coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पुरानो साइकलबाटै पदक

बिहानै चार बजेको झिसमिसे उज्यालोमा बिस्तारै कोठाको ढोका खोलेर उनी दौडिन पुग्थे। धादिङका मल्ल परिवारका तीन सन्तानमध्ये माइला लक्ष्मणको हरेक बिहानी यसरी बित्थ्यो। लक्ष्मण उनै खेलाडी हुन् जसले गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई दुवाथलनतर्फ रजत पदक दिलाएका थिए। मध्यमवर्गीय उनको परिवार स्वयम्भूको एउटा घरमा डेरामा बस्थ्यो, जहाँ लक्ष्मण सानै उमेरदेखि दौडतर्फ चासो राख्थे। बिहानी सत्र स्वयम्भूमा देखिने मानिसहरूको अभ्यास प्रभाव उनमा पनि परेको थियो।  

उनलाई सानै उमेरदेखि दौडमा खुब रुचि थियो, त्यसैले उनी बिहानै एउटा गन्जी र जर्सीको कट्टु लगाएर दौडिने गर्दथे। सुरुआतमा परिवारले गाली गर्छन् की भन्ने डर थियो उनलाई। त्यसैले उनी सुरुआती चरणमा अभ्यासमा निक्लँदा बिस्तारै कोठाको आग्लो निकालेर बाहिरिने गर्थे। सुरुआती चरणमा आफ्नो शरीरलाई फिट राख्न दौडिन थालेका लक्ष्मणको त्यही दैनिकी नै लक्ष्य बनिसकेको उनलाई पनि पत्यै भएन। उनमा खेल क्षेत्रतर्फ चासो भने सानै उमेरदेखि थियो, त्यसैले त उनी पत्रिकाको अन्तिम पाना सधैं नियाल्थे। जहाँ दक्षिण एसियाका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको चर्चा खुब सुनेका थिए, उनले।  

पछि उनले पनि वैकुण्ठ मानन्धरजस्तै दौडबाट केही गर्न सक्छु भन्ने योजना बनाए। ‘मेरो घरपरिवारमा कोही पनि खेलक्षेत्र लागेका थिएनन्। तर म सानैदेखि फुटबल खेल्थेँ, अन्य खेलतर्फ पनि चासो थियो,’ लक्ष्मणले भने, ‘त्यसैले पत्रिकामा खेलसमाचार खुब हेर्थें, जहाँ वैकुण्ठ गुरुहरूको नाम आइरहन्थ्यो। मलाई पनि दौडबाट केही गर्न सकिन्छ भन्ने लाग्यो र फुटबल छाडेर दौडिने थालें।’ उनी स्वयम्भू क्षेत्रनजिकै रहेको गीतामाता विद्यालयमा पढ्थे। जहाँ उनकी सहकर्मी थिइन्, १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णविजेता सन्तोषी श्रेष्ठ। उनी पुराना धावकहरूकै प्रेरणाबाट दौडमा भविष्य खोज्न थालिसकेका थिए।

स्वयम्भूबाट उनी साइकलमै कलेज पढ्न जावलाखेल जान्थे, जुन उनलाई दुवाथलनको खेलाडी बन्न राम्रो माध्यम बन्यो।

साथै परिवारले पनि खेलमा खासै बन्देज नगरेकाले उनलाई दौडमा लाग्न सहजता मिल्यो। ‘विद्यालयस्तरबाटै स–साना दौडका प्रतिस्पर्धा गर्थें र जितें पनि। त्यस समय बुबाआमा खुब खुसी हुनुहुन्थ्यो। त्यसले झन् मलाई ठूलो प्रेरणा मिल्यो,’ लक्ष्मणको स्पष्टोक्ति भाषा थियो। उनी स्वयम्भूको दौडबाट विद्यालयस्तरीय प्रतियोगिता, रोड रेस हुँदै दुवाथोलनबाट देशको जर्सी लगाउँदै स्वर्ण पदक जित्न पनि सफल भए। एक समयका दौडका राम्रो खेलाडी लक्ष्मणको यात्रा एकाएक यात्रा फेरियो। उनी अहिले दुवाथोलनमा नेपालका शीर्ष खेलाडी छन्।

