८ वैशाख २०८१ शनिबार
खेल

मिलानको पुनरागमन

शीर्ष टोली युभेन्ट्सविरुद्ध उत्कृष्ट पुनरागमनमा जित हात पारेसँगथै एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले आफू सिजनको सुरुआतबाटै क्लबमा भएको भए क्लब इटालियन च्याम्पियन भइसक्ने दाबी गरेका छन्।

२–० ले पछि परेको मिलानका लागि ६२औं मिनेटमा इब्राहिमोभिचले पेनाल्टीमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए। जारी सिजनमा भने उनको मिलानका लागि छैटौं गोल हो। त्यसको केही समयपछि नै फ्रांक केइसीले मिलानका लागि बराबरी गोल गरेका थिए। अन्तिममा २ गोल थप्दै मिलानले ४–२ को नाटकीय जित हात पारेको थियो।

‘म अध्यक्ष, प्रशिक्षक र खेलाडी हुँ तर मलाई व्यावसायिक खेलाडीको रूपमा अनुबन्धन गरिएको छ, डिसेम्बरमा ६ महिनाको अनुबन्धन गरेका इब्राहिमोभिचले भने, ‘म सिजनको सुरुआतबाटै क्लबमा भइदिएको भए हामी इटालियन सिरी ‘ए’ च्याम्पियन हुनेमा कुनै दुबिधा छैन।’ ‘म बूढो भइसकें, यो तथ्य लुकाउन मिल्दैन तर उमेर नम्बर मात्र हो,’ ३८ वर्षे इब्राहिमोभिचले भने, ‘मैले पछिल्लो खेलभन्दा यस खेलमा राम्रो प्रदर्शन गरें। मलाई राम्रो लागिरहेको छ। म क्लबलाई राम्रो स्थानमा बस्दै सिजन अन्त्य गर्नका लागि हरेक पक्षबाट सहयोग गर्न तयार छु।’

मिलानका प्रशिक्षक स्टेफानो पियोली र इब्राहिमोभिच अर्को सिजनका लागि टोलीमा हुने नहुनेमा भने दुबिधा छ।

‘सिजन अन्त्य हुन अझै एक महिना बाँकी छ। सबै कुरा हाम्रो नियन्त्रणमा हँुदैन। दर्शकबिना खेल्नु लज्जा हो र अनौठो परिस्थिति पनि हो,’ इब्राहिमोभिचले थपे, ‘मलाई सान सिरोमा यसै सिजन अन्तिम पटक पनि देख्न सक्नुहुनेछ। म मिलान टोलीका लागि अझै धेरै खेल्न चाहन्छु। मैले मेरो क्षमताअनुसारको प्रदर्शन गर्ने हो। म यहाँ आबद्ध भएँ र टोलीको प्रदर्शनमा कुनै सुधार भएन भने त्यो मलाई मन पर्दैन। म टोली सहयात्री र समर्थकलाई सहयोग गर्न चाहन्छु।’

मिलानसँगको हारेपछि युभेन्ट्स ७५ अंकका साथ शीर्ष स्थानमा यथावत् छ,जुन दोस्रो स्थानको लाजियोभन्दा ७ अंक बढी हो। मिलान ४९ अंकका साथ पाँचौं स्थानमा छ।

प्रकाशित: २५ असार २०७७ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App