७ वैशाख २०८१ शुक्रबार
खेल

चेल्सीको नाटकीय हार

शीर्ष चारमा रहिरहन संघर्ष गरिरहेको चेल्सीले  बुधबार प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडसँग ३–२ को नाटकीय पराजय भोग्दा अर्को खेलमा आर्सनलले नर्विच सिटीविरुद्ध ४–० को फराकिलो जित निकालेको छ।  

पाहुना टोली चेल्सीले नतिजा सुम्पिँदा लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिने मौका पनि गुमाएको हो। त्यसअघि भएको खेलमा लेस्टर एभर्टनसँग २–१ पराजित हुँदा चेल्सीले तेस्रो स्थानमा उक्लिने मौका मिलेको थियो। तर नाटकीय पराजय भोगेको चेल्सीले अवसर गुमाउन पुगेको हो। कोरोनाको महामारीपछि सुचारु भएको प्रिमियर लिगमा चेल्सी पहिलो पटक पराजित भएको हो। लिभरपुल ७ खेलअगावै च्याम्पियन बन्दा अब साबिकको विजेता म्यानचेस्टर सिटी, लेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेडलगायतका टोली शीर्ष चारमा अटाउन संघर्ष गरिहेका छन्। यद्यपि म्यानचेस्टर सिटीलाई प्रतिबन्ध हुँदा  पाँचाैं स्थानको टोलीलाई युरोपियन च्याम्पियनमा सहभागिताका लागि फाइदा हुनेछ।  

सुरुआतबाट नै दबाबमा राखेको वेस्ट ह्यामले ३४औं मिनेटमा गोल गरे पनि रेफ्रीले अफसाइडको इसारा देखाउँदै मान्यता दिएनन्। टोमस सौसेकले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर)को सहयोगमा रेफ्रीले गोल अस्वीकार गरिदिएका हुन्। त्यसपछि पनि आक्रामक खेललाई निरन्तरता दिएको वेस्ट ह्यामविरुद्ध चेल्सीले पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा पेनाल्टीबाट अग्रता लियो। क्रिस्टियन पुलिसिकलाई पेनाल्टी क्षेत्रभित्र इसा डियोपले खराब फाउल गरेपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो। चेल्सीका विलियनले पेनाल्टीबाट गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। तर चेल्सीको अग्रता धेरै समय टिकेन। पहिलो हाफको इन्जुरी समयमा वेस्ट ह्यामका टोमस सौसेकले गोल गर्दै खेल बराबरीमा ल्याए।  

महामारीपछि सुचारु भएको प्रिमियर लिगमा वेस्ट ह्यामले पहिलो जित निकालेको छ। रेलिगेसन क्षेत्रबाट वेस्ट ह्याम तीन अंकले अगाडि पुगेको छ। 

रेलिगेसन क्षेत्रभन्दा केही अंकले मात्र अगाडि रहेको वेस्ट ह्यामले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो। ५१औं मिनेटमा मिखाइल एन्टोनियोले गोल गर्दै अग्रता उल्टाए। ७२औं मिनेटमा विलियनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल पुनः बराबरीको अवस्थामा ल्याए। प्रतिस्पर्धात्मक बनेको खेल सकिन एक मिनेट बाँकी रहँदा वेस्ट ह्यामले काउन्टर एट्याकमा एन्ड्री यारमोलेन्कोको गोलमा सुखद नतिजा निकाल्यो।

महामारीपछि सुचारु भएको प्रिमियर लिगमा वेस्ट ह्यामले पहिलो जित निकालेको छ। रेलिगेसन क्षेत्रबाट वेस्ट ह्याम तीन अंकले अगाडि पुगेको छ।  

लिगअन्तर्गत बुधबार सम्पन्न अर्को खेलमा पिएरे इमेरिक औबामेयाङको दुई गोलको मद्दतमा आर्सनलले घरेलु मैदानमा नर्विच सिटीमाथि ४ܺ–० को फराकिलो जित निकाल्यो। सुरुआतबाट नै भ्रमणकारी टोलीमाथि हाबी भएको आर्सनलका लागि औबामेयाङले ३३औं मिनेटमा खाता खोलेका थिए। त्यसको चार मिनेटपछि ग्रानिट जाकाले गोल गर्दै अग्रता दोब्बर बनाउँदा ६७औं मिनेटमा औबामेयाङले टोलीका लागि व्यक्तिगत दोस्रो गोल गरे। सेड्रिक सोयरेसले खेल सकिन ९ मिनेट बाँकी रहँदा चौथो गोल गर्दै जित पक्का गरेका थिए। दुई गोल गरेका औबामेयाङले प्रिमियर लिगमा ५० गोल पूरा गरेका छन्। ७९ खेलमा उपस्थिति जनाएका छन्।  

जित निकालेको आर्सनलले लिग तालिकामा ३२ खेलबाट ४६ अंक जोड्दा पराजित नर्विच सिटी रेलिगेसन क्षेत्रको पुछारमा छ। नर्विचले समान ३२ खेलबाट मात्र २१ अंक बटुलेको छ।  

‘अवसर पाउँदा कुनै पनि राम्रा खेलाडीले टोलीका लागि गोल गर्न सक्छ। त्यसै कारण कुनै पनि खेलाडी कति महत्वपूर्ण हुन्छ भन्ने निश्चित छ,’ आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने।  

लिगअन्तर्गत बुधबारै सम्पन्न अन्य खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई उसैको मैदानमा ३–० ले हराउँदा न्युक्यासल युनाइटेडले पनि एएफसी बर्नमाउथलाई पनि उसैको मैदानमा ४–१ ले स्तब्ध बनायो। 

प्रकाशित: १९ असार २०७७ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App