दुवाथोलनको यात्रा
वि.सं. २०६२ सालमा गीतामाता स्कुलबाट एसएलसी दिएपछि उनी लगातार दशरथ रंगशाला धाउन थाले। रंगशालामा दौडिने क्रममा उनले ट्रायाथोलन संघका वर्तमान अध्यक्ष नीलेन्द्रराज श्रेष्ठसँगको कुराकानी भइरह्यो। ‘नीलेन्द्रराज श्रेष्ठ सरले दुवाथोलनमा लाग्नुपर्छ भन्नुभयो। विचार गर्दा मलाई पनि ठीकै लाग्यो, त्यसैले नयाँ यात्रा गरें,’ उनले सम्झिए। श्रेष्ठको सल्लाहमा उनी दुवाथोलनतर्पm भविष्य खोज्न थाले र सफल पनि भए। गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले रजत पदक जितेका थिए। उनी नेपालकै हिमाल टमाटासँग कुल ५५ सेकेन्ड जतिले पछि परे। त्यसअघि भएको आठौं राष्ट्रिय खेलकुदमा टमाटालाई हराएका लक्ष्मणले सागमा भने उनीसँग पछि परे। दुवाथलन दौड र साइक्लिङको समिश्रण भएको खेल हो।

स्वयम्भूबाट उनी साइकलमै कलेज पढ्न जावलाखेल जान्थे, जुन उनलाई दुवाथलनको खेलाडी बन्न राम्रो माध्यम बन्यो। त्यहाँबाटै उनी दौडको राम्रा खेलाडी बने। उनले मध्यमाञ्चलबाट पाँचौं राष्ट्रिय खेलकुदमा दौडतर्पm दुईवटा (पाँच र १० किलोमिटरमा) रजत जितेका थिए। उनी मध्यमवर्गीय परिवारका भएकाले खेलतर्फ लागि रहन सहजता थिएन। जसोतसो परिवारले उनको लक्ष्यमा साथ दियो। घरको समस्याबारे उनी राम्रो जानकार थिए। ‘बुबाआमाको कमाइले कोठाभाडा र खानै ठिक्क हुन्थ्यो। हामी तीन सन्तान थियौं, त्यसैले  मलाई पनि धेरै समस्या पैदा गर्न मन थिएन,’ लक्ष्मण भन्छन्।  

खेल करियरलाई थप अगाडि बढाउन उनी २०६६ सालमा एपिएफमा आबद्ध भए। त्यहाँबाट उनले छैटौं राष्ट्रिय खेलकुदमा पनि दौडबाट दुई विधातर्फ रजत पनि जिते। उनी सानै उमेरदेखि दौडिने गर्थे, पछि साइकल पनि उनको दैनिकी बनेकाले दुवाथोलनको राम्रो खेलाडी बन्न उनलाई सहजता मिल्यो। सातौं राष्ट्रिय खेलकुदमा पनि लक्ष्मणले दुवाथोलनतर्फ रजत पदक जिते र यस पटक पनि उनलाई रजत पदकले छाडेन। ‘मैले छोटो समयमा नै दुवाथोलनमा राम्रो गर्न सकें,’ उनले भने, ‘सातौं खेलकुद दुवाथोलनतर्फ दोस्रो प्रतियोगितामा थियो, तर पनि सफलता प्राप्त गरें। आठौंमा स्वर्ण नै जितेर सुधार गरेको थिएँ। तर, अन्तर्राष्ट्रिय प्रतियोगिता (१३औं साग) मा भने पराजित भएँ।’  

