१६ चैत्र २०८० शुक्रबार
खेल

एन्फाद्वारा कास्की जिल्ला फुटबल संघमाथि छानविन सुरु

कास्की जिल्ला फुटबल संघमाथि छानविन सुरु गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)द्वारा गठित समितिले बैंक स्टेटमेन्ट अनुसार खर्चको विवरण पेश गर्न संघलाई पत्र काटेको छ । बिहीबार समितिले दुई वर्षयता कास्की जिल्ला फुटबल संघमा दाखिला भएको रकमको बैंक स्टेटमेन्ट अध्ययन गरेको छ । बैंक स्टेटमेन्ट अनुसार खर्चको पुरा विवरण पेश गर्न संघलाई पत्र काटिएको समितिले जनाएको छ ।  

‘बैंक स्टेटमेन्ट आयो । अब स्टेटमेन्ट अनुसार खर्चको विवरण माग गरिएको छ । पत्र समेत काटिसकिएको छ ।’ स्रोतले भन्यो–‘बैंकमा जम्मा भएको रकम देखियो । अब खर्चको फाँटबारी हेर्छौ ।’ स्रोतक अनुसार एन्फाले दुई वर्षअघि दाखिला गरेको १२ लाख रुपैयाँ तथा मनकामना केवलकार पोखरा कपको मुख्य प्रायोजकले दुई किस्ता गरेर दिएको प्रायोजन रकम खातामा जम्मा भएको छ । त्यसबाहेक अन्य प्रायोजन रकमको बारेमा समितिले जनाएको छ । ‘दाखिला भएको रकम केही चेकबाट भुक्तानी समेत गरिएको पाइएको छ’ स्रोतले भन्यो ।  

स्रोतका अनुसार बैंक स्टेटमेन्ट चाटर्ड एकाउन्टेण्टले अध्ययन गरिरहेको छ । समितिले अब प्रत्येक सरोकारवाला व्यक्तिसँग छलफल गर्ने तयारी समेत गरेको छ । केवलकार पोखरा कप आयोजना हुदाँ प्रायोजन, उपप्रायोजन तथा अन्य प्रायोजन एवं टिकट विक्रीबाट प्राप्त रकमको खर्चको विवरण सबै अध्ययन गरेर निष्कर्षमा पुग्ने जनाइएको छ । ‘गरिएको खर्चको भरपाई हेर्दै छौं ।’ स्रोतले भन्यो–‘सबै अहिले भन्न सकिने अवस्था छैन । पछि रिपोर्ट तयार गरेर पठाएपछि मात्रै सार्वजनिक हुन्छ ।’  

समितिले व्यक्तिगत छलफल समेत गर्ने जनाएको छ । कास्की जिल्ला फुटबल संघले कति ठाँउमा तिर्नुपर्ने छ, त्यसको गुनासोको आधारमा सबैसँग छलफल गरेर निष्कर्ष निकालिने छ । मनकामना केवलकार पोखरा कप, कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता, विद्यालयस्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिता लगायतका हिसाबकिताब समितिले अध्ययन गर्ने छ । प्रतियोगिता सञ्चालनको अवधिमा होटलमा राखिएको टिमको भुक्तानी समेत नभएको गुनासो व्यापक छ ।  

एन्फाका उपाध्यक्ष विरबहादुर खड्काको संयोजकत्वमा गठित छानविन टोलीमा विष्णुप्रसाद पराजुली(चाटर्ड एकाउन्टेण्ट) र आनन्द रन्जित(पूर्व अध्यक्ष कास्की जिल्ला फुटबल संघ) छन् । ग्रास रुट कार्यक्रम अन्तगर्त कास्की जिल्ला फुटबल संघले एकेडेमी नै सुरु गरेको थियो । एकेडेमीमा शुल्क लिएर प्रशिक्षण गराउँदै आएको थियो । त्यसको आयव्यय समेत छानविन समितिले आफ्नो रिपोर्टमा पेश गर्ने छ ।

प्रकाशित: १८ असार २०७७ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App