coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कास्की जिल्ला फुटबल संघको बेथिति

लिग च्याम्पियन क्लबले पाएन पुरस्कार रकम

२०७६ साउको तेस्रो साता पोखरामा कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गरियो । कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम स्मृति लिगकम नकाउट फुटबल प्रतियोगिताको उपाधि लेखनाथस्थित आर्दश युवा क्लबले जित्यो । हेमजाको विष्णुपादुका युवा क्लब उपविजेता बन्यो ।  

विजेता र उपविजेता बनेको वर्षदिन पुग्यो । वर्षदिनसम्म दुवै विजेता तथा उपविजेता क्लबद्वयले पुरस्कार स्वरुपको रकम प्राप्त गरेका छैनन् । वर्षदिनसम्म पनि पुरस्कार रकम नपाउँदा क्लबको फुटबल प्रतिको मोह घट्दै गएको छ । पुरस्कार रकम नपाएको विषयमा व्यापक गुनासो भएपनि कास्की जिल्ला फुटबल संघले भने पुरस्कार रकम दिने तर्फ गम्भीरता देखिएको छैन । पुरस्कार वापत विजेताले ३० हजार र उपविजेतालाई नगद २० हजार रुपैयाँ प्रदान गर्ने निर्णय फुटबल संघले गरेको थियो । पोखरा रंगशाला फुटबल मैदान पुनर्निर्माण सुरु गरिएकोले फुटबल संघले लिग लेखनाथस्थित भण्डारढीक खेलमैदानमा आयोजना गरिएको थियो । घरेलु मैदानमै आदर्श क्लबले पहिलो पटक लिग च्याम्पियन बन्यो । तर दुर्भाग्य अझै पुरस्कारको रकम पाएको छैन ।  

‘हामीले वर्षदिन भयो लिग च्याम्पियन वापतको पुरस्कार रकम पाएका छैनौं’, आदर्श क्लबका अध्यक्ष लक्षु भण्डारीले भने, ‘बरु गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको रकम पायौं ।’ कास्की जिल्ला फुटबल संघले पुरस्कार वापतको रकम तथा अन्य विभिन्न संघसंस्थालाई तिर्नुपर्ने रकम तिरेको छैन । समयमै नतिरेपछि कास्की जिल्ला फुटबल संघप्रति सर्वसाधारणको विश्वास घट्दै गएको छ । सर्वसाधारण एवं खेलकुदकर्मीको चासो कम हुँदै गएपछि अखिल नेपाल फुटबल संघ(एन्फा)ले कास्की जिल्ला फुटबल संघमाथि छानविन सुरु गरेको छ ।  

एन्फाले पहिलो चरणमा मनकामना केवलकार पोखरा कपको आयव्यय विवरण मात्रै अनुसन्धान गरेको छ । दोस्रो चरणमा जिल्ला लिगको आयव्यय विवरण हेर्ने कार्यक्रम थियो । तर एन्फाले छानविन समितिलाई जिल्ला लिगको हिसाबकिताब नहर्ने निर्देश गरिसकेको छ । फुटबल संघले समेत जिल्ला लिगको सम्पूर्ण आयव्ययको विवरण एन्फामा पेश गरिसकिएको जनाएको छ । आयव्यय विवरण पेश गरेपनि पुरस्कार वापतको रकम अझै क्लबले पाउन नसकेका छैनन् । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भने तिर्नुपर्ने सबै ठाँउमा व्यक्तिगत रुपमा पैसा तिरेको दावी गर्छन् । 

छानविन समितिले बुधबार मनकामना केवलकार पोखरा कपको सम्पूर्ण प्राप्त विलसहित अन्य विवरणको बारेमा कास्की जिल्ला फुटबल संघका पदाधिकारी तथा सदस्यहरुसँग प्रत्यक्ष संवाद गर्दै टुंग्याउने जनाएको छ । 

प्रकाशित: २४ असार २०७७ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App