७ वैशाख २०८१ शुक्रबार
खेल

सम्मानमा विभेद : 'सरकारले प्रशिक्षकको मूल्यांकन गर्न सकेन'

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई प्रदेश १ सरकारले बुधबार विराटनगरमा सम्मान गरेपछि प्रशिक्षकहरूले असन्तुष्टि पोख्न थालेका छन् । १ नम्बर प्रदेशका खेलाडीले साग खेलकुदका पदक विजेतालाई नगदसहित सम्मान गर्ने भनेको थियो । सरकारले घोषणा गरेको सम्मान ६ महिनापछि असार मसान्तका दिन खेलाडीलाई मात्रै सम्मान गरेको थियो । खेलाडीको सम्मानपछि विभिन्न खेलका प्रशिक्षकहरूले सरकारको आलोचना गर्दै सरकारमा बसेकाहरूले विभेद पूर्णरूपमा काम गरेको बताए । उनीहरूले राष्ट्रको गहना खेलाडी मात्रै हो भन्ने बुझेर, हामी प्रशिक्षकको भूमिकाको मूल्यांकन गर्न सकेन । 

सागको विभिन्न खेल विधामा पदक जितेका प्रदेशका ८८ जना खेलाडीलाई सम्मान र पुरस्कृत प्रदेश सरकारले गरेको छ । तिनै खेलाडीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा खेलेका १९ जना प्रशिक्षक र ५ जना टोली व्यवस्थापकले आफूहरूको भूमिकाको मूल्यांकन गर्न नसकेको जनाउँदै असन्तुष्टि व्यक्त गरे । पुरस्कारमा ८० लाख रुपैयाँ खर्चिएको सरकारले बजेट अभावका कारण सबैलाई समेट्न नसकिएको बताएको थियो । सरकारले खेलाडीलाई सम्मान गर्‍यो भने समाचारमा सुनेको प्रशिक्षकहरूले बताए । विभिन्न खेलका प्रशिक्षकहरूले भने, ‘हामीलाई पनि खेलाडीहरूसँगै सम्मान गरेको भए हाम्रो मनोबल उच्च हुने थियो । नगद नभई सम्मानपत्र मात्रै दिएको भए पनि उचित मूल्यांकन हुन्थ्यो ।’ 

महिला फुटबल टोलीका तत्कालीन प्रशिक्षक हरि खड्काले सामाजिक सञ्जालमा प्रदेश सरकारप्रति दुखेसो पोख्दै ‘प्रशिक्षक र टोली व्यवस्थापकको भूमिकाको के ?’ भनेर प्रश्नसमेत गरेका छन् । उनले खेलाडीलाई नगदसहित सम्मान गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिँदै लेखेका छन्, ‘यदि भूमिका छैन भने भन्नु पर्‍यो हैन भने त्यो प्रशिक्षक होस् या व्यवस्थापन सबैको भूमिका महत्वपूर्ण हुन्छ ।’ ‘सबैले आफ्नो मूल्यांकन होस् भनेर काम गरेका हुन्छन् यसमा मुख्यमन्त्रीज्यूले के भन्न चाहनु हुन्छ,’ खड्काले लेखेका छन् । 

सागका क्रिकेट महिला टोलीका सहायक प्रशिक्षक राजेश पोखरेलले भने, ‘खेलकुदप्रति प्रदेश सरकारको चासो र झुकाव राम्रो छ । यसले गर्दा खेलकुदको विकास हुन्छ भन्ने कुरामा आशावादी छौं ।’ सरकारले  सागमा पदक विजेतालाई नगदसहित सम्मान गर्ने भने पनि अहिले आएर विभेद गरेको छ । खेलाडीलाई मात्रै नगदसहित सम्मान गर्‍यो हामीलाई गरेन भनेर खेलाडीले पाएको सम्मानको विरोध गरेका होइनौं । 

सरकारले खेलाडीलाई मात्रै गहना देख्यो र प्रशिक्षकलाई पूरै ओझेलमा पर्ने काम गरेको छ । हामी प्रदेशका प्रशिक्षक कति नै थियौं र सम्मान वा प्रशंसापत्र दिन सकेन सरकारले, पोखरेले भने । ‘सरकारले सम्मान गर्ने क्रममा विभेद गर्‍यो,’ पोखरेलले भने, ‘सम्मान र प्रशंसापत्र भन्दा पैसा ठूलो हुन सक्दैन । हामी प्रशिक्षकलाई सम्मानपत्र मात्रै दिएको भए पनि हुन्थ्यो ।’ 

प्रशिक्षकले पनि खेलाडी भन्दा कम मेहेनत गरेको हुँदैन । खेलाडीको सफलताको पछाडि प्रशिक्षकको ठूलो योगदान रहेको कुरा सरकारले बिर्सियो । प्रशिक्षकले कसरी पदक दिलाउने भन्ने सोचेर योजना बनाउनेदेखि खेलाडीको शारीरिक तन्दुरुस्तीलगायतका विषयमा ख्याल गर्नुपर्छ, पोखरेलले भने । यसबाट प्रशिक्षकको मनोबल उच्च हुने होइन घट्ने काम मात्रै भयो । यस्तो कुराले गर्दा कतिपय प्रशिक्षकको काम गर्ने मनोबल नै नबढ्ने देखिन्छ । यसरी सरकारले विभेद गर्दै जाने हो भने प्रशिक्षकले पहिलेको जस्तो पूरै मेहेनत गरेर सफलता दिलाउनेतर्फ काम कम गर्न सक्छन् । ‘उच्च मनोबलका साथ कसरी काम गर्ने सफलतापछि कसैलाई सम्झने कसैलाई बिर्सने काम भयो,’ पोखरेलले भने, ‘खेलाडी र प्रशिक्षक एकअर्काका परिपूरक हुन् । दुवै मिलेर अघि नबढ्ने हो केही पनि हुँदैन ।’ 

खेलाडीको क्षमतालाई पहिचान गरी मैदानमा उतार्ने काम र खेलमा जति खेलाडीको महत्व हुन्छ त्यत्ति नै जिम्मेवारी र भूमिका प्रशिक्षकको रहन्छ । एउटा सानो गल्तीले हार व्यहोर्दा नैतिकताको आधारमा प्रशिक्षकले टोली छोड्नुपर्ने अवस्थासम्म आउँछ । यस विषयलाई सम्मान गर्ने निकायले बिर्सिएको देखिन्छ, पोखरेले भने । 

प्रदेश सरकारको सम्मानबाट खेलाडीसमेत सन्तुष्टि नभएको प्रशिक्षकहरू बताउँछन् । सरकारले दिइने भनिएको नगद पुरस्कार राशि अन्तिम समयमा कटौति हुनु र खेलाडी खेलाडीबीचको पुरस्कार राशिमा पनि विभेद भएको खेलाडीले प्रशिक्षकलाई बताएको एक प्रशिक्षकले बताए ।

प्रकाशित: १ श्रावण २०७७ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App