८ वैशाख २०८१ शनिबार
खेल

सिटी सेमिफाइनलमा

न्युक्यासल युनाइटेडलाई २–० ले निराश पार्दै म्यानचेस्टर सिटी आइतबार एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।  

सिटीले अर्को महिना वेम्बलीमा हुने सेमिफाइनलमा आर्सनलको सामना गर्नेछ। आर्सनलले आइतबारै भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–१ ले निराश पार्दै अन्तिम ४ मा स्थान पक्का गरेको थियो।  

सिटीले गत साता चेल्सीलाई २–१ को नतिजा सुम्पिँदा लिभरपुल ३० वर्षपछि इङ्लिस प्रिमियर लिग विजेता बनेको थियो। सो हारमा मलम लगाउने क्रममा सिटीका लागि केभिन डी ब्रुयनाले पेनाल्टीमा एक गोल गरेका थिए भने रहिम स्टर्लिङले टोलीका लागि दोस्रो गोल गरेका थिए।

३८औं मिनेटमा न्युक्यासलका हाभियर मानक्युलोले गाब्रियल जिससलाई फाउल गरेपछि प्राप्त पेनाल्टीलाई डी ब्रुयनाले पोस्टको दिशा दिएका थिए। ६८औं मिनेटमा स्टर्लिङले सिटीको अग्रता दोब्बर पारेका थिए।

यता आइतबारै भएको खेलमा चेल्सीले पनि लेस्टर सिटीलाई १–० ले निराश पार्दै म्यानचेस्टर युनाइटेडविरुद्धको सेमिफाइनल भिडन्त पक्का गरेका्े छ।

चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले गत साता प्रिमियर लिगमा सिटीलाई पराजित गरेको टोलीमा आइतबार ८ खेलाडी परिवर्तन गरेका थिए।

६३औं मिनेटमा रोज बार्कलीले गरेको गोल चेल्सीको अन्तिम ४ को यात्रा पक्का गर्न पर्याप्त बन्यो। बार्कलीले विलियानको पासलाई जाली चुमाएका थिए।  

आइतबारको पहिलो खेलमा भने आर्सनलले सेफिल्ड युनाइटेडको चुनौती २–१ ले पन्छाएको हो।  

२३औं मिनेटमा निकोलास पेपेले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो। खेल सकिन ३ मिनेट बाँकी रहँदा सेफिल्डका डेबिड म्याकगोल्डिकले खेल बराबरीमा ल्याएका थिए । ९०औं मिनेटमा ड्यानियल काबेलोसले गरेको गोलमा आर्सनलले सिटीविरुद्धको खेल पक्का गरेको हो।  

‘यहाँ जित हात पार्न निकै कठिन छ। हामी वेम्बलीमा फर्किएका छाैँ। म टोलीले गरेको प्रदर्शन र लगावबाट प्रभावित छु,’ आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले भने, ‘हामीसँग उपाधि जित्ने सुनौलो अवसर आएको छ।’

प्रकाशित: १६ असार २०७७ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App