ट्रायथोलन संघले सागमा पुरानो साइकलबाट प्रतिस्पर्धा गराएको थियो र नयाँ साइकल आउने भने पनि अन्तमा पुरानैबाट प्रतिस्पर्धा भयो। ‘त्यति बेला पुरानो साइकलबाट प्रतिस्पर्धा गरें। संघले नयाँ साइकल आउँछ भनेको थियो, तर आएन,’ लक्ष्मणले भने, ‘आर्मीको खेलाडी भएकाले हिमाललाई विभागले साइकल ल्याइदियो, त्यसैले पनि उनलाई केही सहज पनि भयो। पुरानो साइकल कति बेला बिग्रन्छ भन्ने डरैडरले १३औं सागमा राम्रो गर्न सकिनँ।’ तर, स्वर्ण पदक देशमै सुरक्षित भएकाले उनी खुसी छन्। तथापि व्यक्तिगत हिसाबले पनि उनी प्रदर्शनबाट खुसी हुन सकेनन्।

सागमा पदक जितेबापत सरकारले दिएको पुरस्कार रकम उनले काभ्रेस्थली बनिरहेको घरमा निर्माणमा सहयोग गरेका थिए। ‘तीन दशकभन्दा बढी समय बुबाआमाहरू भाडामा बस्नुभयो। उहाँहरूले दुःखले जोड्नु भएको सपनामा पुरस्कार रकम थपिदिएँ। अहिले आफ्नै घर बनिसकेको छ, त्यहाँ हामी भर्खरै सरेका छौं। एउटा सपना त पूरा भयो, अब दोस्रो सपना पूरा गर्न लागिरहेको छु,’ लक्ष्मण भन्छन्। १३औं सागको त्यो हार उनको लागि थप नयाँ लक्ष्य बनेको छ। जुन लक्ष्यलाई दैनिकी बनाएर उनी बिहानैदेखि अभ्यासमा डाँडाकाँडा, खोल्सा र जंगल चहार्छन्।      

एसियन गेमको लक्ष्य
१३औं सागमा पूरा नभएको सपना १४औं सागमा प्राप्त गर्ने लक्ष्मणको अठोट छ। त्यसैले पनि हरेक दिन आफ्नो अभ्यासलाई निरन्तरता दिइरहेका छन्। कोरोना महामारी नफैलिएको भए उनी र हिमाल टमाटा पावर म्यान प्रतियोगिताका लागि मलेसिया हुन्थे। तर पनि उनले आफ्नो अभ्यासलाई कुनै दिन रोकेका छैनन् र साइकल लिएर उपत्यकामाथिका डाँडाकाँडा हानिन्छन्। लकडाउनको समयमा धेरैजसो खेलाडी घरमै सामान्य अभ्यास गर्न बाध्य भए। तीन–चार महिनाको कडा लकडाउनमा पनि लक्ष्मणले अभ्यासलाई निरन्तरता दिए। सुरुआती एक महिना भने घरमै बनाएको अभ्यास गर्ने थलोमा उनी अभ्यस्त भए। ‘१४औं सागमा स्वर्ण जित्ने सपना छ। साथै एसियन गेममा पनि प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छु। त्यसैले तयारी गरिराखेको छु,’ लक्ष्मणले आफ्नो योजना सुनाए।  

एक महिना उनी घरमै वार्म अफ र थोरै दूरीमा दौडिने गर्थे। एक महिनापछि भने उनी उपत्यकावरिपरि रहेका डाँडामा माउन्टेन बाइकको अभ्यासमा लागे। अहिले पनि उनी बिहानै साइकल लिएर अभ्यासकै लागि उपत्यकाका डाँडाकाँडा चहार्छन्। ‘यति दूरी अभ्यास गर्छु भन्ने छैन। मौसमअनुसार रोड या डाँडाकाँडा साइक्लिङ गर्छु। मौसमअनुकूल नभएको समय घरमै पनि अभ्यास गर्छु,’ लक्ष्मण भन्छन्। उनी सशस्त्र प्रहरी बलमा आबद्ध छन्। ११ वर्ष सशस्त्रमा बिताइसकेका उनी हाल सहायक हवलदारसमेत हुन्। विभागको पनि साथ पाएकाले लक्ष्य प्राप्तिका लागि आफू निकै प्रोत्साहित भएको उनको बुझाइ छ।    

