१६ चैत्र २०८० शुक्रबार
खेल

रियाल उपाधिको सँघारमा

ग्रानाडामाथि २–१ को जित हात पारेसँगै रियाल मड्रिड स्पेनिस ला लिगाको उपाधि सँघारमा पुगेको छ।  

यस जितपछि दोस्रो स्थानको बार्सिलोनासँगको अंकदूरी पुनः चार पु-याएको रियाल अब उपाधिबाट मात्र एक जित टाढा छ।  

ग्रानाडाको मैदानमा आतिथेय गरेको रियालले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा एक गोल खान पुगेको थियो। लिगमा दुई खेल बाँकी रहँदा आगामी बिहीबार रियालले भिल्लारियाललाई पराजित गरे एक खेलअगावै उपाधि उचाल्नेछ। यस्तै बार्सिलोनाले ओसासुनालाई हराए र रियालले भिल्लारियालसँग नतिजा ननिकाले अन्तिम खेल नै कुर्नुपर्नेछ।  

सोमबार रियाललाई जित दिलाउन फर्लाड मेन्डीले १०औं मिनेटमा र करिम बेन्जेमाले १६औं मिनेटमा गोल गरेका थिए। सुरुआतमा नै अग्रता पाएको रियालले घरेलु टोलीलाई दबाबमा राखे पनि ५०औं मिनेटमा ग्रानाडाका डार्विन माचिसले गोल गर्दै अग्रता छोट्याएका थिए। त्यसपछि बाँकी समयमा ग्रानाडा खेलमा फर्किने प्रयास गरे पनि बलियो रियालको रक्षापंक्तिलाई चिर्न सकेन। खेलको अन्तिमतिर सर्जियो रामोसले अग्रता तेब्बर पार्ने मौका पाए पनि सदुपयोग गर्न चुकेका थिए। ३ अंक जोडेको रियालले यससँगै लगातार नौ खेलमा  जित निकालेको छ।  

‘सुरुआतबाट नै हाम्रो लक्ष्य उपाधि नै थियो। हामीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हौं,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘अझै दुई खेल बाँकी छन्। नजिक पुगेका छौं, उपाधि जितेका छैनौं। छिनोफानो अझै बाँकी छ।’

‘आरामको क्षण अझै आएको छैन। नजिक पुगेका अवश्य हौं तर हात पार्न अझै बाँकी छ,’ रियालका खेलाडी रामोसले जिदानको तर्कलाई समर्थन गर्दै भने, ‘पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्न नसक्दा हामीले दोस्रो हाफमा गोल खान पुग्यौं। दोस्रो हाफको गोलले हामीलाई सजग बनाएको छ। उपाधि लक्ष्य भएकाले यस्ता गल्ती हामीले अगामी खेलमा दोहो¥याउनु हुन्न।’

मड्रिडले बिहीबार जित निकाले पछिल्लो आठ वर्षमा तीन पटक उपाधि उचाल्नेछ। ‘उपाधि सम्भावनानजिक छ,’ रियालका खेलाडी रामोसले भने, ‘समग्र सिजनमा हामीले सन्तुलित प्रदर्शन गरेका छौं। उपाधिदौडको नजिक पुगेका छौं, बिहीबार त्यो सम्भावना जीवन्त हुनेछ।’

लिगअन्तर्गत सोमबारको अर्को खेलमा रियाल सोसिडाडले पाँचाैं स्थानको भिल्लारियाललाई २–१ ले हरायो। पराजयसँगै भिल्लारियालको च्याम्पियन्स लिग सम्भावना टरेको छ। भिल्लारियालभन्दा माथि चौथो स्थानमा सेभियाले ९ अंकको अग्रता लिएको छ। दुई खेल बाँकी रहँदा शीर्ष चारमा रहिरहन एट्लेटिको मड्रिड, बार्सिलोना र रियालबीच प्रतिस्पर्धा भइरहेको छ। अर्को खेलमा सोमबार डेपोर्टिभो आल्भेस र गेटाफेले गोलरहित बराबरी खेले।

प्रकाशित: ३१ असार २०७७ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App