coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इन्टर दोस्रो स्थानमा

रोमेलु लुकाकुको दुई गोल मद्दतमा आइतबार इन्टर मिलानले घरेलु टोली जिनोआमाथि ३–० को सानदार जित निकाल्दा इटालियन सिरी ‘ए’ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।  

जित निकालेको इन्टरले नवौं उपाधिनजिक रहेको युभेन्टससँग अंकदूरी घटाएको हो। एक खेल कम खेल्दा युभेन्ट्स इन्टरभन्दा चार अंकले अगाडि छ। जित निकालेको इन्टरको ३६ खेलबाट ७६ अंक छ भने युभेन्ट्सको ३५ खेलबाट ८० अंक  छ। साम्पडोरियाविरुद्धको खेलमा जित निकाले युभेन्ट्सले नवौं उपाधि उचाल्नेछ।  यसअघि रोमा र फियोरिन्टिनासँग बराबरी खेल्दै इन्टरले अंक बाँडेपछि उपाधि होड कठिन भएको थियो।  इन्टर एट्लान्टाभन्दा एक अंकले मात्र अगाडि रहँदै दोस्रो स्थानमा उक्लिएको हो।  

‘स्वाभाविक खेल देखाउन नसक्दा अघिल्ला दुई खेलमा अंक गुमाउन पुग्यौं,’ दोस्रो स्थानमा उक्लिएको इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘बारम्बार पाएका अवसरलाई सदुपयोग गर्न चुकेका थियौं। जिनोआसँगको खेलमा भने सुधारिएको प्रदर्शन गर्न सक्यौं। खेलाडीले  अघिल्ला खेलमा भन्दा राम्रो र अवसरलाई भरपूर सदुपयोग गरे।’

‘उपाधि उचाल्न अब सम्भव छैन। तर धेरेभन्दा धेरै अंक बटुल्दै लिग समापन गर्ने लक्ष्य हामीले लिएका छौं,’ इन्टरका प्रशिक्षक कोन्टेले थपे।

खेलमा भ्रमणकारी टोलीले जिनोआमाथि सुरुआतबाट नै दबाब दिएको थियो। गोलका लागि पहिलो मिनेटबाट नै प्रयास गरेको इन्टरले ३४औं मिनेटमा मात्र अग्रता लिन सफल भएको थियो। लुकाकुले गोल गर्दै टोलीको खाता खोलेका थिए भने ८३औं मिनेटमा एलेक्सिस सान्चेजले टोलीका लागि दोस्रो गोल गरेका थिए।  दोस्रो हाफको इन्जुरी समयमा लुकाकुले गोल थप्दै टोलीको जित सुनिश्चित गर्दा इन्टरलाई तीन अंक हात लागेको थियो। सबै खाले खेल गरेर २९ खेल खेलेका २७ वर्षीय लुकाकुले आइतबार दुई गोल गर्दा जारी सिजनमा उनको २३ गोल पूरा भएको छ।  

‘व्यक्तिगत हिसाबमा म निकै खुसी छु तर टोलीको हिसाबमा हामीले सोचेजस्तो नतिजा निकाल्न सकेनौं,’ डेब्यु सिजनअन्तर्गत सर्वाधिक गोल गर्ने सूचीको तेस्रो स्थानमा रहेका लुकाकुले भने।  यसअघि हंगेरीका इस्टाभानले डेब्यु सिजनमा २६  तथा ब्राजिलियन रोनाल्डोले २५ गोल गरेका थिए।  

सिरी ‘ए’ अन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा नेपोलीले सासौलोलाई २–० हरायो। नेपोलीको जितमा एल्सिड हाइसाजले आठौं तथा एलोनले इन्जुरी समयमा गोल गरेका थिए। जितपछि नेपोलीको ३६ खेलबाट ५९ अंक भएको छ भने पराजित सासौलो ४८ अंकका साथ नेपोलीभन्दा एक स्थान मुनि ८औं स्थानमा छ। लिगकै अर्को खेलमा ब्रेसिकाले घरेलु मैदानमा पार्मालाई २–१ को नतिजा सुम्पियो। 

प्रकाशित: १२ श्रावण २०७७ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App