१६ चैत्र २०८० शुक्रबार
खेल

कोरोनासँग जुध्दै खेल गतिविधि सञ्चालन गर्न खेलकुदकर्मीहरुको सुझाव

अन्र्तक्रियामा सहभागी पोखरेली खेलकुदकर्मीहरु। तस्बिर : सन्देश/नागरिक

पोखरेली खेलकुदकर्मीहरुले कोरोनासँग जुध्दै खेलकुदका गतिविधि बढाउनुपर्नेमा जोड दिएका छन्। विश्व खेलकुद पत्रकारिता दिवसको अवसरमा खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले बिहीबार पोखरामा आयोजना गरेको ‘कोभिड–१९ प्रभावबीच खेलकुद र पत्रकारिता’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कोरोनासँग जुध्दै खेलकुदका गतिविधि सञ्चालन गर्नुपर्ने बताएका हुन्। खेलकुद देशको प्रतिष्ठा भएको र अहिले तयारी नगर्दा यसले नेपालको खेलकुद क्षेत्रमा दुरगामी असर पर्ने चेतावनी दिदै उनीहरुले जतिसक्दो चाँडो खेल गतिविधि थाल्न सरकार, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटीलगायतलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले कोरोनालाई देखाएर सँधै खेलकुदका गतिविधि बन्द गर्दा त्यसको असर भविष्यमा खेलकुद क्षेत्रले नराम्ररी क्षेति बेहोर्ने बताए। कोरोनासँग जुध्दै खेलकुदका गतिविधि गर्नुपर्ने उनको भनाई थियो।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेलले कोरोनासँग जोगिनुपर्ने भएपनि खेलकुद गतिविधि ठप्प पार्न नहुने बताए।

गण्डकी प्रदेश सभा सदस्य मोहनप्रसाद रेग्मीले कोरोनालाई देखाएर खेलकुद कार्यक्रम गर्न छाड्न नहुने बताए। उनले संघले खेलकुद ऐन ल्याएकाले अब प्रदेशलेपनि खेलकुद ऐन ल्याउने तयारी गरिरहेको बताए।राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले खेलकुदका गतिविधि गर्न नसकेपनि खेल पूर्वाधार निर्माणमा आफूहरु लागिरहेको बताए। क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी र जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले केन्द्रले निर्देशन दिए आफूहरु खेल गतिविधि सञ्चालन गर्न तयार रहेको बताए।

प्रकाशित: १८ असार २०७७ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App