८ वैशाख २०८१ शनिबार
खेल

युनाइटेडको जित लय जारी

वाटफोडविरुद्ध फ्रिकिक प्रहार गर्दै म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज। तस्बिर: प्रिमियर लिग

चेल्सीले इङ्लिस प्रिमियर लिग अंकतालिकाको शीर्ष चारमा पुनरागमन गर्दा वाटफोर्डमाथि ३–० को जित निकालेको दिन म्यानचेस्टर युनाइटेडले पनि बर्नमाउथलाई ५–२ को फराकिलो अन्तरले स्तब्ध बनाएको छ।

उत्कृष्ट पुनरागमनसहित युनाइटेडले आफ्नो लयलाई जारी राख्न बर्नमाउथमाथि रबाफिलो जित निकालेपछि अंकतालिकाको शीर्ष चार दौडमा रहेका लेस्टर सिटी र चेल्सीमाथि थप दबाब सिर्जनासमेत गरेको छ। तेस्रो स्थानको लेस्टरले पनि शनिबार क्रिस्टल प्यालेसमाथि ३–० को जित निकाल्दै लयमा समात्न थालेको छ। लयमा फर्किएको लेस्टरका लागि जेमी भार्डीले गोल गर्दै शीर्ष लिगमा सयौं गोल पूरा गरेका थिए। सोही दिन आर्सनलले पनि मोलिनक्स टोली वुल्भ्सलाई २–० ले हराउँदै च्याम्पियन्स लिग खेल्ने आशा जीवितै राखेको छ। ओले गनर सोल्सजायरको टोली युनाइटेडको अंग्रपक्तिका मार्कुस रसफोर्ड, एन्थोनी मार्सल र ब्रुनो फर्नान्डेजले १–१ तथा ग्रिनवुडले दुई गोल गरे।  

अग्रपंक्तिका स्टार चम्कँदा युनाइटेडले घरेलु मैदानको प्रिमियर लिगमा सन् २०११ पछि पहिलो पटक पाँच गोल गर्न सफल भयो। ‘आत्मविश्वास निकै बढिरहेको छ। यस किसिमका प्रदर्शन र नतिजाले ऊर्जा मिल्छ,’ अविजित लगातार १६ खेलको यात्रा तय गराएका सोल्सजायरले भने, ‘वास्तवमा पछिल्ला केही खेलबाट निकै खुसी छु।’ युनाइटेडसँगको  पराजयसँगै बर्नमाउथ पुछारबाट दोस्रोमै सीमित रहेको छ। यद्यपि, युनाइटेडको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै बर्नमाउथले खेलको १६औं मिनेटमा गोल गर्दै झड्का दिएको थियो। ग्रिनवुडको गोलबाटमा खेलमा फर्किएको युनाइटेड थप आक्रामक बन्यो। त्यसपछि रसफोर्डको पेनाल्टी गोल र मार्सलको टप कर्नर गोलमार्पmत युनाइटेडले ३–१ को अग्रता लियो।

मार्सलले सिजनको २०औं गोल पूरा गर्दा फर्नान्डेजकै पास सदुपयोग गरे। ‘मार्सलको उत्कृष्ट फिनिस थियो,’ सोल्सजायरले थपे, ‘उनले धैर्यता राखे। कसरी उत्कृष्ट फिनिस गर्ने भन्नेमा उनी जानकार छन्।’ बर्नमाउथले जोस किङको पेनाल्टी गोलबाट खेलमा फर्किने संकेत गरेको थियो। दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै इरिक बेलीले ह्यान्ड बल गरेपछि बर्नमाउथले पेनाल्टी पाएको थियो, जसमा किङले गोल गर्दै अग्रता ३–२ ले छोट्याए। यद्यपि, सोल्सजायरको टोलीको आक्रामक शैली बर्नमाउथले रोक्न सकेन। ग्रिनवुडले ५४औं मिनेटमा र फर्नान्डेजले ५९औं मिनेटमा उत्कृष्ट फ्रिकिकमार्पmत गोल गर्दै युनाइटेडलाई ५–२ ले फराकिलो जित दिलाए।  

चेल्सीको लय
गत खेलमा वेस्ट ह्यामसँग ३–२ को अप्रत्याशित हार बेहोरेको चेल्सीले स्टामफोर्ड ब्रिजमा भने जित निकाल्न सफल भयो। फ्रान्क लाम्पार्डले ओलिभर जिरौडलाई अग्रपंक्तिमा निरन्तरता दिँदा त्यसको प्रतिफल पनि प्राप्त गरे। जिरौडले उत्कृष्ट गोल गर्दै अग्रता दिलाउँदा विलियनले पेनाल्टीमार्फत गोल थप्दै पहिलो हाफमा अग्रता दोब्बर बनाए। खेलको इन्जुरी समयमा रोस बार्कलीले तेस्रो गोल गरेपछि चेल्सीले पाँचौं स्थानको युनाइटेडसँग दुई अंकको अग्रता बनायो।  

‘पछिल्लो खेलपश्चात् हामीलाई जसरी पनि सकारात्मक नतिजा आवश्यक थियो,’ चेल्सीका विंगर क्रिस्टियन पुलिसिकले भने, ‘त्यो हारपछि सबैले धेरै मिहिनेत गरे र अंक प्राप्त गर्दै आफूलाई प्रमाणित गर्न सफल भए।’ सिजन सुरु भएयता चार खेलमध्ये तेस्रो हार बेहोरेको वार्टफोर्ड रेलिगेसन क्षेत्रका बर्नमाउथ र एस्टन भिल्लाभन्दा एक अंकले मात्र माथि छ। आर्सनलले आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने आशा जीवितै राख्न वुल्भ्सको अपराजित आठौं खेलको यात्रामा पूर्णविराम लगाउँदा अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ। १८ वर्षे बुकायो साका र एलेक्सजान्ड्रे लाकाजेटको गोलबाट आर्सनलले वुल्भ्सलाई २–० ले हरायो। त्यो हारसँगै वुल्भ्स चौथो स्थानको चेल्सीभन्दा पाँच अंकले पछि परेको छ।

प्रकाशित: २२ असार २०७७ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App