विभेद नीतिप्रति दुःखसो  
हरेक खेलमा गर्न सके नेपालमा भविष्य भएको लक्ष्मण जोड दिन्छन्। सरकार र खेलसम्बन्ध निकायको भर प-यो भने चाहिँ कठिन हुने उनको बुझाइ छ।  

‘एउटा खेलाडीले जीवनभर पदक र नतिजा दिइरहँदा हाइहाई हुन्छ। तर, उसको खेलजीवनपश्चात् सुरक्षाको रणनीति सरकार र खेल निकायसँग छैन। त्यसैले खेलाडी आपैmँले पनि खेल करियरपश्चात् के गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘तर, नेपालमा बिस्तारै खेलाडीलाई खेलमै लागिरहने माहोल बन्दै छ। खेल व्यावसायिकता तथा प्राइभेट सेक्टर साथले राम्रो भइरहेको छ। संघहरूको सक्रियता र सरकारले पुरस्कार राशि बढाइरहँदा खेलाडीलाई हौसला मिलेको छ।’ तर, सरकारले बेलाबेलामा खेलाडीमाथि गरेको भेदभावका कारण उनी दुःखी छन्। सरकारले सागमा स्वर्ण विजेतालाई मात्र प्रोत्साहन भत्ता दिइरहेको छ। आखिर रजत र कांस्य पनि पदक नै हो, त्यसका लागि पनि खेलाडीले वर्षौंदेखि पसिना बगाएका हुन्छन्। केही खेलाडी त स्वर्णनजिक पुगेर प्राविधिक त्रुटिका कारण पराजय भोगेका छन्।  

‘रजत पनि पदक नै हो, कि त्यति बेला पदकतालिकामा रजत या कांस्यलाई गणना गर्न हुँदैनथ्यो। सबै खेलाडीले त्यति नै मिहिनेत र समय खर्चेका हुन्छन्। क्षमतावान् खेलाडी पनि प्राविधिक कारणले स्वर्णबाट चुकेका यथार्थ छन्, सरकारको त्यो विभेदकारी प्रवृत्तिले ती खेलाडीलाई हतोत्साहित गर्ने काम गरेको छ,’ लक्ष्मणले दःुखसो पोखे। जस्तो सुकै अवस्था आए पनि उनी साइकलप्रतिको मोह र लक्ष्य प्राप्तिमा एक इन्च पनि बिचलित भएका छैनन्। ‘आफ्नो सबैभन्दा प्यारो साइकल हुन्छ। यसले नै मेरो लक्ष्यमा साथ दिन्छ,’ उनले भने।

साइकल रेसमा उनका अविस्मरणीय पल पनि छन्। त्यस्तैमध्येको एक हो नेपालको लामो ‘वालिङ १०० किमी’ रेस।

’प्रतियोगिता हुँदै थियो। त्यहाँका स्थानीयले त्यो रुट मार्किङ गरेको चिन्ह्र नै हटाइदिएछन्,’ उनले मुस्काउँदै सुनाए, ’अनि समस्या के भयो भने पहिलो र दोस्रो पछि आउने हामी राइडरहरु अलमलमा प-यौं। अब देब्रे जाने कि दाहिने? त्यसमा तेस्रो पोजिसनमा रेस त सकेँ ६ घन्टा ४२ मिनेट जतिमा तर आयोजकले हामीलाई डिस्क्वालिफाइ गर्दियो।’ उक्त रेस सम्झँदा उनलाई अझै नमीठो लाग्छ।

तर, त्यसभन्दा नमज्जाचाहिँ साइकल चढ्नेलाई अरु सवारीसाधन चढ्नेले गर्ने व्यवहारबाट हुने गर्छ। साइकल लिएर सडकमा निस्किँदा साइड नदिने र हेयको हिसाबले गर्ने व्यवहारबाट आजित छन् उनी। उनी मात्र होइन, साइकललाई हेर्ने धेरैमा यस्तै दृष्टिदोष छ।

प्रकाशित: १२ श्रावण २०७७ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App