८ वैशाख २०८१ शनिबार
खेल

रंगशाला निर्माणमा ऐतिहासिक सहमति

नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर। तस्विरः नागरिक

स्थानीय बासिन्दाका मागलाई सम्बोधन गर्दै नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गर्न लागेको रंगशाला डिपिआर तयार भएर माटो पटानको काम भइरहेको छ। नेपालगन्ज उपमहानगरपालिका–६ मा रहेको करिब १२ बिघा जमिनमध्ये पाँच बिघा जमिनमा रंगशाला निर्माणको काम सुरु भएको मेयर डा. धवलशमशेर राणाले बताए।  

नेपालगन्ज– ६ फुल्टेक्रास्थित करिब १२ बिघा जमिन मुस्लिम समुदायका लागि कर्वला, केही जमिन हिन्दु धर्मावलम्बीले प्रयोग गर्दै आएका थिए।  

रंगशाला निर्माणका लागि पटकपटक प्रयास गरिए पनि स्थानीय बासिन्दाबीच सहमति नहुँदा रंगशाला निर्माण गर्ने कार्य सुरु हुन सकेको थिएन। क्रिकेटको सहरका रुपमा चिनिए पनि नेपालगन्जमा हालसम्म अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला थिएन। नेपालगन्जले दशकदेखि प्रतियोगिता आयोजना गर्नका लागि मंगलप्रसाद उच्च माविको मैदान प्रयोग गर्दै आएको थियो।  

रंगशाला बनाउने विषयमा सहमति भए पनि सामाजिक सद्भावलाई मध्यनजर गर्दै केही कुरामा स्थानीय बासिन्दाले अझै केही विषयमा असमति जनाउँदै आएका छन्। स्थानीयका उचित मागलाई सम्बोधन गरेर अगाडि बढ्ने सोमबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले छलफल कार्यक्रममा बताए।  

मेयर राणाले नेपालगन्जको गौरवसँग जोडिएको विषयमा ऐतिहासिक निर्णय भएको बताए। उनले भने, ‘एउटा गम्भीर र इतिहास जोडिएको कुरामा निर्णय भएको छ। मैले २० वर्षअघि रंगशाला बनाउन प्रयास गरेको थिएँ। तर सहमति जुट्न सकेको थिएन। हिन्दु र मुस्लिम समुदायको सहमतिबीच सहमति जुटाउन ५० वर्ष अघिदेखि प्रयास गरिएको थियो। आज आएर दुवै पक्षले नेपालगन्जको गौरव बढाउने निर्णयमा सहमति जनाएका छन्। हामी स्थानीयका मागलाई सम्बोधन गरेर, खुसी बनाएर रंगशाला निर्माण गर्छाैं।’

पछिल्लोे पटकको छलफलमा पाँच बिघामा रंगशाला, अन्य जमिनमा मुस्लिम समुदायको करवला, केही जमिन हिन्दु समुदायलाई र बाँकी जमिन वडा कार्यालय, सार्वजनिक पार्क, स्कुल बनाउने सहमति भएको छ।

यसै वर्ष नेपालगन्ज उपमहानगरपालिकाले नेपाल क्रिकेट संघ (क्यान)  छनोट समितिका पूर्वप्रमुख एवम् नेपालगन्ज उपमहानगरपालिका– २ अध्यक्ष सुनीलसिंह हमालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो। जसले रंगशाला निर्माणमा सहमति जुटाउने काम गरेको थियो। कार्यदलले स्थानीयसँग छलफल गरेर रंगशाला निर्माणका विषयमा सहमति जुटाएको थियो।  

स्थानीयले सहमति जनाएपछि नगरपालिकाले आन्तरिक र प्रदेशको बजेटबाट करिब १ करोड खर्च गरेर माटो पटानको काम गरिरहेको छ। नगरपालिकाले अन्य योजनाको बजेट घटाएर पनि रंगशाला निर्माणको कामलाई तीव्रता दिएको मेयर राणाले बताए।  

पछिल्लोे पटकको छलफलमा पाँच बिघामा रंगशाला, अन्य जमिनमा मुस्लिम समुदायको करवला, केही जमिन हिन्दु समुदायलाई र बाँकी जमिन वडा कार्यालय, सार्वजनिक पार्क, स्कुल बनाउने सहमति भएको कार्यदलका संयोजक हमालले बताए।  

प्रदेश नम्बर ५ क्रिकेट संघ एवम् बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष दुर्गा थापाले नेपाली क्रिकेटकै लागि यो ऐतिहासिक निर्णय भएको बताए। उनले भने, ‘वर्षांैपछि आज भगवान्ले हाम्रो कुरा सुन्नुभयो। क्रिकेटमा नेपालगन्जको इतिहास बलियो छ। तर क्रिकेट रंगशाला नहुँदा यहाँको क्रिकेट खस्कँदो अवस्थामा पुग्यो। संघले मैदान बनाउन प्रयास गरे पनि सफल हुन सकेको थिएन। आज नेपालगन्जवासीले गर्व गर्न लायक योजनामा सहमति जुटाएका छन्। अब संघले मैदान निर्माणका लागि कुनै कसुर बाँकी राख्दैन।’  

नगरपालिकासँग मिलेर यसै वर्षदेखि क्रिकेट खेल्न मिल्ने पिच बनाउने प्रयास गरिने योजना रहेको अध्यक्ष थापाले बताए। उनले भने, ‘आज हामीले खेल जुनसुकै धर्म, समुदायभन्दा माथि छ भनेर सन्देश दिएका छौं। क्रिकेट सबैको साझा खेल हो। यसले विभिन्न धर्म, जातलाई एउटै सूत्रमा बाँध्न सिकाउँछ। मलाई लाग्छ, अब रंगशाला नेपालगन्जको एउटा गर्व गर्ने योजना बन्नेछ। रंगशाला निर्माण गर्ने कार्यलाई संघले मुख्य प्राथमिकतामा राखेर अगाडि बढ्छ।  

प्रकाशित: ३१ असार २०७७ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App