१६ चैत्र २०८० शुक्रबार
खेल

मनकामना केवलकार पोखरा कपको आर्थिक अनियमिताको बारेमा छानविन शुरु

कास्की जिल्ला फुटबल संघमाथि आर्थिक अनियमिताको बारेमा छानविन शुरु गरेको छानविन समितिले मनकामना केबलकार पोखरा कपको आयोजनाको समयमा बनाइएको विभिन्न समिति तथा उपसमितिको संयोजक एवं सदस्यहरुसँग सोधपुछ गर्ने जनाएको छ । समितिले शनिबार मात्रै छैटौं सस्करणको मनकामना केवलकार पोखरा कपमा विभिन्न समिति तथा उपसमितिको संयोजक एवं सदस्यको नामावली माग्दै अनुसन्धान शुरु गर्ने जनाएको छ ।  

कास्की जिल्ला फुटबल संघमाथि छानविन शुरु गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले दुईवर्ष अघि आयोजित छैटौं सस्करणको मनकामना केवलकार पोखरा कपको सम्पूर्ण खर्चको विवरणलाई नियालिएको जनाएको छ । २०७५ माघ १४ गतेदेखि आयोजित प्रतियोगिताको आयव्यय दुई वर्ष बित्दा समेत सार्वजनिक हुन सकेको छैन् । 

एन्फाले कास्की जिल्ला फुटबल संघमा आर्थिक बेथिति बढ्दै गएपछि छानविन शुरु गरेको हो । छानविनको लागि एन्फाका उपाध्यक्ष बीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय टोली पोखरामा तीन दिनदेखि छानविन गर्दै आएको छ । स्थानीय सहयोगीको रुपमा छानविन समितिमा भने कास्की जिल्ला फुटबल संघको पूर्व अध्यक्ष आनन्द रन्जित छन् ।  

‘मनकामना केवलकार पोखरा कपको खर्चको हिसाबकिताब धेरैजसो आईसकेको छ । केही अझै आउन बाँकी छ । त्यसलाई नियालिरहेका छौं ’– स्रोतले भन्यो–‘बैंक स्टेटमेन्ट अनुसार खर्चको विल छानविन गर्दै छौं ।’ स्रोतका अनुसार पहिलो चरणमा मनकामना केवलकार पोखरा कपको सबै विवरण अध्ययनपछि मात्रै अन्य प्रतियोगिताको हेरिने छ । दुईवर्षको अवधिमा कास्की जिल्ला फुटबल संघलाई एन्फाले पठाएको रकम तथा मनकामना केवलकार पोखरा कपको प्रायोजन तथा उपप्रायोजन, टिकट विक्री लगायतको सबै आम्दानीको स्रोतलाई ट्याली गरिएको छ ।  

समितिले विभिन्न संघसस्थालाई दिएको चेकको विषयमा समेत अनुसन्धान शुरु गरेको छ । स्रोतका अनुसार कोषाध्यक्षले हस्ताक्षर गरेर दिएको चेक अध्यक्षले मनोमानी रुपमा व्यक्तिविशेष तथा संस्थालाई दिएको विषयमा अनुसन्धान शुरु गरिएको समितिले जनाएको छ । संघको खाताबाट चेक मार्फत निकालिएको रकम व्यक्तिगत खर्च वा सम्बन्धित संस्था वा व्यक्तिलाई दिईयो भन्ने अन्यौल रहेको छ ।  ‘चेक काटिएको छ । तर संस्थाले पायो नपाएको विषयमा समेत अध्ययन गर्ने छौं ।’ स्रोतले भन्यो ।  

मनकामना केवलकार पोखरा कपको सम्पूर्ण विवरण सकिएपछि कास्की जिल्ला फुटबल संघले दुईवर्ष यता आयोजना गरेको अन्य फुटबल गतिविधिको अनुसन्धान थाल्ने छानविन समितिले जनाएको छ । क्लबस्तरीय लिगकम नकाउट फुटबल, विद्यालयस्तरीय छात्रा तथा छात्रा एवं महिला फुटबल प्रतियोगिता लगायतका हिसाब किताब छानविन समितिले हेर्ने छ । 

ग्रास रुट कार्यक्रम अन्तर्गत सञ्चालित एकेडेमीबाट उठाएृको शुल्कको विषयमा र त्यसको खर्चको विवरण बारे समेत छानविन समितिले आफनो दायरामा राखेको छ । त्यो बाहेक विभिन्न जिल्लामा आयोजना हुने नकाउट फुटबल प्रतियोगितामा समेत कास्की जिल्लाकुो सहभागिता रहेको थियो । त्यसको बारेमा भने छानविन समितिले अध्ययन गर्ने नगर्ने ठोस निर्णय भने गरिसकेको छैन् ।

प्रकाशित: २० असार २०७७ १७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App