२३ असार २०७७ मंगलबार
खेल

२०११ क्रिकेट विश्वकप फाइनल मिलेमतो आरोप, अनुसन्धान गर्न निर्देशन

अर्जुना रणतुंगा

श्रीलंकाले सन् २०११ को एक दिवसीय क्रिकेट विश्वकपअन्तर्गत भारतविरुद्धको फाइनलमा आफ्नो टोलीले खेलमिलेमतो गरेको भन्ने आरोपलाई फौजदारी अपराधअन्तर्गत अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ।  

‘प्रहरीलाई खेलमिलेमतोको घटनालाई पनि फौजदारी अपराधको छानबिनको लागि निर्देशन दिइएको छ,’ श्रीलंका खेलकुद मन्त्रालयाका सचिव के डी एस रुवानचन्द्राले भने, ‘छिट्टै सत्यतथ्य बाहिर आउनेछ।’  

गत साता श्रीलंकाका पूर्वखेलकुदमन्त्री महिन्दानन्द अलुथागामगेले सन् २०११ को क्रिकेट विश्वकप फाइनलमा श्रीलंकाले खेलमिलेमतोमा उपाधि भारतलाई सुम्पिएको खुलासा गरेका थिए। खेलकुदमन्त्री अलुथागामगेले लगाएको आरोपको खण्डन गर्दै सिल्भाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी), भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) र श्रीलंका क्रिकेटलाई स्वतन्त्र छानबिनको माग गरेका हुन्।  

‘म तपाईंहरूलाई आज यो भन्दै छु, हामीले सन् २०११ को क्रिकेट विश्वकपको फाइनल बेच्याैं,’ अलुथागामगेले भनेका थिए, ‘म खेलकुदमन्त्री हुँदा पनि यो घटना भयो।’

सन् २०१० देखि २०१५ सम्म खेलकुदमन्त्री रहेका अलुथागामगे आफूले यो कुरा खुलासा गर्न नचाहे पनि समयको मागसँगै खेलमिलेमतोबारे बोलेको बताएका थिए।  

श्रीलंकाले गत वर्ष नोभेम्बरमा खेलमिलेमतोमा फौजदारी मुद्दा लाग्ने भन्दै आरोप प्रमाणित भए ५ लाख ५५ हजार डलर जरिवाना र १० वर्षसम्मको जेल सजाय हुने कानुन पारित गरेको थियो।

मुम्बईस्थित वांखडे मैदानमा भएको खेलमा भारतले ६ विकेटले खेल जितेको थियो। सो फाइनल खेलदौरान मैदानमै कमेन्ट्री गरिरहेका अर्जुना रणतुंगाले पनि श्रीलंकाले खेल गुमाउनु शंकास्पद रहेको भन्दै छानबिनको माग गरेका थिए।

पूर्वखेलकुदमन्त्री महिन्दानन्द अलुथागामगेको आरोपको खण्डन गर्दै श्रीलंकाका ब्याटिङ लिजेन्ड अरबिन्द डी सिल्भाले सन् २०११ को एकदिवसीय क्रिकेट विश्वकपको श्रीलंका र भारतबीचको फाइनल खेलमिलेमतो भएको भन्ने आरोपको खण्डन गरेका थिए।

स्थानीय सञ्चारमाध्यमहरूले भने सन् २०११ को विश्वकप दौरान टोलीको मुख्य छनोटकर्ता रहेका डी सिल्भासँग यस विषयमा सोधपुछ भइसकेको जनाएको छ।  

सो विश्वकपमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले माहेलाको शतकमा भारतसामु २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। गौतम गम्भीरको ९७ र कप्तान महेन्द्रसिह धोनीको ९१ रन मद्दतमा भारतले ६ विकेटका साथ विश्वविजेता बनेको थियो ।

सन् २०११ को विश्वकपमा श्रीलंकाको कप्तानी गरेका विकेटकिपर ब्याट्सम्यान कुमारा सांगाकारा र पूर्वकप्तान माहेला जयवद्र्धनेले पनि खेलमिलेमतोको आरोप निराधार भएको बताउँदै आएका छन्।  

सांगाकाराले भने अलुथागामगेले खेलमिलेमतोको आरोपको बारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) समक्ष कुरा राख्न आग्रह गरेका छन्।  

सन् २०१८ मा पनि श्रीलंकाका खेलाडीहरूमाथि इङ्ल्यान्डविरुद्ध टेस्ट शृंखला दौरान खेलमिलेमतेको आरोप लागेको थियो। यसै महिनाको सुरुआतमा आइससिसीले खेलमिलेमतोको आशंकामा श्रीलकन तीन पूर्वखेलाडीमाथि अनुसन्धान जारी रहे पनि उनीहरूको नाम भने गोप्य राखेको थियो।

श्रीलंकाले गत वर्ष नोभेम्बरमा खेलमिलेमतोमा फौजदारी मुद्दा लाग्ने भन्दै आरोप प्रमाणित भए ५ लाख ५५ हजार डलर जरिवाना र १० वर्षसम्मको जेल सजाय हुने कानुन पारित गरेको थियो।

प्रकाशित: १७ असार २०७७ १०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App