coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कहिले मिल्ला अभ्यास अनुमति ?

विश्वभर कोरोना माहामारीपछि सम्पूर्ण खेलकुद गतिविधि ठप्प रहे। कोरोनाले सार्वजनिक कार्यक्रमदेखि मानिसको भीडभाड हुने स्थानमा सम्बन्धित देशका सरकारले प्रतिबन्ध लगाए। होटल, रेस्टुराँ, सिनेमा हलदेखि खेलकुदस्थल पनि महामारीको चपेटामा परे। सम्पूर्ण कार्यतालिका स्थगित भए। त्यसको असर खेलकुदमा पनि प¥यो। चार महिनापछि युरोपका केही देशमा खुकुलो प्रावधान राखेर खेलकुदका गतिविधि सञ्चालन भइरहेका छन्। जसमा विश्व चर्चित लिग इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेसलिगालगायतका फुटबल प्रतियोगिता फर्किसकेका छन्। विश्व फुटबलको निकाय फिफाले केही कार्यतालिकालाई परिमार्जित गर्दै सार्वजनिक गरिसकेको पनि छ। जसमा स्थगित भएको कतार विश्वकप छनोटका तालिका पनि समावेश भइसकेका छन्। सार्र्वजनिक भएसँगै छिमेकी देश माल्दिभ्स, भुटानले विश्वकप छनोटलाई मध्यनजर राख्दै प्रशिक्षण थालिसकेका छन्।  

तर नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलअन्तर्गत घरेलु मैदानमा हुने खेलका लागि अहिलेसम्म तयारी सुरु गरेको छैन। सम्पन्न पाँच खेलबाट तीन अंक मात्र जोडेको नेपालले एक खेलमा जित निकाल्दा बाँकी चार खेलमा नतिजा सुम्पिएको थियो। यसअघि नै असार २ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)  कार्यसमिति बैठकले छनोट खेललाई ध्यान दिँदै जुलाई पहिलो साताबाट प्रशिक्षण थाल्ने जनाएको थियो। त्यसका लागि खेलाडीसँग पनि छलफल भएको थियो। तर अहिले जुलाई महिनाको एक साता बित्दा पनि एन्फाले खेलाडीलाई डाकेको छैन। घरेलु मैदानमा हुने खेलका लागि अभ्यास समयमा नै गर्दै नतिजाका लागि खेल्नुपर्ने भएकाले प्रशिक्षण गर्ने वातावरण मिलाइदिन एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत नेपाल सरकारलाई पत्राचार गरेको एन्फाका प्रवक्ता किरण राईले नागरिकलाई जानकारी दिए।  

‘घरेलु मैदानमा सुखद नतिजा निकाल्ने हाम्रो लक्ष्य छ। समयमा नै प्रशिक्षण थाले खेलाडी अभ्यस्त हुने थिए,’ प्रवक्ता किरण राई भने, ‘प्रशिक्षण थाल्ने प्रबन्धका लागि हामीले राखेपमार्फत सरकारलाई निवेदन गरेका छौं। सरकारले तोकेको मापदण्डसहित हामी खेलाडीलाई क्लोज क्याम्पमा राख्ने थियौं।’  

खेलाडीलाई अभ्यासमा फर्काउन पिसिआर परीक्षणलाई पहिलो प्राथमिकता दिएका छौं । हाम्रो प्रस्ताव सिसिएमसीमा पुगेको छ । छिट्टै निर्णय हुने अपेक्षा लिएका छौं । अनुमति पाए छिट्टै अगाडि बढ्छौं ।’

मन्त्रालयले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को नियमभित्र रहेर प्रशिक्षण गर्न यसअघि नै सूचना दिइसकेकाले प्रशिक्षण थाल्न स्वीकृतिको पखाईमा रहेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले थपे।  

‘आइतबार विषयमाथि छलफल भयो। तीन÷चार दिनमा निर्णय हुने जानकारी आएको छ,’ महासचिव तुलाधरले भने, ‘अनुमति पाएपछि एन्फाले कदम चाल्छ। होस्टल १४ दिनसम्म खाली गरेर खेलाडीको पिसिआर परीक्षण गर्छांै र खेलाडीलाई क्लोज क्याम्पमा डाक्छौं।’

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् पनि खेलकुद गतिविधि फर्काउनका लागि सरकारसँग बारम्बार अनुरोध गरिरहेको छ। त्यसका लागि राखेपले पहिलो प्राथमिकता खेलाडीको स्वास्थ्य परीक्षण बनाएको छ। खेलाडीको पिसिआर परीक्षणपछि मात्र अभ्यास थालनीको अनुमति दिने प्रावधान बनाएको राखेपका चिकित्सका डाक्टर राजु डंगोलले जानकारी दिए।  

‘बिस्तारै अहिले खेलकुद गतिविधि फर्किन थालेका छन्। खेलाडीलाई अभ्यासमा फर्काउन पिसिआर परीक्षणलाई पहिलो प्राथमिकता दिएका छौं,’ डाक्टर डंगोलले भने, ‘हाम्रो प्रस्ताव सिसिएमसीमा पुगेको छ। छिट्टै निर्णय हुने अपेक्षा लिएका छौं। अनुमति पाए छिट्टै अगाडि बढ्छ।’

लकडाउनले अहिले खेलाडी घरायसी अभ्यासमा सीमित छन्। प्रभावकारी अभ्यास उनीहरूले पाएका  छैनन् । समयमा नै अभ्यास सुरु नगरे खेलाडीको फिटनेसमा समस्या अवश्य देखिन्छ। यही चिन्ता नेपाली टोलीका सदस्य विक्रम लाममा छ।  

‘समूहमा रहेर अभ्यास गरेजस्तो एकल अभ्यासमा हुँदैन। त्यो अभ्यास त्यति प्रभावकारी हुँदैन,’ थ्री स्टारका कप्तान तथा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर विक्रमले भने, ‘विज्ञको रोहबरमा रहेर अभ्यास गरे समस्या हुँदा समाधान भइहाल्छ। हामी अभ्यासमा फर्कन आतुर छौं। घरमै सीमित भएको पनि लामो समय भइसक्यो।’

छनोटअन्तर्गत नेपालले पहिलो खेलमा कुवेतलाई ७–० को नतिजा सुम्पिएको छ। दोस्रो खेलमा चाइनिज ताइपेईविरुद्ध उसैको मैदानमा २–० को नतिजा निकाल्दा तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० को अन्तरले पराजित भएको छ। चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको नेपाल पाँचौं खेलमा कुवेतसँग १–० ले स्तब्ध बनेको थियो।  

पाँच देशले प्रतिस्पर्धा गर्ने समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ। सम्पन्न चार खेलमध्ये सबै खेलमा स्पष्ट जित निकालेको अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। ५ खेलबाट समान १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन भने नेपालसँग पनि पराजित भएको चाइनिज ताइपेई तालिकाको पुछारमा अंकविहीन छ।  

प्रकाशित: ३१ असार २०७७ ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App