्णय गरेको थियो। तथापि खेलकुद गतिविधिमा लगाइएको रोक कायमै छ। जिमहलमा गएर फिटनेस अभ्यास कहिलेबाट सुरु हुन्छ भन्ने अन्योल नै छ। सरकारले जिमहल, फिटनेस सेन्टर  सञ्चानलका लागि ग्रिन सिग्नल दिएको छैन। कोरोना महामारी पैmलिएसँगै गत चैत १० गतेदेखि सरकारले लकडाउन घोषणा गरेको थियो।

यद्यपि अधिकांश फिटेनस व्यवसायीहरूले त्यसभन्दा अगावै चैत सात गतेदेखि नै फिटनेस सेन्टर बन्द गरिसकेका थिए। ‘सरकारले लकडाउन गर्नुभन्दा पहिला नै सजग भएर फिटनेस सेन्टर बन्द गरेको थियो। तर पछिल्लो समय लकडाउन खुलिसकेको छ। सार्वजनिक यातायात र सुपर मार्केटमा  मानिस भीड हुन थालिसकेको छ। तर, फिटनेस सेन्टर र हेल्थ क्लबहरू खोल्नेबारे अभैm सरकारले आधिकारिक रूपमा निर्णय गरेको छैन,’ कालीमाटीको डिभाइन फिजिकल फिटनेस सेन्टरका सञ्चालका दिनेश राजभण्डारीले दुखेसो पोखे। असह्य भएको भन्दै पछिल्ला धेरै जसो फिटनेस सेन्टरले सीमित मानिसका साथ स्वास्थ्य सुरक्षाको विधि अपनाउँदै सञ्चालन गर्न थालेका छन्।  

‘हेल्थ क्लब स्वस्थ नागरिक निर्माण गर्ने थलो हो। जहाँ कोरोनाको उच्च जोखिम छ, ती स्थान खोलिएको छ। तर मानिसहरू नै स्वस्थ बनाई आत्मबल बढाउने क्षेत्रचाहिँ खोलिएको छैन।’

नेपालभरि सुविधा सम्पन्न किसिमका करिब साढे चार सय जिम हल तथा फिटनेस सेन्टर सञ्चालनमा छन्। जसमा जिम हल र जुम्बालगायतका लागि दैनिक औसत दुई सय मानिस अभ्यासका लागि त्यहाँ पुग्ने गर्छन्। ‘असारको पहिलो साताबाट सीमित वर्गलाई लक्षित गरेर धेरै जसो फिटनेस व्यवसायीले सेन्ठर खोलिसकेको छन्। सरकारले अनुमति नदिएकाले ठूलो क्षति भइसकेको छ। अत्यधिक भाडा र कर्मचारीका तलब थेग्न नसकेपछि फिटनेस सेन्टर खोल्न बाध्य भएका छन्। त्यसमा पनि जुम्बा एरोबिक्सहरू त कुनै पनि ठाउँमा सञ्चालन भएका छैनन्,’ राजभण्डारीले प्रस्ट्याइँ छ। जिमहरूमा पनि पूर्ण रूपमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडअनुसार फिटनेस व्यवसायीहरूले सञ्चालनमा ल्याएका छन्।  

जिम गर्न आउने मानिसहरू आपैmँ पनि स्वास्थ्यप्रति निकै सचेत हुने भएकाले पनि महामारीको संक्रमणबाट बच्न उनीहरूले पूर्ण रूपमा स्वास्थ्य सुरक्षा विधि अपनाइरहेको पाइएको छ। ‘यहाँ आउने मानिसहरू आफैं पनि हेल्थप्रति निकै सजग हुनुहुन्छ। लकडाउनपछि जिमहल खोले पनि खर्च निकै बढेको छ। बिहानै एक पटक डिसएन्फेक्सनका काम र स्यानिटाइज गर्छौं। राति जाने समयमा पनि सबै सामान स्यानिटाइज गर्छौ र थर्मोमिटरबाट तापक्रम नापेर मात्र भित्र छिराएका छौं त्यसैल पनि खर्च बढेको छ,’ राजभण्डारीले भने, ‘यहाँ आउने सबैले जिम गर्नुभन्दा पहिले र पछाडि पनि आपैmं स्यानिटाइज गर्नुहुन्छ। सामाजिक दूरी कायम गर्नुहुन्छ।’

