७ वैशाख २०८१ शुक्रबार
खेल

रियालको शीर्षता थप मजबुत

सर्जियो रामोस

कप्तान सर्जियो रामोसको गोल निर्णायक बन्दा रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्षता थप मजबुत पारेको छ।  

आइतार ला लिगाअन्तर्गत भएको खेलमा रियाल मड्रिडले एथलेटिक बिलबाओमाथि १–० को जित हात पारेको हो। ७३औं मिनेटमा रामोसले गरेको पेनाल्टी गोल रियालका लागि स्पष्ट ३ अंक पक्का गर्न पर्याप्त बन्यो।  

यस जितपछि ३४ खेलमा ७७ अंक जोडेको रियाल  शीर्ष स्थानमा छ। जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको साबिकको विजेता बार्सिलोनाभन्दा ७ अंक बढी हो। यता ३४ खेलमा ४८ अंकका साथ बिलबाओ  आठौं स्थानमा छ।

अन्तिम चार मिनेट सम्हालिन नसक्दा भ्यालेन्सियाले स्पेनिस ला लिगामा शनिबार ग्रानाडासँग २–२ को बराबरी खेल्दै सिजनको निराशाजनक प्रदर्शनलाई निरन्तरता दिएको छ।

चार गोल भएको खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए। ७ मिनेटको अन्तरालमा तीन गोल गर्दा ६१औं मिनेटमा ग्रानाडाका कार्लोस फर्नान्डेजले पेनाल्टीबाट सुरुआती गोल गरेका थिए। तर घरेलु टोली ग्रानाडाको अग्रता दुई मिनेट पनि टिकेन। ६३औं मिनेटमा म्यानुयल भालेजोले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसको पाँच मिनेटमा गोनकालो गुएडेसले गोल गर्दै भ्रमणकारी टोलीको अग्रता उल्टाएका थिए। त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोली खेलमा फर्किन निकै प्रयास ग¥यो। घरेलु मैदानमा हारको संकटलाई टार्न काउन्टरमा उत्रिएको ग्रानाडाले ८६औं मिनेटमा बराबरी गोल फर्कायो। फेडो भिकोले गोल गर्दै खेल बराबरी अवस्थामा ल्याए। बाँकी समयमा दुवैले स्पष्ट अंकका लागि प्रयास गरे पनि सफल हुन सकेनन्।  

अघिल्लो सिजन मात्र बढुवा भएको ग्रानाडासँग बराबरी खेल्दै अंक बाँडेको भ्यालेन्सिया ३४ खेलबाट ४७ अंकका साथ तालिकाको  नवौं स्थानमा छ। ग्रानाडा एक स्थान मुनि १०औं स्थानमा छ। ग्रानाडाको पनि समान ३४ खेलबाट ४७ अंक नै छ। धेरै गोल गरेको आधारमा भ्यालेन्सिया ग्रानाडाभन्दा माथि रहेको हो।  

भ्यालेन्सियाले गत मंगलबार प्रशिक्षक अल्बर्ट क्लाडेसलाई बर्खास्त गरेको थियो। पछिल्लो चार खेलमा जित निकाल्न नसकेको भ्यालेन्सिया स्पष्ट जितको खोजीमा छ। प्रशिक्षक बर्खास्त भएपछि भ्यालेन्सियाले  जित निकाल्न सकेको छैन। यसअघिका तीन खेलमा भ्यालेन्सियाले नतिजा सुम्पिएको छ।

महामारीपछि सुचारु भएको लिगका ७ खेलमध्ये भ्यालेन्सियाले एक खेलमा मात्र जित निकालेको छ। पछिल्ला खेलमा गरेको प्रदर्शनका आधारमा भ्यालेन्सियलाई शीर्ष चारभित्र अटाउनका लागि निकै मुस्किल देखिएको छ। यद्यपि युरोपियन लिगका लागि भने भ्यालेन्सियाको आशा जीवितै छ। लिग सम्पन्न हुन चार खेल बाँकी रहेको अवस्थानमा भ्यालेन्सिया छैटौं स्थानको गेटाफेभन्दा ५ अंकले पछाडि छ भने ग्रानाडाको पनि समीकरण उस्तै छ।  

लिगअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा सेल्टा भिगो र रियाल बेटिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा रियाल भालाडोलिडले डेपोर्टिभो अल्भेसलाई १–० ले स्तब्ध बनायो।  

प्रकाशित: २२ असार २०७७ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App