८ वैशाख २०८१ शनिबार
खेल

रियाललाई पछ्याउँदै बार्सिलोना

भिल्लारियालविरुद्ध गोल गरेपछि बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान(दायाँ) र लियोनल मेसी। तस्बिर: एएफपी

एन्टोनियो ग्रिजम्यान चम्किएको दिन आइतबार भिल्लारियालमाथि ४–१ को जितका साथ शीर्ष टोली रियाल मड्रिडसँगको अंकदूरी घटाउँदै साबिकको विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि यात्रासमेत जीवित राखेको छ।  

पूर्वक्लब एट्लेटिको मड्रिडमा प्रदर्शन खस्किएको भन्दै आलोचित बनेका ग्रिजम्यानलाई बार्सिलोनामा आइतबार भने पहिलो रोजाइमा राखेको थियो। ग्रिजम्यानले उत्कृष्ट प्रदर्शन गर्दै टोलीका लागि गोल गर्दा बार्सिलोनाले उपाधि यात्रा कायम राखेको हो।

तेस्रो मिनेटमा भिल्लारियालका पाउ टोरेको आत्मघाती गोलबाट  बार्सिलोनाले अग्रता पाएको थियो । १४औं मिनेटमा भिल्लारियालका जेराड मोरेनोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। त्यसको ६ मिनेटपछि लुइस स्वारेजले बललाई जाली चुमाउँदै बार्सिलोनालाई पुनः खेलमा अघि बढाए। पहिलो हाफको अन्तिम मिनेटमा ग्रिजम्यानको गोलसँगै बार्सिलोनाले ३–१ को अग्रता बनायो।  

अघिल्लो खेलमा स्पष्ट अंक जोड्न नसकेको बार्सिलोनाका लागि ६९औं मिनेटमा मेसीले गोल गरे पनि रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर)को सहयोगमा मान्यता दिएनन्। उक्त गोललाई रेफ्रिले अफसाइडको संकेत गरेका थिए। त्यस पछि पनि आक्रामक लयलाई निरन्तरता दिएको बार्सिलोनाका लागि अन्सु फाटीले खेल सकिन चार मिनेट बाँकी रहँदा गोल थप्दै जित सुनिश्चित गराए।  

एन्टोनियो ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले भिल्ला रियालमाथि ४–१ को जितका साथ उपाधि यात्रा कायमै राखेको छ। जितसँगै दोस्रो स्थानको बार्सिलोनाले लिगमा अब चार चरणका खेल बाँकी छँदा शीर्ष टोली रियाल मड्रिडसँगको दूरी चार अंकको अन्तरमा झारेको छ।  

त्यससँगै दोस्रो स्थानको बार्सिलोनाले शीर्ष टोली रियाल मड्रिडसँगको अंकदूरी घटाएको छ। समान ३४ खेल खेलेका रियाल र बार्सिलोनाबीच चार अंकको अन्तर छ। लिगमा अब चार चरणका खेल बाँकी छन्। ‘राम्रो खेलाडीले मात्र गर्न सक्ने गोल ग्रिजम्यानले गरे,’ बार्सिलोनका प्रशिक्षकका क्विके सेटियनले भने, ‘उनले बयान गर्न नै अपुग हुने प्रशंसनीय खेल प्रदर्शन गरेका छन्।’

लिगअन्तर्गत आइतबारकै खेलमा रियाल मड्रिडले एट्लेटिको बिलबाओमाथि १–० को जित निकाल्दै उपाधि यात्रा बलियो बनाएको थियो। कप्तान सर्जियो रामोसले पेनाल्टी गोलबाट रियाललाई स्पष्ट तीन अंक दिलाएका थिए। ‘उपाधि जीवन्त राख्न जित आवश्यक थियो,’ बार्सिलोना प्रशिक्षक सेटियनले थपे, ‘तालिकामा अंक थप्दै जाने हो। अन्तिमसम्मको नतिजालाई स्वीकार गर्नुको विकल्प छैन।’

आइतबारै सम्पन्न लिगको अर्को खेलमा लेगानेसले स्पानियोललाई उसैको मैदानमा १–० ले स्तब्ध बनायो। लेगानेसको जितमा जोनाथान क्रिस्टियन सिल्भाले ५३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। अर्को खेलमा ओसासुनाले गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो।

प्रकाशित: २३ असार २०७७ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App