१५ चैत्र २०८० बिहीबार
खेल

पौडेल र न्यौपाने च्याम्पियन

स्याङ्जाका युवराज पौडेल र काठमाडौंकी अनिशा न्यौपाने यु–२० महिला तथा पुरुष राष्ट्रिय अनलाइन बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्।

जुम एप्लिकेसन भिडियो कन्फेरेसन तथा चेस डटकमको अनलाइन प्लेटफर्मलाई एकै साथ प्रयोग गरी आयोजना गरिएको प्रतियोगितामा बुधबार युवराज र अनिशा च्याम्पियन भएका हुन्। नेपाल बुद्धिचाल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा एक मात्र हार सामना गरेका युवराजले आठ अंक जोड्दै उपाधि सुरक्षित गरेका थिए। उनले नगद तीन हजार रुपैयाँ प्राप्त गरे। स्विस लिग प्रणालीअनुसार नौ चरणसम्म भएको स्पर्धामा कुल ३९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।  

काठमाडौंका विवेक श्रेष्ठ ७.५ अंकसहित दोस्रो र भक्तपुरका निकेश कुसथा सात अंकसहित तेस्रो भए। उनीहरूले क्रमशः २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। महिलातर्पm काठमाडौंकी अनिशा न्यौपाने ५.५ अंकका साथ च्याम्पियन भइन्। झापाकी कृतिसरा अधिकारी ४.५ अंक र रूपन्देहीकी नमन सेढाईं चार अंकका साथ क्रमशः दोस्रो र तेस्रो भए। दुवैतर्फ च्याम्पियन युवराज र अनिशाले आगामी जुलाई २२ देखि अगस्ट ३० सम्म सञ्चालन हुने फिडे अनलाइन ओलम्पियाडमा नेपाली टोलीमा समेत स्थान बनाउन सफल भए।

त्यस्तै ५० वर्ष उमेरसमूहमाथिको भेट्रान स्पर्धामा कास्कीका रामबहादुर क्षत्री राष्ट्रिय च्याम्पियन बन्न सफल भए।  स्विस लिग प्रणालीअनुसार सातांै चरणसम्म भएको खेलमा उनले ६  अंक जोडे। उनले उपाधिसहित नगद तीन हजार रुपैयाँ प्राप्त गरे। समान ५/५ अंक जोडेका कास्कीका विनोद नाल्मी र भक्तपुरका शिवसुन्दर गाइजु क्रमशः दोस्रो र तेस्रो भए। रामबहादुर, विनोद र शिवसुन्दरले आगामी जुलाई १३ देखि २१ सम्म हुने एसियन सिनियर चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।

क्षितिज बने छैटौं फिडेमास्टर  
युवा खेलाडी क्षितिज भण्डारीले फिडे मास्टरको उपाधि पाएका छन्। ४२औं चेस ओलम्पियाड बाकुबाट क्यान्डिडेट मास्टरको उपाधि पाएका उनले गत वर्ष बंगलादेशमा सम्पन्न एसियन सिटिज चेस च्याम्पियनसिपमा गरेको प्रदर्शनको आधारमा सो उपाधि पाउन सफल भए। यसअघि नेपालका मनीष हमाल, सुजेन्द्रप्रसाद श्रेष्ठ, विलमलाल श्रेष्ठ, रूपेश जयसवाल र रिजेन्द्र राजभण्डारीले सो उपाधि प्राप्त गरेका थिए भने महिलातर्पm सुजना लोहनीले वुमन फिडेमास्टरको उपाधि प्राप्त गरेकी छन्। 

प्रकाशित: २५ असार २०७७ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App