coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

फिफा र एएफसीको गाइडलाइनमा प्रशिक्षण

फाइल तस्बिर।

लामो समयको लकडाउनपश्चात् नेपाली खेलकुद बिस्तारै पुरानै अवस्थामा फर्कने क्रममा छ। अन्य देशले अपनाएजस्तै व्यक्तिगत अभ्यासबाट सामूहिक अभ्यासमा फर्कने शैली नेपाली खेलकुदले पनि अनुसरण गरिरहेको छ। केही संघले जेठको अन्तिम साताबाटै स्वास्थ्य सुरक्षासहित अभ्यास सुरु गर्दा स्वस्फुर्त रूपमा व्यक्तिगत अभ्यास पनि सुरु भइसकेका छन्।  

गत साता बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न र प्रारम्भिक प्रशिक्षण सुरु गर्न दिने निर्णय गरेको थियो। यससँगै अखिल नेपाल फुटबल संघ (एन्फा) कतार विश्वकप २०२२ को छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पनि भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्ने घोषणा गरिसकेको छ। यसका लागि एन्फाले यसअघि नै घोषणा गरेको प्रारम्भिक टोलीका ३४ जना खेलाडीलाई साउन १६ गतेभित्रमा काठमाडाैंमा आइसक्न निर्देशन दिइसकेको छ।  

राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूधन उपाध्यायले साउन १६ गतेभित्र ३४ खेलाडीमा सम्पर्कमा आइसक्न निर्देशन दिइएको बताए।

‘हाल १८–१९ जना मात्र खेलाडी काठमाडौं उपत्यकामा छन्। हामीले उपत्यकाबाहिर रहेका सबै खेलाडीलाई साउन १७ गतेबाट क्वारेन्टिनमा राख्नेछौं। उपत्यकामा कोठा भएका  करिब १४ खेलाडीलाई होम क्वारेन्टिनमा बस्न निर्देशन भइसकेको छ। तीन विभागीय टोलीका खेलाडी विभागमै बस्नेछन् भने बाँकी रहेका खेलाडीलाई उपत्यकाका विभिन्न होटलमा क्वारेन्टिनमा राखिनेछ,’ उपाध्यायले भने त्यसका लागि सुबिधा सम्पन्न होटलहरु खोज्ने कार्य जारी छ।’

उपाध्यायले खेलाडीलाई क्वारेन्टिनमा राखिएको एक सातापछि पिसिआर परीक्षण गरिने र त्यसपछि मात्र एन्फा मुख्यालयमा रहेका होस्टलमा राखिने बताए।  

‘उपत्यकामा कोठा भएका  करिब १४ खेलाडीलाई होम क्वारेन्टिनमा बस्न निर्देशन भइसकेको छ। तीन विभागीय टोलीका खेलाडी विभागमै बस्नेछन् भने बाँकी रहेका खेलाडीलाई उपत्यकाका विभिन्न होटलमा क्वारेन्टिनमा राखिनेछ।’

‘हामीले ३४ खेलाडी, टिम प्रशिक्षक, व्यवस्थापक,फिजियोथेरापिस्टको मात्र नभई चालक, कुक, क्लिनरका साथै मैदानमा आउने अन्य कर्मचारी गरी ७० जनाको पिसिआर परीक्षण गर्न आग्रह गरेका छांै,’ उपाध्यायले थपे, ‘पिसिआर परीक्षणको नतिजापछि सबैलाई एन्फा मुख्यालयमा रहेको होस्टलमा राखिनेछ र भदौ १ बाट नियमित अभ्यासमा फर्काइनेछ। वर्षाको मौसम भएकाले हाल दैनिक अभ्यास एन्फाको मैदानमा नै गरिनेछ।’

उपाध्यायले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिन हाल स्विडेनमा भएकाले उनको अनुपस्थितिमा सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीको प्रशिक्षण सम्हाल्नेछन्।  

‘हामी अभ्यासका लागि फिफा र एएफसीको गाइडलाइन फलो गर्नेछांै,’ उपाध्यायले थपे, ‘सो गाइडलाइनअनुसार ठूलो समूहमा अभ्यास गर्ने अनुमति छैन। त्यसैले हामी १०–१२ जना खेलाडीको छुट्टाछुट्टै समूहमा विभाजन गर्दै विभिन्न सिफ्टमा अभ्यास सुचारु गर्नेछौं। मुख्य प्रशिक्षक कालिन हाल नेपालबाहिर हुनुहुन्छ। हामीले भदौ १ बाट अभ्यास सुरु गर्ने भन्दै उहाँलाई जानकारी गराइसकेका छौं। अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै उहाँ नेपाल आउने जानकारी हामीले पाएका छांै। कालिन नआउँदासम्म राष्ट्रिय टोलीको प्रशिक्षण सहायक प्रशिक्षण किरण श्रेष्ठले सम्हाल्नेछन्।  

एन्फाले फागुनमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग समाप्तिपछि ३४ खेलाडीलाई समेट्दै प्रारम्भिक टोलीको घोषणा गरेको थियो। करिब एक साता प्रशिक्षण भए पनि कोरोना भाइरस महामारीको कारण देखाउँदै खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएसँगै एन्फाले पनि राष्ट्रिय टोलीको अभ्यास रोक्ने निर्णय गरेको थियो।

नेपालले चैतमा चाइनिज ताइपेई र अस्ट्रेलिया तथा जेठमा जोर्डनविरुद्ध घरेलु मैदानमा विश्वकप छनोटअन्तर्गतको होम म्याच खेल्ने तालिका भए पनि विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउन लागू भएसँगै खेलहरू रोकिएका थिए। जुन खेल अब नेपालले असोज २२ मा चाइनिज ताइपेई र असोज २७ गते अस्ट्रेलियाविरुद्ध खेल्नेछ।  

छनोट चरणमा हालसम्म नेपालले पाँच खेलमा १ जित हात पारेको छ भने ४ खेल गुमाइसकेको छ।

प्रकाशित: १४ श्रावण २०७७ ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App