coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सदस्यसचिव नियुक्ति: सिलवालमाथि कारबाहीको माग गर्दै उजुरी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव पदका लागि आवदेन दिएका रमेशकुमार सिलवालमाथि कारबाहीको माग राख्दै उजुरी दर्ता भएको छ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा भ्रष्टाचारको आरोप लागेका सिलवालमाथिको छानबिन पूरा नभएसम्म राखेप सदस्यसचिव पदका लागि उनको आवेदन खारेज गर्न उजुरी परेको छ। अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष जनक बर्तौलाले आइतबार युवा तथा खेलकुद मन्त्रालयमा सिलवालमाथि कारबाहीको माग राख्दै उजुरी दर्ता गराएका छन्।  

राखेप सदस्यसचिव पदका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लीलबहादुर थापामगर, नेपाल प्रहरीका पूर्वएआइजिपी रणबहादुर चन्ददेखि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित कुल २७ जनाले आवेदन दिएका छन्। तर, सिलवालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन पूरा नभएसम्म उनी पुनः सदस्यसचिव पदका लागि योग्य नहुने जिकिर गर्दै करातेका खेलाडीसमेत रहेका बर्तौलाले निवेदन दर्ता गराएका छन्। बर्तौलाले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई सम्बोधन गर्दै छानबिनको माग राखेका छन्।

नागरिककर्मीसँगको कुराकानीमा बर्तौलाले नेपाली खेलकुदको प्रतिष्ठित पदमा आउने व्यक्ति स्वच्छ छविको हुनुपर्ने आवश्यकतासहित भ्रष्टाचारको आरोप लागेका निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालविरुद्ध आफूले छानबिनको माग राख्दै निवेदन दर्ता गराएको बताएका छन्। ‘नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको सदस्यसचिव पदमा आउने व्यक्ति स्वच्छ छविको हुनुपर्छ। त्यो पद हामी खेलाडीको अविभावकसमेत हो ,’ क्योकुसिन करातेका खेलाडीसमेत रहेका बर्तौला भने। त्यस्तै उनले निवर्तमान सदस्यसचिव सिलवालमाथि छानबिन पूरा नभएसम्म पुनः सोही पदमा परेको उनको निवेदन पनि खारेज गर्नुपर्ने माग राखेका छन्।  

‘उहाँ (रमेश सिलवाल)माथि अख्तियारमा भ्रष्टाचारको कयौं निवेदन परेका छन्। मन्त्रिपरिषद्बाट खरिद प्रक्रिया नै मिच्ने बाटो खुला गरेर १३औं सागमा आफ्नो व्यापारिक सहकर्मीलाई त्यसको प्रमुख बनाउनुभयो। त्यहाँ भ्रष्टाचार भएको भन्दै कयौं निवेदन दर्ता छन्। त्यसमाथि पनि १३औं सागमा भएको खर्चविवरण हालसम्म सार्वजनिक भएको छैन। उहाँ आफैले पनि ३५ दिनभित्र सार्वजनिक गर्ने आश्वासन दिनुभएको थियो। मंसिरमा १३औं साग सम्पन्न भयो, आज पाँच महिना बितिसक्दा पनि खर्चविवरण सार्वजनिक भएको छैन,’ बर्तौलाले भने।      

गत मंसिरमा नेपालले घरेलु मैदानमा १३औं सागको आयोजना सम्पन्न गर्दा सिलवाल नै राखेपमा सदस्यसचिव थिए। त्यति बेला सिलवालले आफ्नै व्यापारिक सहकर्मी पुरेन्द्र लाखेलाई १३औं सागमा खरिद जिम्मेवारी दिएको भन्दै त्यसको चर्को आलोचना भएको थियो। सिलवाल र लाखे दुवै गोल्डेनगेट कलेजका लगानीकर्ता हुन्। तथापि, सिलवालले लाखेको खेलकुद योगदान रहेको जिकिर गर्दै उनलाई आफूले उक्त जिम्मेवारी नदिएको बताएका थिए। १३औं सागमा भ्रष्टाचार भएको भन्दै सिलवालविरुद्ध अख्तियारमा दर्जनौं उजुरी परेको बर्तौलाले उल्लेख गरे।  

साथै अख्तियारले १३औं सागमा भएको भ्रष्टाचार आरोपबारे छानबिनसहित त्यसको प्रतिवेदन पेस गर्न राखेपका निवर्तमान उपाध्यक्ष पीताम्बर तिम्सिनालाई पत्रसमेत पठाएको मन्त्रालयमा परेको उजुरीमा उल्लेख छ। तथापि तिम्सिनाले ४५ दिनपश्चात् आफूले छानबिन गर्न नसक्ने भन्दै उक्त पत्रका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फिर्ता पठाएका थिए।  त्यसो त १३औं दक्षिण एसियाली खेलकुद (साग)को हिसाब सार्वजनिक गर्न तीन महिनाको परिपत्र हुँदा त्यो हिसाब सार्वजनिक नगरी कुनै सरकारी ओहदाको निम्ति दिएको निवेदन योग्य नहुने बहस पनि चलिरहेको छ।  

असार ११ गते नै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय खेलकुद विकास ऐन प्रमाणीकरण गरेसँगै करिब तीन दशकदेखिको खेलकुद ऐन खारेज भयो र त्यससँगै रमेश सिलवालको सदस्यसचिव रहेको बोर्ड खारेज भएको थियो। साथै पहिलो पटक खुला प्रतिस्पर्धाबाट नेपाली खेलकुदको कार्यकारी पदका लागि नेतृत्व छनोट प्रक्रिया सुरु भएको थियो।  

त्यसका लागि मन्त्रालयले गत शुक्रबार मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलासम्मिलित छनोट समिति गठन गरेको थियो। सोही समितिले पहिलो दिन नै छनोट कार्यविधि तयार पार्दा शुक्रबार नै राखेप सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेको थियो। छनोट समितिका सदस्य रिम रानाभाटले सदस्यसचिव पदका लागि एक–दुई दिनमै अन्तिम तीनको नाम मन्त्रालयमा सिफारिस हुने बताएका छन्।  

गत मंसिरमा नेपालले घरेलु मैदानमा १३औं सागको आयोजना सम्पन्न गर्दा सिलवाल राखेप सदस्यसचिव थिए। त्यति बेला सिलवालले आफ्नै व्यापारिक सहकर्मी पुरेन्द्र लाखेलाई १३औं सागमा खरिद जिम्मेवारी दिएको भन्दै त्यसको चर्को आलोचना भएको थियो। सिलवाल र लाखे दुवै गोल्डेन गेट कलेजका लगानीकर्ता हुन्।

प्रकाशित: ५ श्रावण २०७७ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App