अल्भारो मोराटाको दुई गोल मद्दतमा रेलिगेसन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको मालोर्काविरुद्ध ३–० को सहज जित निकाल्दा एट्लेटिको मड्रिड स्पेनिस ला लिगाका पछिल्ला १२ खेलमा अपराजित छ।
एट्लेटिको घरेलु मैदान स्टाडियो वान्डामा सुरुआतबाट भ्रमणकारी टोली मालोर्काविरुद्ध हाबी देखिएको थियो। एट्लेटिकोले २९औं मिनेटमा पेनाल्टीबाट अग्रता लियो। अल्भारो मोराटालाई मालोर्काका एलेक्जेन्डर सेडलरले पेनाल्टी क्षेत्रभित्र धकेलेपछि एट्लेटिकोले पेनाल्टी अवसर पाएको थियो। मोराटाले पेनाल्टी प्रहार गरेर मालोर्काका गोलकिपर मनोलो रेइनाले बचाउ गरे पनि सहकर्मी प्रहारअघि नै भित्र छिरेको भन्दै मान्यता दिएनन्। दोस्रो प्रयासमा मोराटाले गोल गर्दै अग्रता दिलाएका हुन्।
अग्रता पाएपछि उच्च मनोबलका साथ खेलेको एट्लेटिकोले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्न सफल भयो। मोराटाले नै गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए। पहिलो हाफको अग्रतालाई कायम राख्दै आक्रामक खेलेको एट्लेटिकोले तेस्रो गोल थप्यो। कोकेले गोल गर्दै अन्तर बढाएका थिए। प्रहार गरेको कडा सट गोलकिपरले बचाउ गर्ने क्रममा डिफ्लेक्ट भएपछि कोकेले अवसर पाएका थिए। पाएको अवसरलाई गोलमा परिणत गर्दा जित सुनिश्चित भएको थियो।
शुक्रबार लिगमा यसै सिजन बढुवा भएको मालोर्काविरुद्ध जित निकालेको एट्लेटिको स्पेनिस ला लिगाको तेस्रो स्थानमा यथावत् छ। शीर्ष दुई टोली रियाल मड्रिड र बार्सिलोनाभन्दा मुनि रहेको एट्लेटिकोले एक खेल बढी खेलेको छ। एक खेल कम खेलेको रियालले ३३ खेलबाट ७४ अंक जोड्दै तालिकामा शीर्षता कायम राखेको छ भने समान खेल खेलेको बार्सिलोना ४ अंकले पछाडि छ। एट्लेटिको र बार्सिलोनाको ८ अंकको भिन्नता छ। तालिकाको चौथो स्थानमा सेभियाले ३३ खेलबाट ५७ जोडेको छ। पाँचौं स्थानको भिल्लारियालको ५४ अंक छ।
महामारीपछि सुचारु भएको अवस्थामा साबिक विजेता बार्सिलोना शीर्ष स्थानमा थियो। तर पछिल्लो चार खेलबाट तीनमा बराबरी खेल्दा शीर्षता गुमेसँगै उपाधिदौड पनि अनिश्चित भएको छ। शीर्ष स्थानको रियालले सुचारुपछिका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा अटाउँदा उपाधि दाबेदारी पनि बलियो बनाएको हो। जसले गर्दा उपाधि होड रोमाञ्चक भइरहेको छ। लिगमा अब पाँचाैँ चरणका खेल सकिन बाँकी छ। मालोर्काविरुद्ध ३–० को सहज जित निकाल्दा एट्लेटिको मड्रिड स्पेनिस ला लिगाका पछिल्ला १२ खेलमा अपराजित छ।
प्रकाशित: २१ असार २०७७ ०५:४४ आइतबार