कोरोनासँग डराएर हैन अभ्यस्त भएर र स्वस्थ रहेर अगाडि बढ्नुपर्ने आवश्यक रहेको नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्षसमेत रहेका राजभण्डारीले बताए। फिटनेस सञ्चालन रोक्नु भनेको नेपालभरिमा यस व्यवसायमा आश्रित करिब ३० हजार मानिस समस्यामा पार्नु हो। लामो समयको लकडाउनका कारण उनीहरू यसै पनि समस्यामा परेका छन्। सपिङ सेन्टरमा ट्रलि गुडाएर हिँड्नुभन्दा जिमखाना, जिमहल, प्रशिक्षण केन्द्र र विभिन्न हेल्थ क्लबमा अभ्यास गर्नु सुरक्षित हुने यस व्यवसायमा आबद्ध राजभण्डारीको भनाइ छ। सामाजिक दूरी कायम गर्दै सबै स्वास्थ्य सुरक्षा विधि अपनाउँछौं भन्दा पनि हेल्थ सेन्टर खोल्न सरकारी निकायले चासो नदिएकाले उनले रोष प्रकट गरे।

सरकारले भाद्रदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणलगायत खोल्ने भने पनि त्यसैसँगै निकट रहेको हेल्थ क्लबबारे भने केही उल्लेख गरेको छैन। ‘हेल्थ क्लब स्वस्थ नागरिक निर्माण गर्ने थलो हो। यहाँ व्यावसायिक खेलाडी पनि आबद्ध छन्। यसलाई सरकारले किन निरुत्साहित गर्न खोजिरहेको छ भन्दै उनले प्रतिप्रश्न गरे। जहाँ कोरोनाको उच्च जोखिम छन्, ती स्थान खोलिएको छ। तर मानिसहरू नै स्वस्थ बनाई आत्मबल बढाउने क्षेत्रचाहिँ खोलिएको छैन,’ डिभाइन फिजिकल फिटनेस सेन्टरका सञ्चालक राजभण्डारीले भने ‘हामी कोरोनासँग डराएर समस्या सामाधान हुँदैन, अभ्यस्त हुनुपर्छ। त्यसका लागि स्वस्थ बन्नुपर्छ।’  

फिटनेस सेन्टरमै आएर मात्र शरीर स्वस्थ नहुने उनले बताए। घरमा नियमित अभ्यास गरे पनि हुन्छ, तर हेल्थ क्लबमा आउँदा चाहिँ एकअर्काप्रति मोटिभेट भएर नियमित अभ्यास गर्ने बानी बस्छ। ‘यहाँ आएपछि मानिसहरू एकअर्कामा मोटिभेट भएर स्वास्थ्यप्रति थप सचेत हुन्छन्। नियमित अभ्यास गर्दा उनीहरूको इम्युनिटी पावर पनि बढ्छ,’ उनले भने। राजभण्डारी लकडाउनभन्दा अगाडि दैनिक दुई सय जनाले अभ्यास गर्ने गरेको बताउँछन्। तर अहिले जिम हल खोलिए पनि दैनिक मुस्किलले ४० जनाले अभ्यास गर्ने गर्छन्।  

सरकारले पनि हेल्थ क्लब खोल्न प्रोत्साहित नगरेकाले पनि मानिसहरू त्यहाँसम्म आउन डराएको उनको बुझाइ छ। तथापि शरीर स्वस्थ राखे मात्र रोगसँग लड्न सकिने उनले औंल्याए। त्यसका लागि हिँड्नु या घरमै अभ्यास गर्न पनि सकिन्छ। जसरी हुन्छ स्वस्थ्य शरीर हुनुपर्दछ। त्यसैले पनि हेल्थ क्लब या प्रशिक्षण केन्द्र खोल्नका सरकारले प्रोत्साहित गर्नुपर्ने राजभण्डारीले सुझाए।

प्रकाशित: १६ श्रावण २०७७ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App