८ वैशाख २०८१ शनिबार
खेल

मिलेमतोका प्रमाण उपलब्ध गराउने पूर्वमन्त्रीको दाबी

क्रिकेट विश्वकप २०११ फाइनल

महिन्दानन्द अलुथागामगे

श्रीलंकाका पूर्वखेलकुदमन्त्री महिन्दानन्द अलुथागामगेले सन् २०११ को क्रिकेट विश्वकप फाइनल खेलमा  मिलेमतो भएको बारे अन्य थुप्रै प्रमाण अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) समक्ष उपलब्ध गराउने प्रस्ताव अघि सारेका छन्।  

गत साता श्रीलंकाले खेल मिलेमतोलाई फौजदारी मुद्दाअन्तर्गत रहेर अनुसन्धान गर्ने भन्दै  प्रहरीलाई अनुसन्धान सुरु गरेको थियो । प्रहरीले शुक्रबार श्रीलंका र भारतबीचको फाइनल खेलमा मिलेमतो भएको भन्दै लगाइएको आरोपमा प्रमाण नपुगको भन्दै अनुसन्धान सकिएको बताएको थियो। त्यसको एक दिनपछि नै अलुथागामगेले आइसिसीलाई थप प्रमाण उपलब्ध गराउने घोषणा गरेका हुन्।  

प्रहरीले सो दौरान छनोट कमिटीका प्रमुख रहेका अरबिन्द डी सिल्भाका साथ ओपनर उपुल थरंगा र तत्कालीन कप्तान कुमारा सांगाकारालाई करिब १० घण्टा सोधपुछ गरेको थियो।

तर सन् २०११ देखि २०१५ सम्म श्रीलंकाका खेलकुदमन्त्री रहेका अलुथागामगेले राजनीतिक आडमा अनुसन्धान प्रभावित पारेको आरोप लगाएको हुन्। हाल उनी ऊर्जा राज्यमन्त्री छन्।

उनले आइसिसीको भ्रष्टाचारसम्बन्धी अनुसन्धानका प्रमुख एलेक्स मार्सलले आफूले यसबारे जानकारी गराइसकेको र चाहेको खण्डमा थप प्रमाण उलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको बताएका छन्।

अलुथागामगेले प्रहरीले निष्पक्ष छानबिन गर्न नसकेको भन्दै श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षसमक्ष खेलमिलेतोको बारेमा पुनः अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह समेत गरेका छन्।  

यता मार्सलले भने सन् २०११ को क्रिकेट विश्वकपको फाइनल खेलमा मिलेमतो भएको भन्ने आरोपका बारेमा आफूहरूलाई कहीं कतैबाट पनि कुनै प्रमाण आइनपुगेकाले यस घटनामा कुनै अनुसन्धान प्रक्रिया नबढाइने बताएका छन्। साथै उनले खेलमिलेमतोको घटनालाई आइसिसीले गम्भीर रूपमा लिने र यसमा कसैले छुट नपाउने पनि दोहो¥याए।  

श्रीलंकाका प्रहरीले भने अलुथागामगेको आरोपमा कुनै प्रतिक्रिया जनाएको छैन।  

सन् २०१० देखि २०१५ सम्म खेलकुदमन्त्री रहेका अलुथागामगे आफूले यो कुरा खुलासा गर्न नचाहे पनि समयको मागसँगै खेलमिलेमतोबारे बोलेको बताएका थिए।  

मुम्बईस्थित वांखडे मैदानमा भएको खेलमा भारतले ६ विकेटले खेल जितेको थियो। सो फाइनल खेलदौरान मैदानमै कमेन्ट्री गरिरहेका अर्जुना रणतुंगाले पनि श्रीलंकाले खेल गुमाउनु शंकास्पद रहेको भन्दै छानबिनको माग गरेका थिए।

प्रकाशित: २२ असार २०७७ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App