२० श्रावण २०७७ मंगलबार
खेल

न्यून लगानीमा थेगिएको खेलकुद

नेपाली खेल क्षेत्र पूर्ण रूपमा व्यायसायीकरण हुन नसके पनि आममानिस भने आफ्नो फिटनेसप्रति जागरुक बनिरहँदा स्वस्थ नागरिक निर्माणसँगै देशका लागि पदकसमेत पनि प्राप्त भइरहेको छ।

एक समयमा फिटनेसका लागि दैनिक कसरत गर्ने स्वस्थ नागरिक नै खेलाडी बने र पछि देशका पदकधारी बनिसकेका कयौं उदाहरणहरू पनि छन्। आफ्नो शौख पूरा गर्न फिटनेस सेन्टर, मल्टिपरपोज ट्रेनिङ सेन्टर र विभिन्न पार्कमा अभ्यास गर्ने उनीहरूका दैनिकी नै लक्ष्य बनिसकेका छन्। पछिल्ला समय प्राइभेट सेक्टरबाट देशका विभिन्न सहरकेन्द्रित खेल हब निर्माण हुने क्रम निकै बढ्दो छ र यसले न्यून लगानी भएको नेपाली खेलकुदलाई थोरबहुत टेको मिलेको छ। विश्वका धेरै राष्ट्रले खेलकुदलाई उद्योगको रूपमा विकास गर्दा छिमेकी राष्ट्रसँगको मित्रता गाँस्ने माध्यमसमेत बनाएका छन्।

राजनीतिक रूपमा बेलाबेलामा ठूलो युद्धकै सँघारमा पुग्ने गरेका उत्तर कोरिया र दक्षिण कोरियालाई पुनः वार्ताको स्थितिमा फर्काउने वातावरण खेल ले नै गरेको थियो। तेक्वान्दो खेलको जन्मदाता कोरियाले सुरुआतमा परम्परागत तेक्वान्दो (आइटिएफ) र आधुनिक तेक्वान्दो (डब्लुटिएफ) लाई एकता प्रक्रिया सुरु अगाडि बढाएसँगै खेल क्षेत्रबाट दुई देशबीचको सम्बन्ध जोड्ने प्रयास गरेको थियो। सन् २०१८ मा सम्पन्न विन्टर ओलम्पिकमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्ना बहिनी किम यो जङलाई आफ्ना सद्भावना दूतका रूपमा दक्षिण कोरिया पठाएर मित्रताको हात अघि बढाएका थिए र कोरियाली एकीकरण झन्डामा रहेर दुवै देशका खेलाडीले प्रतिस्पर्धा पनि गरे।

पछिल्ला समय खेलकुदका ठूला प्रतियोतिामा उत्तर र दक्षिणले संयुक्त आयोजनाको दाबेदारी पनि प्रस्तुत गर्ने गर्छन् र यसले उनीहरूलाई थप नजिक बनाउने पुलको काम गरेको छ। तितो सम्बन्धमा रहेका देशलाई एकै ठाउँमा उभ्याउने काम खेल क्षेत्रले गरेका छन्। विश्वका ठूला राष्ट्रबीच आफूलाई शक्तिशाली साबित गर्न विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकमा शीर्षता हासिल गर्ने होडबाजी नै चल्ने गर्दछ र यसले खेलकुदको क्षेत्रलाई थप फराकिलो बनाएको छ। खेल क्षेत्रलाई विभिन्न राष्ट्रले उद्योगको रूपमा पनि अगाडि बढाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीका बीच नै खेल उद्योग फर्काउँदै आफ्ना नागरिकको आत्मबल बढाउने प्रयास गर्नुले पनि खेलक्षेत्रको महत्व स्पष्ट झल्कन्थ्यो।

थोरै खेलले मात्र सम्बन्धित अन्तर्राष्ट्रिय महासंघबाट ग्रासरुट र खेल विकासका लागि बजेट पाउने गर्छन् र पाएकाले पनि सही सदुपयोग गर्न सकेका छैनन्।  

एक तथ्यांकअनुसार अमेरिकीले वार्षिक पाँच सय बिलियन अमेरिकी डलर खेल उद्योगबाट आम्दानी गर्दछ। सन् २०२२ सम्म खेल उद्योगबाट ६१४.१ बिलियन अमेरिकी डलर आम्दानी बढाउने अमेरिकाको लक्ष्य छ। युरोप, अमेरिका र एसियाली राष्ट्रसँगै दक्षिण एसियाली राष्ट्र भारतमा पनि खेललाई ठूलो उद्योगका रूपमा विकास गर्न थालिएको छ। विश्वकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट सञ्चालन हुने भारतमा पछिल्ला समय अधिकांश खेलको व्यावसायिक लिग अवधारणा अघि सारिएको छ।  

यद्यपि, नेपालमा भने सरकारले अनुत्पादित क्षेत्रको रूपमा चित्रित गर्ने गरेको छ। त्यसमा पनि खेल क्षेत्रमा छुट्याइएको कुल बजेटमा मध्ये ८० प्रतिशत प्रशासनिक क्षेत्रमा खर्च हुने गर्दछ। त्यसैले खेल व्यावसायिकता परै जाओस् सामान्य ग्रासरुट कार्यक्रम पनि सञ्चालन हुने अवस्था नेपाली खेलकुदले अपनाउन सकेको छैन। थोरै खेलले मात्र सम्बन्धित अन्तर्राष्ट्रिय महासंघबाट ग्रासरुट र खेल विकासका लागि बजेट पाउने गर्छन् र पाएकाले पनि सही सदुपयोग गर्न सकेका छैनन्। नेपालमा प्राइभेट क्षेत्रबाट क्रिकेटको मात्र व्यवसायिक खेल आयोजना हुने गर्दछ।

तर अन्य खेलको भने व्यावसायिक उद्देश्यले आयोजना गर्ने प्राइभेट सेक्टरले आँट गरेका छैनन्। न्यून लगानी, कमजोर खेल संरचना र अन्य देशको तुलना खेल व्यावसायिकतामा प्रवेश गर्न नसक्नु नै बर्सेनि नेपाली खेलकुद पछि पर्नुको कारण हो। त्यसैले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलुकद प्रतिस्पर्धामा पनि नेपाली खेलाडीको प्रदर्शन कमजोर बन्दै गइरहेको छ। अभैm पनि ओलम्पिक खेल्ने नेपाली खेलाडीको सपनामा वाइल्ड कार्ड सहारा लिनुपर्ने बाध्यता छ। नेपालका दुई खेलाडी दीपक विष्ट र संगीना वैद्यले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका छन्।

पछिल्ला समय खेलाडीले प्राप्त गर्ने वरीयता पनि ओलम्पिक प्रतिस्पर्धाको माध्यम बनेको छ, तथापि अन्तर्राष्ट्रिय खेलमा उनीहरूको सहभागिता न्यून भएकाले वरीयताको आधारमा ओलम्पिक प्रतिस्पर्धा आशा पनि झीनो हुनेछ। प्राइभेट ट्रेनिङ सेन्टर, स्थानीय प्रशिक्षण केन्द्र र प्राइभेट विद्यालयबाट थेगिएको नेपाली खेलकुदको विकास कति समयसम्म अघि बढ्ने हो हेर्न बाँकी नै छ।   

प्रकाशित: १४ श्रावण २०७७ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App