८ वैशाख २०८१ शनिबार
खेल

सेभियाको च्याम्पियन्स लिग सम्भावना जीवित

एइबरमाथि १–० को जित निकालेको सेभियाले स्पेनिस ला लिगामा शीर्ष चारभित्र अटाउँदै च्याम्पियन्स लिगका लागि स्थान बनाउने लक्ष्यलाई सोमबार जीवन्त राखेको छ।  

लिग चरणमा चार खेल बाँकी रहेको अवस्थामा सेभियाले आगामी खेलमा स्पष्ट जित निकाल्दै आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने  लक्ष्यलाई सोमबार जीवितै राखेको हो। ५६औं मिनेटमा लुकास ओकाम्पोसले गरेको गोल निर्णायक बन्दा सेभियाले शीर्ष चारमा अटाउने बलियो सम्भावना कायम राखेको हो। ३४ खेलबाट ६० अंक जोडेको सेभिया पाँचौं स्थानको भिल्लारियालभन्दा ६ अंकले अगाडि  छ। भिल्लारियालले पनि समान ३४ खेल खेलिसकेको छ। यस्तै एट्लेटिको मड्रिड तेस्रो स्थानमा दुई अंकले सेभियाभन्दा अगाडि छ। उपाधि होडमा रहेको बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा छ भने शीर्ष स्थानको रियाल मड्रिडले चार अंकको शीर्षता कायम राखेको छ। सेभियासँग पराजित एइबर भने रेलिगेसन क्षेत्रभन्दा दुई स्थान माथि १६ स्थानमा छ। एइबरको ३४ खेलमाट ३५ अंक छ।  

महामारीपछि सुचारु भएको लिगमा सेभियाले तेस्रो जित निकाल्दा चार बराबरीको नतिजा सामना गरेको छ।  

लिगअन्तर्गत सोमबार भएको पहिलो खेलमा लेभान्टेले रियाल सोसिडाडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। भ्रमणकारी टोली रियाल सोसिडाडले १२औं मिनेटमा लिएको अग्रता १६औं मिनेटमा बराबरीको अवस्थामा आएको थियो। १२औं मिनेटमा सोसिडाडका लागि एलेक्जेन्डर इसाकले गोल गरेका थिए। त्यसको चार मिनेटपछि जोसे लुइस मोरालेसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए। बाँकी समयमा दुवै टोलीले स्पष्ट अंकका लागि आक्रामक खेल खेले पनि दुवैबाट गोल हुन सकेन।  

बराबरी खेलेका टोलीद्वय सोसिडाड र लेभान्टे तालिकाको सातौं र १२औं स्थानमा छन्। सोसिडाडको ३४ खेलबाट ५१ अंक छ भने लेभान्टेको समान खेलबाट ४३ अंक छ।

प्रकाशित: २४ असार २०७७ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App